इ–सेवाको अध्यक्षमा कुँवर नियुक्त
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको कम्पनीले जनाएको छ ।
कुँवरको आगमनसँगै स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ । उनी पछिल्लो समय इसेवाको बोर्ड अध्यक्ष थिए । बोर्ड अध्यक्षबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।
यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६० लाख बढि रहेको छ । हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।