Logo

दोलखाबाट पाँच सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो



दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना गत वर्ष विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो । वर्षात्का बेलासमेत भारतबाट खरिद गरेर वितरण गरिरहेको बेला माथिल्लो तामाकोसी सहितका आयोजना पूरा भएपछि गत वर्षको वर्षात्मा पाँच सय मेगावाट विद्युत खेर गयो ।
तर यही बेला औद्योगिक क्षेत्रमा समेत पहिलो पटक १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोडिँदै आएको छ । २०७८ साल नेपालको विद्युत उत्पादनका हिसाबले अहिलेसम्मको ऐतिहासिक बनेको छ । एकै वर्ष ७२० मेगावाट विद्युत प्रणालीमा जोडिएको हो । यो अहिलेसम्मकै धेरै हो ।
प्रणालीमा जोडिएका दुई तिहाइ विद्युत दोलखा जिल्लामा निर्माण भएका जलविद्युत आयोजनाबाट मात्र जोडिएका छन् । दोलखाबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना, ११ मेगावाटको तल्लो खारे खोला र सात मेगावाटको सुरीखोला २०७८ मै पूरा भई विद्युत उत्पादन गरिरहेका छन् ।
जलविद्युत मात्र होइन । प्रसारणलाइन विस्तारका हिसाबले पनि २०७८ सम्झनलायक भयो । ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो न्यू खिम्ती सबस्टेसन २२०/१३२ केभी क्षमता सबस्टेसन वर्षको अन्तिमतिर प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । गोगर–खिम्ती २२० केभी प्रसारणलाइनसहित नयाँ खिम्ती सबस्टेसनसमेत माथिल्लो तामाकोसीले नै निर्माण गरेको हो । यो सबस्टेसन सञ्चालनमा आएसँगै लिखु चार को ५२.४ मेगावाट र लिखु ‘ए’ बाट उत्पादित २४.२ मेगावाट विद्युत जोडिएको छ । यो विद्युत काठमाडौं र तराई हुँदै भारतसँग पनि आदानप्रदान गर्न सकिन्छ ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले विद्युत विकासका लागि २०७८ कोसेढुङ्गा सावित भएको बताए । देशको अर्थतन्त्रको विकास र वैदेशिक व्यापारमा आयात घटाउन यो आयोजनाले ठूलो सघाउ प-याएको छ ।
ठेकेदारकै कारण एक दशक ढिलाइ भएको सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन पनि गत वर्ष नै सञ्चालनमा आयो । सिंगटी–लामोसाँघु प्रसारणलाइन सञ्चालनमा आएपछि दोलखाको उत्तरी क्षेत्रमा गत वर्ष नै पूरा भएका सिंगटी खोला २५ मेगावाट, ११ मेगावाटको तल्लो खारेखोला र सात मेगावाटको सुरी खोलाको राष्ट्रिय प्रणालीमा जोडिएको आयोजना प्रमुख राजन ढुंगेलले जानकारी दिए । त्यसैगरी यही प्रसारणलाइन सञ्चालनमा नआउँदा विद्युत खेर गएका १० मेगावाटको सिप्रिङ खोला र पाँच मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको विद्युतसमेत खेर नजाने गरी जोडिएका छन् ।
दोलखाबाट चालू आर्थिक वर्षमा पाँच सय मेगावाट विद्युत थपिएसँगै नेपालको विद्युतको राष्ट्रिय प्रणालीमा जडित क्षमता दुई हजार १ सय ५० मेगावाट पुगेको छ । तर अधिकाँश आयोजना नदी प्रवाहमा आधारित भएकाले यो सुक्खा सिजनमा क्षमताको एक तिहाइमात्र उत्पादन हुन्छन् । यो सिजनमा विद्युतको माग धान्न भारतबाट आयत गर्नुपर्ने बाध्यता कायमै छ । तर अर्धजलाशययुक्त माथिल्लो तामाकोसीको भने दिउँसो र राति पानी जम्मा गरेर माग उच्च भएको साँझ र बिहान पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । तेल र कोइलाको अन्तर्राष्ट्रिय मूल्य उच्च भइरहेका बेला भारतबाट प्रतियुनिट ३८ रुपैंयासम्म भुक्तनी पिक समयमा विद्युतका लागि ऊर्जामा अर्बौं व्यापार घाटालाई रोक्न माथिल्लो तामाकोसीले ठूलो मद्दत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्