महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा प्राप्त «

महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा प्राप्त


पर्वत-पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पताललाई जग्गा प्राप्त भएको छ ।
एक पालिका एक अस्पतालअन्तर्गतको १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि नेपाल सरकारले जग्गा प्राप्तिका लागि स्वीकृति दिएको हो । २२ करोडमा निर्माण हुन थालेको अस्पताल गत मंसिरमै शिलान्यास भए पनि जग्गा प्राप्तिमा समस्या भएपछि निर्माण कार्य रोकिएको थियो ।
महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित भोेर्ले डाँडामा रहेको साविक कित्ता नं. ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारिसमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए । उनका अनुसार २५ चैत २०७८ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको ठकुरीले बताए । सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधिबमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालय पर्वतले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सुचारु हुने वडा नं. ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ छ । स्थानीय केही व्यक्तिले उक्त जग्गामा अस्पताल भवन बनाउन नहुने भन्दै मुद्दा दर्ता गरेपछि अस्पताल भवन निर्माणकार्य अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्