सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि «

सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि

धितोपत्र बजारमा सर्वसाधारणलाई सार्वजनिक सेयर निष्काशन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका सेयरहरू किनबेचसँगै सेयरधनीहरू परिवर्तन भइरहन्छन् । यसले कम्पनीले दिने लाभांश कसले पाउने र निर्णय प्रक्रियामा कहिलेसम्मकालाई कसरी सहभागी गराउने निक्र्यौल गर्न कठिनाइ हुन्छ । कम्पनीले नियमित वा विशेष निर्णयहरू गर्ने सन्दर्भमा विद्यमान सेयरधनीहरूको लगत कायम गर्न निश्चित मिति तोक्छ, जसलाई सेयरधनी दर्ता पुस्तिका बन्द वा बुकक्लोज भनिन्छ । यसरी बुक क्लोजको मितिसम्म कायम सेयरधनीले मात्र कम्पनीको निर्णय र हक वा अधिकार तथा दायित्व कायम गर्दछन् ।
कम्पनीले कुनै निर्णयका लागि बुकक्लोज गर्ने सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीले राष्ट्रियस्तरको पत्रिकामा सात दिनअघि सूचना प्रकाशन गरी वर्षभरिमा ४५ दिन नबढाई एकपटकमा ३० दिनसम्म सेयरधनी दर्ता बन्द गर्न सक्ने व्यवस्था गरेको छ । सामान्यतः १) कम्पनीको वार्षिक साधारणसभा, २) विशेष साधारणसभा, र ३) हकप्रद सेयर निस्काशनको लागि बुकक्लोज गरिन्छ । सामूहिक लगानी कोषहरूले भने साधारण सभा नगर्ने हुँदा लाभांश प्रयोजनको लागि १ दिन बुकक्लोज तोकेर एकाइ धनीहरूको लगत कायम गरिन्छ । मर्ज वा प्राप्तिमा रहेका कम्पनीहरूको हकमा सम्झौता भएर कारोबार रोकिएको दिनलाई नै बुकक्लोज मानिन्छ ।
बुकक्लोजको प्रभाव
कम्पनीले वितरण गर्ने लाभांश, हकप्रद सेयर वा निर्णयमा कम्पनीमा बुकक्लोजको मितिसम्म कायम सेयरधनीहरूको मात्र हकअधिकार रहने हुँदा स्वाभाविक रूपमा उक्त मितिसम्म कायम सेयरधनीहरू र सो पछिका सेयरधनीहरूबीच फरक अवस्था रहन्छ । विशेष साधारणसभाका लागि गरिने बुकक्लोजले सेयरधनीको निर्णय गर्ने अधिकार बाहेक आधारभूत पक्षमा ठूलो प्रभाव पार्दैन, तर लाभांश र हकप्रद सेयरका लागि हुने बुकक्लोजले धितोपत्रको बजार मूल्य र आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्दछ । 
क) मूल्य समायोजन : विद्यमान प्रावधान अनुसार १) बोनस जारी, २) हकप्रदबाट जारी, ३) बजारमूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण हुने अवस्थामा बुकक्लोजपछि मूल्य समायोजन हुन्छ । बोनस सेयर वा नगद लाभांशको हकमा बुकक्लोजको अघिल्लो दिनको अन्तिम कारोबार मूल्यमा प्रस्तावित दर अनुसार र हकप्रद सेयरको हकमा हकप्रदको दर अनुसार अन्तिम कारोबार मूल्यमा अंकित मूल्य जोडेर मूल्य समायोजन गरिन्छ । यसमा स्पष्ट हुन निम्न तीन उदाहरणहरू हेरौं:
