Logo

छत्रकोटको प्राथमिकतामा कृषि र पशुपालन


प्रदेश : लुम्बिनी
जिल्ला : गुल्मी
स्थानीय तह : छत्रकोट गाउँपालिका
वडा संख्या : ६
उपाध्यक्ष : नर्मदा भण्डारी
प्रमुख प्रशासकीय अधिकृत : कृष्णप्रसाद पन्थी
क्षेत्रफल : ८७.१ वर्गकिलोमिटर
जनसंख्या : १९,२३९ (पुरुष ८६०१, महिला १०६३८)
परिवार संख्या : ५,३२०

घरधुरी : ५,०७३

नेपालको संविधान, २०७२ को धारा २९५ दफा (३) बमोजिम संघीयतापछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये गुल्मीको छत्रकोट गाउँपालिका एक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार छत्रकोट गाउँपालिकाले आफ्नो दैनिक कार्यहरू सम्पादन गरिरहेको छ । गाउँपालिकाले थुप्रै कानुन र कार्यविधि निर्माण गरेर काम गरिरहेको छ । कुल ८७.१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको पूर्वमा रुरु गाउँपालिका, पश्चिममा गुल्मी दरबार गाउँपालिका, उत्तरमा सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिका, दक्षिणमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका र पाल्पाको रैनादेवी गाउँपालिका रहेका छन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को थुम्कामा रहेको छ । कृषि, पशुपालन र पर्यटनको निकै राम्रो सम्भावना बोकेको छत्रकोट गाउँपालिका साबिकको हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खज्र्याङ र दौंघा मिलेर बनेको छ ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले आफूहरू निर्वाचित भएर आउँदा स्थानीय तह सञ्चालनका लागि हामीहरूमा केही अनुभव नहुँदा सुरुमा समस्या भएको बताए । संघीयता आइसकेपछि पहिलो जनप्रतिनिधिको रूपमा आउँदा थुप्रै समस्या भए पनि व्यवस्थापन गरेर अगाडि बढेको पन्तको भनाइ छ । स्थानीय सरकारसँग जनताले धेरै अपेक्षा भएकाले सबै पूरा गर्न नसकेको पन्तले बताए । सिंहदरबारको अधिकार गाउँगाउँमै आइसकेपछि जनता ससाना कामका लागि सदरमुकाम धाउनुपर्ने र केन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको उनको अनुभव छ । गाउँपालिकाको सबै भूभाग पहाडी, बस्ती छरिएर रहेको र सबै बस्तीमा सडक नपुगेकोले सडकलाई पहिलो वर्षमा ध्यानमा राखेको पन्तले बताए । अहिले सडकको काम पूरा भएको छ । सबै बस्तीमा सडक पुगेको छ । सेवाग्राही सेवा लिन सेवा प्रवाह गर्ने निकायमा होइन, सेवा प्रवाह गर्ने निकाय जनताको घरदैलोमा जानुपर्छ । यस्तो किसिमको प्रशासनिक दर्शनअनुसार हाम्रो समूह अगाडि बढिरहेको छ ।
गाउँपालिकाभित्र काठका पोल विस्थापित गरी सबै ठाउँमा स्टिल पोल राख्ने काम सम्पन्न गरेको, प्रत्येक घरमा शुद्ध खानेपानीको पहुँचका लागि एक घर एक धारा कार्यक्रमअन्तर्गत अभियानकै रूपमा चलाएको, ७० प्रतिशत जनताको घरमा एकघर एक धाराको काम सम्पन्न भएको, प्रत्येक वडा कार्यलयसम्म जाने सडकको पहुँच पुगेको, वडा नं. २ लाई टोल–टोलमा बाटो पुगेको वडा घोषणा गरिएको, भेंडुवा–गुङटुङ–चोरकाटे–सत्यवती मोटर बाटोको भेंडुवाबाट कालोपत्रे गर्ने कार्य भएको, सातमुरे–दिगाम–लुम्छा मोटर बाटो कालोपत्रे गर्न प्रक्रिया सुरु भएको गाउँपालिका अध्यक्ष पन्तले बताए ।
गाउँपालिका अध्यक्ष पन्तका अनुसार कोरोनाका कारण विदेशबाट फर्केका युवालाई स्वदेशमा टिकाइराख्नका लागि व्यावसायिक कृषि र पशुपालनमा जोड दिइएको छ । उनीहरूलाई गाउँपालिकाको तर्फबाट अनुदान, तालिम र कृषि उपकरणहरूमा सहयोग गर्ने कार्यक्रम रहेका छन् । अहिले लघुउद्यमी गर्ने ८० जनालाई तालिम दिइएको छ । आर्थिक बर्ष ०७६/०७७ मा विदेशबाट फर्केका २ सय १७ युवालाई कृषि र पशुपालनमा अनुदान उपलब्ध गराइएको छ ।
