भलिबलमा पुलिसको अपराजित यात्रा जारी «

भलिबलमा पुलिसको अपराजित यात्रा जारी

महिलातर्फको विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी छैटौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई बिहीबार सोझो सेटमा पराजित गर्दै जित निकाल्दा आफ्नो तेस्रो खेलमा पनि जितलाई निरन्तरता दिएको हो । चोटका कारण कोर्ट बाहिर रहेकी प्रतिभा मालि बिनाको न्यु डायमन्ड पुलिसविरुद्ध सोझे सेटमा पराजित भएको हो ।
स्पष्ट जित निकाल्ने क्रममा पुलिसले न्यु डायमन्ड माथि २५–११, २५–१७, २५–१५ को स्कोर निकालेको थियो । जितसँगै पुलिसले आफूले खेलेको तीन खेल मध्ये सबै तीनै खेलमा जित हात पारेको छ । यस संगै पुलिसको लिगमा ९ अंक भएको छ । पुलिस शीर्ष स्थानमा रहेको छ । उता पराजित न्यु डायमण्डको यो लगातार तेस्रो हार हो । न्यु डायमन्डको अंक तालिकामा १ अंक नै रहेको छ । यस अघि भएको खेलमा न्यु डायमन्ड एभरेस्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित हुँदा १ अंकको खाता खोलेको थियो ।
प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न महिला तर्फको दिनको पहिलो खेलमा अर्को विभागीय टोली एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित ग-यो । एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित गरेको हो । एपिएफको तीन खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा एपिएफ पुलिससँग पराजित भएको थियो भने दोस्रो खेलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निकालेको थियो । प्रतियोगितामा शुक्रबार पनि महिला तर्फ एक र पुरुष तर्फ तीन गरी कुल चार खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्