उदाहरण १ : बोनस प्रयोजन — कम्पनीले साधारणसभाबाट पारित गरी २० प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित पुस १५ गते बुकक्लोज तोक्यो र कम्पनीको पुस १४ गतेको अन्तिम कारोबार मूल्य रु. ६०० रह्यो भने समायोजित मूल्य ६०० भागा १.२ (विद्यमान १ कित्ता र २० प्रतिशत बोनसबाट प्राप्त हुने ०.२ कित्ता) अर्थात् ६००/१.२० बराबर रु. ५०० कायम हुनेछ । सूत्रवत् रूपमा, अन्तिम कारोबार मूल्य/(१ + बोनस दर)ले गणना गरी समायोजित मूल्य निकाल्न सकिन्छ ।
उदाहरण २: हकप्रद प्रयोजन — मानौं कम्पनीले पुस १५ गते २५ प्रतिशत हकप्रद जारी गर्ने प्रयोजनको लागि बुकक्लोज गरेको छ र कम्पनीको पुस १४ गतेको अन्तिम कारोबार मूल्य रु. ५०० छ । सूत्रवत् रूपमा, समायोजित मूल्य = (अन्तिम कारोबार मूल्य + हकप्रदको दर अनुसारको अंकित मूल्य)/१ + हकप्रद सेयरको दर हुन्छ । यस अनुसार (५०० + २५)/१ + ०.२५ भई समयोजित मूल्य रु. ४२० कायम हुन्छ ।
उदाहरण ३: नगद लाभांश प्रयोजन — मानौं सूचीकृत दुई धितोपत्रले २५ प्रतिशतका दरले नगद लाभांश घोषणा ग¥यो । पहिलोको अन्तिम कारोबार मूल्य ५०० थियो र दोस्रोको १२ रूपैंया भएको अवस्थामा पहिलोले नगद लाभांशको रूपमा २५ रूपैयाँ पायो, जुन बजार मूल्यको १० प्रतिशत नभएको हुँदा बजार मूल्य समायोजन हुँदैन । तर अर्कोतर्फ दोस्रो धितोपत्र जसको अन्तिम कारोबार मूल्य १२ रुपैंया थियो, उसले २.५ रुपियाँ अर्थात् बजार मूल्यको २० प्रतिशतभन्दा बढी नगद लाभांश पाउने हुँदा दोस्रोको बजार मूल्य समायोजन हुन्छ । 
ख) माग र आपूर्ति: बोनस सेयर वा हकप्रद जारी हुने गरी भएको बुकक्लोजले कम्पनीको सेयर संख्या बढाउँछ जसले निकट भविष्यमा उक्त कम्पनीको सेयर आपूर्ति बढ्ने सम्भावना देखाउँछ र बुकक्लोजसँगै समायोजित मूल्यलाई थप प्रभावित पार्दछ ।
सेयर किनबेच बुकक्लोज पछि कि अगाडि ?
बुकक्लोजको मूल्य समायोजन र सेयर आपूर्तिको प्रभाव आकलन गर्न नसक्दा मानिसहरू बुकक्लोज अगाडि वा पछाडि सेयर किनबेच गर्नेमा असमञ्जसमा पर्दछन् । बुकक्लोज अगाडि वा पछाडि सेयर किन्ने निर्णय गर्दा निम्न कुराहरूमा ध्यान दिनु उपयुक्त हुनेछ:
१) लगानी वा कारोबार: यदि कम्पनीमा दीर्घकालीन लगानी गर्ने हो भने सामान्यतः बुकक्लोज अगाडि सेयर किन्नु उपयुक्त मानिन्छ । बुकक्लोज अगाडि सेयर खरिद गरिएको अवस्थामा कम्पनीले दिने लाभांश वा हकप्रद सेयरमाथिको अधिकारका अतिरिक्त निर्णय प्रक्रियामा सहभागिता र मताधिकार प्राप्त हुनेछ । बजारमा सेयरको मूल्य वृद्धि भएको अवस्थामा थप पुँजीगत लाभ एवम् आधार मूल्यको लाभको सम्भावना पनि रहन्छ । यदि अल्पकालका लागि पुँजीगत लाभका लागि कारोबार गर्ने हो भने बुकक्लोज पछाडि खरिद गर्नु कम जोखिमपूर्ण मानिन्छ । यस आधारमा लगानीकर्ताहरूले खरिद बुकक्लोज अगाडि र बिक्री पछाडि गर्नु बुद्धिमत्तापूर्ण मानिन्छ ।