“गाउँपालिकाले कृषि र पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्य लिएको छ ।” अध्यक्ष पन्तले भने, “गएको आर्थिक वर्षलाई कृषि वर्ष घोषणा गरेर काम गरेका थियौं ।” युवाहरूलाई स्वदेशमा टिकाइराख्नका लागि र गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले कृषक पेन्सन अर्थात् प्रोत्साहन गर्ने नीति पारित भएको पनि पन्तको भनाइ छ । उनका अनुसार कृषक पेन्सन (प्रोत्साहनस्वरूप), कृषकलाई क, ख र ग वर्गमा वर्गीकरण गरेर परिचयपत्र दिने कार्य भएको छ । कृषकहरूलाई पेन्सन अर्थात् प्रोत्साहन रकम प्राप्त गर्नका लागि कार्यविधिअनुसार काम गरेको हुनुपर्नेछ । तरकारी खेती गर्नेलाई निश्चित रोपनी, पशुपालनका लागि वस्तुभाउको संख्या र फलफूलका लागि निश्चित संख्या तोकिएको छ ।
गाउँपालिकाभित्र खरका छाना विस्थापित गर्नका लागि गाउँपालिकाले प्राथमिकतासाथ काम गरिरहेको छ । गाउँपालिकाभित्र रहेका करिब ९ सय घरधुरीमध्ये यस आर्थिक वर्षसम्मको अन्त्यसम्म ८ सय घरमा टिनका छाना लगाइने कार्यक्रम छ । बाँकी १ सय घरधुरीमा अर्को आर्थिक वर्षभित्रमा टिनका छाना लगाइने तय भएको छ । आउँदो वर्षमा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिन्छ ।
गाउँपालिकाभित्रका स्थानीय नागरिकलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले प्राथकिताका साथ काम गरिरहेको छ । श्रृङ्गा स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने पन्तको भनाइ छ । पालिकाभित्र ५ सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न भइसक्नेछन् । दौंघामा स्वास्थ्यचौकी भवन सम्पन्न हुने चरण रहेको छ ।
गाउँपालिकामा सुविधा सम्पन्न विद्यालय भवनहरू पर्याप्त मात्रामा रहेका र केही विद्यालयका भवनहरू निर्माणको चरण रहेका छन् । शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकहरूलाई विषयगत विज्ञबाट सहजीकरण गराउने र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हरदम प्रयास गरिएको पन्तको भनाइ छ । गाउँपालिकाले शिक्षा ऐन बनाई नियमन गरेको र उत्कृष्ट शिक्षक सम्मानको व्यवस्था गरेको छ । विद्यालयहरूमा दरबन्दी मिलानको काम गरिएको र पाँचवटा प्राथमिक विद्यालयहरूलाई मर्ज गरिएको छ ।
यस्तै गाउँपालिकाले धार्मिक तथा पर्यटनको क्षेत्रमा भेंडुवा दह पोखरी, (पानीको फोहरा शिवको मूर्ति) समेत राखी निर्माण सम्पन्न गरेको छ । छत्रकोट भगवती, भालुपानी शिवालय, हुँगा, दौंघा, दिगामका मन्दिर पुनर्निमाण गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थलहरूलाई संरक्षण गरेर तारजाली र गेट निर्माणको काम गरिएको छ । निर्वाचनमा गरिएका प्रतिबद्धताहरू पूर्ण रूपमा पालना गर्नका लागि प्रतिबद्ध भएको उनको अनुभव छ । आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू नभुलेको भन्दै गाउँपालिका अध्यक्ष पन्तले प्रक्रियाबद्ध रूपमा अगाडि बढेको बताए ।
कतिपय स्थानमा जनप्रतिनिधि र कर्मचारीबीच पनि समस्याहरू आएको विभिन्न समाचार सुनेको भए पनि छत्रकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुमधुर रहेको अध्यक्ष पन्तले बताए । जनप्रतिनिधिले जनप्रतिनिधिको काम गर्ने र कर्मचारीले कर्मचारीको ठाउँमा रहेर काम गरेपछि सम्बन्धमा समस्या नआएको पन्तको पाँचवर्षे अनुभव छ ।
आफ्नो पाँच वर्षको कार्यकाल केही दिनमा सकिन लागेको स्मरण गर्दै गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले आगामी दिनमा जनप्रतिनिधिलाई सहयोग हुने धारणा राखे । जुनसुकै पार्टीबाट जितेर आए पनि आफ्नो तर्फबाट सबै सहयोग हुने उनको भनाइ छ । आफूहरूले सुरु गरेका कैयौं काममा सहजीकरण गर्नुपर्ने भन्दै पन्तले सबै मिलेर विकास निर्माणलाई प्राथमिकता दिने बताए । आफूहरूको पाँचवर्षे कार्यकालमा कृषि र पशुपालनलाई प्राथमिकता दिएर काम गरेकाले अबका जनप्रतिनिधिहरूले अन्य क्षेत्रलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । कृषि र पशुपालनलाई प्राथमिकता दिएर काम गरेकाले उल्लेखनीय प्रगति गरेको पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्