रुकुम पश्चिममा कांग्रेस र माओवादी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

रुकुम -आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका–६ स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । रुकुम पश्चिमका अधिकांश स्थानीय तहका प्रमुख पद र वडाहरुमा कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धन बनेको छ ।
रुकुम पश्चिममा माओवादी केन्द्रले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संग गठबन्धन गरेको छ भने कांग्रेसले सत्ता गठबन्धन बाहिरको नेकपा एमाले संग चुनावी गठबन्धन गरेको छ । स्थानीय आवश्यकताको आधारमा केन्द्रीय गठबन्धन बाहिर गएर चुनावी गठबन्धन गर्नुपरेको नेपाली काग्रेसले बताएको छ । रुकुम पश्चिमको बाँफिकोट र त्रिबेणी गाउँपालिकामा भने एमाले कांग्रेसको गठबन्धन छैन ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका महेन्द केसी र नेकपा माओवादी केन्द्रका बशन्त शर्माबीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकामा कांग्रेसका जनककुमार बाँठामगर र माओवादी केन्द्रका चन्द्रबहादुर केसी, चौरजहारी नगरपालिकामा माओवादी केन्द्रका पुष्प वादी र कांग्रेसका प्रेमबहादुर ओली, आठबीसकोटमा कांग्रेसका धीरेन्द्रबहादुर बटाला र माओवादीका रवि केसी विच मुख्य प्रतिष्पधा देखिएको छ । त्यस्तै त्रिबेणीमा काँग्रेसका अमरसिं खड्का र माओवादीका गणेशकुमार केसी र सानीभेरीमा काग्रेसका गोरखप्रसाद चन्द र माओवादी केन्द्रका बिर्खबहादुर विष्टबीच प्रमुख पदका मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लामा १ सय ९२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्ता लिनेमा अधिकांश स्वतन्त्रसँगै कांग्रेस एमाले गठबन्धन र माओवादी समाजवादी गठबन्धनबाट सहकार्य गरेका प्रमुख उपप्रमुख पदहरुबाट रहेको छ । कांग्रेसले नेकपा एमालेलाई चुनावी सहकार्य गरेका सबै स्थानीय तहमा उपप्रमुखको पद दिएको छ भने नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई मुसीकोटमा उपप्रमुख दिएको छ भने अन्य ठाउँमा वडा अध्यक्ष र सदस्य पदहरुमा चुनावी तालमेल गरिएको छ ।
आचारसंहिता पालना गर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आगामी वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै पछिल्लो समय जिल्लामा आचारसंहिता उल्लंघनका घटना बढेपछि आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जारी गरेको सूचनामा विषेश गरि राजनितिकदलहरुले नै निर्वाचन आचारसंहिता पालना नगरेको पाइएको उल्लेख गरिएको छ । त्यस्तो गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रशासननले चेतावनी दिएको छ ।
निर्वाचनमा प्रचारमा १८ वर्ष पूरा नभएका बालबालिकाहरुलाई प्रयोग नगर्नदेखि निर्वाचन आचारसंहितामा रोकिएको कुनै पनि राजनीतिकदल निर्वाचन चिन्ह अंकित सामग्रीहरु प्रयोग गर्न नपाइने भएकाले त्यसो नगर्न आग्रह गरिएको हो ।
तीन जना उम्मेदवार निर्विरोध निर्वाचित
रुकुम पश्चिममा स्थानीय तह निर्वाचन २०७९ अन्तरगत तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आठबीसकोट नगरपालिकका दुई र चौरजहारी नगरपालिकाका एक जना नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा २ नम्बर वडाको दलित महिला सदस्यमा जुनकुमारी विक र ८ नम्बर वडाको महिला सदस्यमा उम्मेदवारी दिएकी शशि पुन मगर पनि निर्विरोध निर्वाचित भएकी हुन । उक्त पदमा अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनिहरु स्वःत निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै चौरजहारी नगरपालिका–८ की दलित महिला सदस्य रश्मी विक सार्की पनि निर्विरोध निर्वाचित भएकी छिन् ।