२) बजार र कम्पनीको बजार मूल्यको अवस्था : बजार र कम्पनीको सेयर मूल्य स्थिर, बढ्दो वा घट्दो अवस्था कुन छ, त्यसलाई मनन गर्नुपर्दछ । स्थिर अवस्थामा बुकक्लोज अगाडि वा पछाडि सेयर किनबेचले तात्त्विक असर गर्दैन । बढ्दो अवस्थामा बुकक्लोज अगाडि र घट्दो अवस्थामा बुकक्लोज पछाडि सेयर खरिद लाभदायक हुन सक्छ ।
३) कम्पनीको सेयरको माग र आपूर्ति सामान्यतया बजारमा कम सेयर आपूर्ति र माग उच्च भएका कम्पनीहरूको सेयर मूल्य बुकक्लोज पछाडि पनि बढ्ने सम्भावना उच्च हुँदा बुकक्लोज अगाडि खरिद गर्नु राम्रो हुन्छ । आपूर्ति अनुरूप सेयरको माग नभएका कम्पनीको बोनस सेयर वा हकप्रदले आपूर्ति बढेर बजारमा सेयर मूल्य घट्ने सम्भावना उच्च रहन्छ । यस्ता कम्पनीका सेयरमा लगानी वा कारोबार दुवै अवस्थामा बुकक्लोज अगाडि सेयर बिक्री फाइदाजनक हुन सक्छ ।
४) बोनस वा हकप्रद वितरण र सूचीकरण समय : बुकक्लोजसँँग सेयर मूल्य समायोजन भए तापनि बोनस सेयर स्वीकृत भई वितरण गर्न केही समय लाग्ने हुन्छ । हकप्रद सेयरको लागि बुकक्लोजको हकमा हकप्रद सेयरको निष्काशन, बन्द, बाँडफाँड, सूचीकरण र सेयरधनीलाई वितरणसम्म लामो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा बोनस सेयरको भन्दा थप समय लाग्दछ । कम्पनीको व्यवस्थापनले कति छिटो बोनस वा हकप्रद जारी तथा सूचीकरण गर्न सक्छ र त्यसले बजारमा आपूर्ति तथा मूल्यमा पार्ने सम्भावनाका आधारमा उक्त कम्पनीको सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि भन्ने निर्णयमा विचार गरिनुपर्दछ ।
५) व्यक्तिगत जोखिम वहन क्षमता : बुकक्लोज पछाडि सेयर मूल्य कम देखिँदा किन्न प्रोत्साहित हुनेमात्र होइन बढ्दो आपूर्तिको डरले तत्काल किन्न निरुत्साहित पनि हुन सक्छन् । मूल्य घट्ने र आपूर्ति बढ्दा बजारमा सेयर मूल्य कता जान्छ भन्ने आकलन निकै कठिन र जोखिमपूर्ण हुन्छ । यसरी हुने मूल्यको प्रभाव सकारात्मक वा नकारात्मक दुवैबाट उत्पन्न हुने जोखिम वहन क्षमता, जोखिम आकलन र व्यवस्थापन क्षमतालाई पनि सेयर किन्दा ध्यान दिनुपर्दछ ।
अन्त्यमा, नगद लाभांशले म्युचुअल फन्डको खुद सम्पत्तिमा नै असर गर्ने र लाभांश पनि बजार मूल्यको १० प्रतिशतभन्दा बढी रहने सम्भावना रहँदा बुकक्लोजसँगै बजार मूल्य समायोजन हुन्छ तर अरू कम्पनीको मूल्य समायोजनको सम्भावना न्यून हुन्छ । बोनस र हकप्रदको लागि हुने बुकक्लोजले सेयर मूल्य र आपूर्ति प्रभावित गर्ने हुँदा त्यसपछिको मूल्य आकलन, जोखिम वहन र व्यवस्थापन गर्ने क्षमता, लगानीको उद्देश्य र अवधि आदि पक्षहरूलाई ध्यान दिएर सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि भन्ने निर्णय गर्नुपर्दछ । अझ हकप्रदको हकमा कुनै कारणवश हकप्रद सेयर लिन छुटेमा दीर्घकालीन नोक्सानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्