सामाजिक सुरक्षाको १ अर्ब ६ करोड निकासा «

सामाजिक सुरक्षाको १ अर्ब ६ करोड निकासा




सरकारले लकडाउनको अवधिमा रोजगारदाताको दायित्वमा परेको योगदानमा आधारित सामाजिक सुरक्षाबापतको १ अर्ब ६ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम सामाजिक सुरक्षा योजनामा योगदान गर्ने १ लाख २५ हजार श्रमिक तथा कर्मचारीको योगदानबापतको रकम हो ।
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताहरूको अघिल्लो वर्ष जेष्ठ र असार महिनाको योगदानबापतको रकम निकासा गरेको हो । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले सरकारको तर्फबाट जम्मा गर्ने भनी उल्लेख भएबमोजिम अर्थ मन्त्रालयले निकासा गरेको १ अर्ब ६ करोड प्राप्त भई सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको बताए । “हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत अर्थात् २६ करोड निकासा प्राप्त भएपछि योगदानकर्ताका खातामा जम्मा गरिने छ,” उनले भने, “योगदान रकम जम्मा गर्दा जम्मा गर्नुपर्ने महिना भन्दा अघिको तीन महिना र पछिको तीन महिना गरी कुल ६ महिनामध्ये जुन महिनामा न्यूनतम रकम जम्मा भएको छ, त्यसलाई आधार मानिएको छ ।”
अर्थ मन्त्रालयले २ महिनाको योगदान रकम १ अर्ब ३२ करोड मध्ये हाल १ अर्ब ६ करोड निकासा गरेकोमा केही दिनपछि बाँकी रकम निकासा गर्ने जनाएको कोषले बताएको छ । कोषले लकडाउनका कारण समस्यामा परेका रोजगादाता प्रतिष्ठानले श्रमिकका नाममा बुझाउनु पर्ने २ महिनाको रकम श्रमिकको खाता जम्मा गरेको यो दोस्रो पटक हो । योसहित सरकारले लकडाउनमा समस्यामा परेका रोजगारदाताको तर्फाबाट जम्मा गर्नुपर्ने ५ महिनाको २ अर्ब रुपैयाँभन्दा बढी श्रमिकलाई अनुदान दिएको छ । कोषले २ वर्षअघिको लकडाउनमा वैशाख, जेठ र असारको रकम वितरण गरिसकेको छ भने अघिल्लो वर्ष असार र साउनको हालै निकासा गरेको हो ।
सरकारले पहिलो लकडाउन र दोस्रो लहरको निषेधाज्ञामा श्रमिकले पाउनुपर्ने ३१ प्रतिशत रकम नै जम्मा गर्दै आएको छ । सरकारले विगत २ आर्थिक वर्षको बजेट वक्तव्यमा लकडाउनका कारणले अति प्रभावित हुने औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुले सामाजिक सुरक्षा कोषमा श्रमिकको ११ प्रतिशत तथा रोजगारदाताहरुको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत बमोजिम हुन आउने योगदान रकम कोषमा जम्मा गर्ने जनाएको थियो । लकडाउन अवधिको तलब नियमित रुपमा भुक्तानी गरेको विवरणसहितको आधिकारिक पत्र कोषमा पठाएपछि मात्र श्रमिकको योगदान रकम जम्मा हुने छ । यसरी सम्बन्धित रोजगारदाता, प्रतिष्ठानबाट प्राप्त पत्रका आधारमा कोषले सम्बन्धित योगदानकर्ताको योगदान रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा योजनामा हालसम्म ३ लाख ३२ हजार ५९ योगदानकर्ता र १७ हजार ७४ रोजगारदाता सूचीकरण भइसकेका छन् । सूचीकरण भएका मध्ये १ लाख ३० हजार भन्दा बढी श्रमिकले १६ अर्ब ३४ करोड रुपैयाँ योगदान गरेका छन् । योगदान रकम जम्मा गरेको मध्ये १ अर्ब १६ करोड रुपैयाँ विभिन्न शिर्षकमा रकम दाबी भुक्तानी दिएको कोषले जनाएको छ । यसमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व अन्तर्गत १६ अर्ब ७७ करोड, दुर्घटना अशक्तता सुरक्षा सेवा भुक्तानी १ अर्ब ५६ करोड, आश्रित परिवार सुरक्षा भुक्तानी २ अर्ब ७५ करोड र उपदान ९४ करोड ५६ लाख रुपैयाँ पाएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्