नबिलको प्रतीतपत्रमार्फत अमेरिकी निर्यातकर्ताले सोझै वित्तीय सुविधा पाउने

नबिल बैंक अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए–कृषि मन्त्रालय) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रममा सूचीकृत भएको छ ।
बैंकका अनुसार अमेरिकी कृषि मन्त्रालयको जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि सम्झौता भएको हो ।
नबिल बैंक यूएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्यांकनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो । यो व्यवस्थासँगै नबिल बैंकले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ ।
बैंकले भनेको छ, “यूएसडीए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतीतपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनुपर्नेछैन ।”
यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतीतपत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
“यूएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोशेढुङ्गा हो” बैंकले भनेको छ ।
सन् १९८४ देखि ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आएको बैंकका १४८ शाखा, १८७ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।