मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि

मासिक ४२ हजार रुपैयाँअनुसार मात्र मागपत्र प्रमाणित
मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो ।
मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रामाणिकारण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो । दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले कम्तिमा पनि ४२ हजार रुपैयाँ पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नु पर्नेछ । यसअघि मलेसियामा काम गर्ने साधारण श्रमिकको पारिश्रमिक १ हजार २०० रिंगेट थियो । हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको नेतृत्वमा मलेसिया गएको टोलीका सदस्य एवं श्रम मन्त्रालयका सहसचिव थानेश्वर भुसालले मलेसिया सरकारले साधारण श्रमिकको तलब १ हजार ५ सय तोके पनि सुरक्षाकर्मीको रुपमा जाने नेपालीको पारिश्रमिक ३ हजार रिंगेट भन्दा बढी निर्धारण गर्न नेपालले अनुरोध गरेको जानकारी दिए ।
यो निर्णयसँगै रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको मागपत्रमा न्यूनतम पारिश्रमिक तोकेर मागपत्र पेश गर्न निर्देशन दिएको छ । ३ महिनाअघि नै मलेसिया सरकारले पनि श्रमिकको न्यूनतम तलब बढाउने निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसियाको मानव संशाधन मन्त्रालयले २०२१ मा नै स्वदेशी तथा विदेशी श्रमिकको तलब १ हजार १ सय रिंगेटबाट वृद्धि भएर १ हजार २ हुने निर्णय गरेको थियो । मलेसियाले राजधानी क्वालालम्पुरसहित देशका ५७ वटा सहरमा विदेशी श्रमिकको पारिश्रमिक सोअनुसार हुने जनाएको छ ।
मलेसिया सरकारले यही मे १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेपछि नेपाली दूतावासले यसलाई मागपत्र प्रमाणीकरणमा उल्लेख गर्नुपर्ने निर्णय गरेको हो । मलेसिया स्थित नेपाली दूतावासले अब पेश हुने नेपाली श्रमिकको मागपत्रमा वृद्धि गरिएको पारिश्रमिकलाई प्राथमिकतामा राखेर प्रमाणिकरण गर्ने जनाएको छ । २ वर्ष भन्दा लामो समय रोकिएर पुनः खुला भएको मलेसियाको रोजगारीमा तलव बृद्धिसँगै धेरै नेपालीले केही राहत पाएका छन् ।
मलेसियामा वर्षेनी चार लाख ५० हजारको हाराहारी नेपाली युवा जाने गरेका छन् । दूतावासले बढाइएको तलब पुराना कामदारको हकमा समेत लागू हुने जनाएको छ । दूतावासले निर्धारण गरेको नयाँ परिश्रमिक नदिने रोजगारदातालाई कारवाहीको प्रक्रियामा ल्याउन मलेसिया सरकारसँग अनुरोध गर्ने भएको छ । हाल मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डले भने हाल निर्धारण गरिएको भन्दा बढी पारिश्रमिक पाउँदै आएका छन् । मलेसियास्थित नेपाली दूतावासले नयाँ आएका मागपत्र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।
दूतावासले यसअघि प्रमाणीकरणको लागि दूतावासमा पेश भई प्रमाणीकरण नभइसकेका मागपत्रमा मागपत्र र रोजगारी सम्झौतापत्रका सम्बन्धित पेजहरू समेत नयाँ पारिश्रमिक अनुसार मिलान गरी पेश गर्न अनुरोध गरेको छ । यसअघि नै मलेसिया सरकारले न्यूनतम तलब बढाउने घोषणा गरिसकेको थियो । हालै मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका थिए । सो अनुसार साधारण श्रमिकको पारिश्रमक वृद्धि गरि एपनि सुरक्षाकर्मीको भने नयाँ तलबमान घोषणा गरिएको छैन । भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिंगेट पु¥याउन प्रस्ताव गरेका छन् । सो क्रममा दुई देशबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे नेपाल र मलेसियाबीच छलफल भएको थियो ।