निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा रणनीति कार्यान्वयन
म्याग्दी – वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनलाई लक्षित गरी म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र १ सय १४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणनासम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको हो । निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मीसमेत परिचालन योजना तयार भएको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।
निर्वाचन लक्षित गरेर सुरक्षा रणनीति कार्यान्वय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । ‘आर्मी र शसस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग पुग्ने तयारी भएको प्रजिअ रानाले जानकारी दिए ।
निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी रुपमा कार्यान्वयन गरिएको प्रजिअ रानाले भने । निर्वाचन लक्षित गरेर म्यादी प्रहरी ६१९, नेपाल प्रहरी ३८०, सशस्त्र प्रहरी २०६, नेपाली सेना २३२ परिचालन हुने प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिए । उन्का अनुसार, जिल्लामा विर्नाचनका लागि कायम भएका७४ वटा मतदान स्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने छन् ।
मतदानपूर्व, मतदान र मतदानपछिको तीन चरणमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदान स्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालन योजना तयार गरिएको प्रनाउ भारतीले बताए । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदान स्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् ।
यसपालिको स्थानीयतह चुनाव बहिस्कार गर्ने समूह छैनन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतकाचुनावमाभएका घटनाको आधारमा मतदान स्थलहरूलाई वर्गीकरण गरिएको छ । चुनाव प्रचार र मौन अवधीमा आचारसंहिता उल्लंघन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ । धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाको जनकल्याण माविको मतदान केन्द्रमा यातायात सुविधा पुगेको छैन । रघुगंगा गाउँपालिकाको वडानम्वर ८ ध्याँसीखर्कमा सञ्चार सुविधा छैन । दुर्गम र विकट ठाउँको मतदान स्थलबाट मतपेटिका गणना स्थलसम्म ढुवानी गर्न सुरक्षा समितिले हेलिकप्टरको प्रस्ताव गरेको छ ।
६ वटा स्थानीयतह र ४५ वटा वडा रहेको म्याग्दीमा ११४ वटा मतदान केन्द्र छन् । ४१ हजार ४ सय १४ जनापुरुष, ४३ हजार ९ सय ६० महिला र एक जना तेस्रो लिङ्गी गरी ८५ हजार ३ सय ७५ जनामतदाता छन् । २ सय ३७ पदका लागि ७ सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
–धीरन खत्री