जनता आवास कार्यक्रमले ५ सय भवन निर्माण गर्ने

आर्थिक वर्ष ०७४/७५ मा जनता आवास कार्यक्रमले ५ सय घर निर्माण गर्ने भएको छ ।
सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग भवन डिभिजन कार्यालय दाङका अनुसार चालू आवमा जिल्लाका विभिन्न स्थानमा रहेका आर्थिक रूपमा विपन्न वादी, गन्धर्वसँगै दलित समुदायका लागि पाँच सय घर निर्माण गर्ने कार्यालयले जनाएको छ । आर्थिक रूपमा विपन्न परिवारलाई आवासको व्यवस्था गरिने सरकारी निर्णयअनुसार गरिब, विपन्न परिवार, पिछडिएका समुदायका परिवारको घर निर्माणमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत यसवर्ष ५ सय घर निर्माण गर्न लागिएको भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले बताए । त्यसका लागि अघिल्ला वर्ष आएका निवेदनबाटै घर परिवार छनोट गरिने कार्यालय प्रमुख पाण्डेले बताए । “अघिल्लो वर्ष घर निर्माणका लागि धेरै निवेदन आएका थिए । तीमध्ये सबैको घर बनाउन सकिएन,” कार्यालय प्रमुख पाण्डेले भने, “त्यसैले यसवर्ष तीनै निवेदनबाट घरधुरी छनोट गरिने भएको छ ।” यसका लागि कार्यविधिमा भएको व्यवस्थाअनुसार वादी, गन्धर्व र आर्थिक रूपमा विपन्न दलित परिवारलाई प्राथमिकतामा राखिने कार्यालयले जनाएको छ ।
एकीकृत नमुना बस्तीको अभ्यास
भवन डिभिजन कार्यालय दाङले यस वर्ष जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको छ । जनता आवास निर्माणमा आएका पाँच सय घरमध्ये ९५ घरलाई एकीकृत बस्तीअन्तर्गत एकै ठाउँमा निर्माण गर्ने भएको हो । यही पुस १८ गते घोराहीमा बसेको जिल्ला जनता आवाज समन्वय समितिको बैठकले एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । जसका लागि परिवारसँग नभई नमुना एकीकृत बस्ती निर्माणका लागि उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकालाई जग्गा उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । कम्तीमा एक बिघाभन्दा बढी जमिनमा नमुना एकीकृत बस्ती निर्माण गर्न सकिने भएकाले यही माघ १५ गतेसम्म जग्गा उपलब्ध गराउने गरी जिल्लाका १० वटै स्थानीय तहलाई खबर गरिएको समेत कार्यालयले जनाएको छ ।
“एकीकृत बस्ती निर्माणका लागि खबर गर्दा स्थानीय तहका प्रमुखहरू पोजिटिभ देखिनुभएको छ,” कार्यालय प्रमुख पाण्डेले भने, “स्थानीय तहले जग्गा उपलब्ध गराइ दिएपछि कार्यालयले जग्गाको अनुगमन गरी एकीकृत बस्ती निर्माणको काम सुरु गर्छौं ।” यसरी निर्माण गरिने एकीकृत नमुना बस्ती पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरेको जस्तै हुने र उक्त बस्तीमा सडक, खानेपानी, विद्युत्, सञ्चारलगायतका सम्पूर्ण सुविधा पुग्ने जानकारी दिए । सरकारले आव ०६६/६७ सालबाट जनता आवास कार्यक्रमअन्तर्गत घरहरू निर्माण गर्दै आएको छ । यसअन्तर्गत दाङमा हालसम्म दुई हजारभन्दा बढी घर निर्माण गरी सकिएको छ ।
कार्यालयका अनुसार एउटा घर निमार्णका लागि पहिले करिब दुई लाख बढी रकम सरकारले उपलब्ध गराउँदै आए पनि यस वर्षबाट ३ लाख बढी रकम दिने भएको छ । घर निर्माण सम्बन्धित परिवारले कम्तीमा १० प्रतिगत लगानी गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ । यसरी निर्माण गरिने घर २ कोठा, अगाडि बरन्डा, शौचालयसहितको टिनको छानो भएको भूकम्प प्रतिरोधात्मक हुने उनले बताए । गत वर्षमात्र जिल्लामा ८ सय बढी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको थियो ।
अमरराज आचार्य