गठबन्धनमा मतदान गर्न देउवाको आह्वान «

गठबन्धनमा मतदान गर्न देउवाको आह्वान



विराटनगर-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार गठबन्धन कायम भएकाले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरेका छन् ।
नेपाली कांग्रेस मोरङले विराटनगरमा बुधबार आयोजना गरेको चुनावी सभामा देउवाले गठबन्धनमा आवद्ध दलहरूका कारणले आफू प्रधानमन्त्री भएको र राष्ट्रिय आवश्यकता गठबन्धन भएकाले यसप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए ।
“गठबन्धनमा कुनै प्रकारको शंका उपशंका हुनुहुँदैन । बरू कांग्रेस पार्टीले धोका खान्छ । तर, गठबन्धनलाई धोका दिनु हुँदैन,” उनले भने, “यहाँ धोका दिने कुराहरू आएका छन् । कांग्रेसले कुनै हालतमा धोका दिनुहुँदैन, गठबन्धनका उम्मेदवारलाई बिजयी गराऊँ ।” उनले कांग्रेसले कसैलाई धोका नदिने जिकिर गरे । “कांग्रेसको टाउकोमा धोकेबाज भन्ने ‘ब्लेम’ नलागोस्,” उनको भनाइ थियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पत्रकारहरु पनि डराउने गरेको टिप्पणी गर्दै देउवाले आफ्नो सरकार आएपछि नागरिक डरमुक्त भएको दाबी गरे । “अहिले सरकारले डर–त्रास दिएको छैन । निर्धक्क भएर बोलिराखेका छन्,” उनले भने, “उसबेला ओलीको खिलापमा बोल्न डराउँथे मान्छेहरु । पत्रकारहरु लेख्न डराउँथे ।”
देउवाले ६५ वर्षमाथिका नागरिकलाई वृद्ध भत्ता दिने घोषणा गरे । “पहिले पनि कांग्रेसले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने घोषणा गरेको थियो,” आमसभालाई सम्बोधन गर्दै देउवाले भने, “तर नेकपा एमालेको सरकारले नमानेका कारण कार्यान्वयन हुन सकेन ।” देउवाले इस्पाइनर इन्जुरीलगायतका ५ प्रकारका रोगका विरामीलाई पनि मासिक ५ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गर्ने बताए । आमसभालाई सम्बोधन गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धन आबश्यक रहेको बताए । उहाँले गठबन्धनले जिते विराटनगरको काँचुली फेर्न सक्ने विश्वास गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गरे ।
नेता डा. शेखर कोइरालाले विराटनगरको शाख फर्काउन र हराभरा विराटनगर बनाउने उम्मेदवारहरूले बाचा गरिसकेको भन्दै ठूला विकास आयोजना सञ्चालन गर्न सबैले संघीय सरकारलाई पहल गर्ने बताए । सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यस्तै नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र संघको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए । “स्थानीय तहमा कांग्रेसले जितेन भने आगामी प्रदेश र संघको चुनाव जित्न निकै गाह्रो हुन्छ,” कोइरालाले भने, “त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर कांग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।”
त्यस्तै सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताए । “एमाले र कांगेसको घोषणापत्र पढ्नुस्, समृद्धिको कुन बाटो रोज्ने तपाईं रोज्न सक्नुहुन्छ” उनले भने, “एमालेको घोषणापत्रमा एउटा पनि मान्छेको अनुहार राखिएको छैन, कांग्रेसको घोषणापत्रमा तपाईंले आफूलाई देख्नुहुन्छ, तपाईको आमा उभिएको देख्नुहुन्छ, भाइ, बहिनी वा बाबा उभिएको देख्नुहुन्छ ।” एमालेको घोषणापत्रमा भने अग्ला अग्ला भवन र भ्यूटावर देखिएको तर मान्छेको अनुहार नदेखिएको महामन्त्री शर्माले भने । कांग्रेसले भने ह्वील चेयरमा बस्ने र सुकुम्बासीहरुलाई घोषणापत्रमा प्राथमिकता दिएको उनले बताए । त्यस्तै नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, विराटनगरका मेयरका उम्मेदवार नागेश कोइराला, उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए ।

नागेशलाई यसपटक न्याय गरें
यसैबीच, देउवाले नेपाली कांग्रेसका युवानेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिएर यसपटक आफूले न्याय गरेको बताए । प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीमा लाग्दा ढिलोछिटो न्याय हुन्छ भन्ने नागेशको सन्दर्भले पुष्टि हुने उल्लेख गरे । “अघिल्लो पटक पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिँन,” देउवाले भने, “तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेशसहित गठबन्धनका उम्मेदवारले अत्यधिक मतले जित्नेछन् ।”
देउवाले नागेश र गठबन्धनबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीले चाहेअनुसार नै विकास हुने बताए । देउवाले भने, “दुवैजना युवा हुनुहुन्छ, दुवैजना पढेलेखे र विराटनगरका लागि केही गरौं भन्ने सोच छ उहाँहरूमा । त्यसो भएकाले उहाँहरूलाई भोट माग्न म तपाईंहरूको माझ आएको हुँ ।”

प्रतिक्रिया दिनुहोस्