वैदेशिक रोजगारीमा दुई महिनामै १० करोड ठगी «

वैदेशिक रोजगारीमा दुई महिनामै १० करोड ठगी

वैदेशिक रोजगारीका क्रममा विदेश पठाउने भन्दै २ महिनामै १० करोड भन्दा बढी ठगी भएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सीसहित व्यक्तिगत रुपमा ठगी बढेसँगै उजुरी रकम समेत बढेको हो । चालु आवको १० महिनाको अवधिका सबै भन्दा बढी उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । चालु आवको फागुनसम्म औसत मासिक ३ करोड रुपैयाँ रहेको ठगीका उजुरी चैतमा ६ करोड पुगेको छ भने वैशाखको २५ गतेसम्म ५ करोडको हाराहारी पुगेको पाइएको छ ।
कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोजगारीले गति लिएसँगै ठगीका उजुरीसमेत वृद्धि भएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । गत वर्ष १० महिनामा वैदेशिक रोजगारीमा नाममा हुने ठगीका उजुरी शतप्रतिशतले वृद्धि भएको छ । यसमध्ये पनि मेनपावरको ठगीको तुलनामा व्यक्तिगत र कानुन अनुसार खडा भएका अन्य संस्थाबाट हुने ठगी बढको छ ।
सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाउँदा व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञहरुको भनाइ छ । चालु आवको १० महिनामा ठगीको दाबी रकम ३० करोड रुपैयाँ पुगेको छ ।
सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेपनि अन्य महिनाको तुलनामा चैत ६ करोड दाबीसहित विभागमा उजुरी दर्ता भएको छ । चालु आवको चैतसम्म वैदेशिक रोजगारी पठाइदिने भन्दै ४७३ वटा व्यक्तिगत उजुरीमा ६ करोड ६९ हजार रुपैयाँ बराबरको ठगीको उजुरी परेको देखिन्छ ।
विभागले गत ५१ वटा उजुरी विरुद्ध अदालतमा मुद्दा दायर गरेको जनाएको छ । विभागको अनुुसन्धान तथा मुद्दा शाखाका अनुसार यो अवधीमा ७ करोड २४ लाख रुपैयाँ बराबरको विगो दाबीसहित अदातलमा मुद्दा दायर गरेको जनाएको छ । एजेन्ट राख्ने व्यवस्था खारेज भएसँगै मेनपावर कम्पनीको आडमा व्यक्तिगत ठगी गर्ने गिरोहसक्रिय रहेका कारण उजुरी बढेको देखिन्छ । व्यक्तिगत रुपमा ठगीमा परेका युवाले पैसा मेनपावर कम्पनीमा बुझाएको जनाएपनि पैसा बुझने व्यक्ति संस्थाको कर्मचारी नभएको पाइएको विभागले जनाएको छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्न र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ ।
विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगी कमी आएको छैन ।
पछिल्लो समय विभागले इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएपछि विभागले वैदेशिक रोजगार न्यायाधिकरणका मुद्दा दायर गरेको छ ।
विभाग महानिर्देशक शेषनारायण पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेका मध्ये हाल ३ वटाको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको जानकारी दिए । एक शैक्षिक परामर्श संस्था, एक ट्राभल एजेन्सी र व्यक्तिगतसहित बिगत ३ दिनयता ४ करोड ९३ लाखको दाबी र सोको हर्जनासहित ७ करोड रुपैयाँका बराबरको मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्