हस्तकलाको पठनपाठनमा भारतीय शैक्षिक संस्थाले सघाउने «

हस्तकलाको पठनपाठनमा भारतीय शैक्षिक संस्थाले सघाउने



काठमाडौं विश्वविद्यालयले शिल्पकला, हस्तकला, तथा कौशल विधासँग सम्बन्धित पाठ्यक्रम तयार गरी स्नातक तहमा अध्यापन गराउन तयारी अघि बढाएको छ ।
नेपाली चिनाउने हस्तकलाको सीप अझै पाठयक्रमको दायरामा आउन नसकेकोलाई मध्यनजर गरी विश्वविद्यालयले सो तयारी अघि बढाएको हो । यस कार्यले नेपालका अग्रज र ख्यातिप्राप्त कालिगढहरुको सीप र अनुभवका आधारमा आवश्यक मापदण्डहरु निर्धारण सो पेशालाई आधारिक मान्यता दिलाउने बताइएको छ ।
सो को लागि विश्वविद्यालयको प्राध्यापकको एक टोली भारतको जयपुर र दिल्लीका विभिन्न शिल्प अध्ययन संस्थान तथा विश्वविद्यालयहरुको अवलोकन गरेका थिए । टोलीमा विश्वविद्यालयको स्कूल अफ आट्र्सका एसोसियट डीन सह–प्राध्यापक सुजन चित्रकार, उप–कुलपतिको कार्यालय, योजना तथा विकास महाशाखा, शिल्पकला तथा कौशल विधाका योजना संयोजक प्राध्यापक तेजेशमान शाक्य, डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङ्गका संयोजक उप–प्राध्यापक हरि ढकाल एवं डिपार्टमेन्ट अफ इलेक्ट्रिकल्स एण्ड इलेक्ट्रोनिक्सका उप–प्राध्यापक ब्रजेश मिश्र रहेका थिए ।
त्यस क्रममा भारतका प्राध्यापकहरुसँग भारतका शैक्षिक संस्थानमा आवद्ध नेपाली शिल्पकला र हस्तकलाबारे पठनपाठन गराउन सकिने बारे छलफल भएको विश्वविद्यालय कौशल विधाका योजना संयोजक प्राध्यापक तेजेशमान शाक्यले जानकारी दिए । भ्रमणका क्रममा कला तथा सांस्कृतिक आदान प्रदान तथा विभिन्न परियोजना संचालनका लागि सम्झौता गर्न सैद्धान्तिक खाका तयार गर्ने सहमति भएको थियो ।
मनिपाल युनिभर्सिटी जयपुरको फ्याक्ल्टी अफ डिजाइन र फ्याक्ल्टी अफ इन्जिनियरिङसँग पनि सैद्धान्तिक खाका तयार गर्ने सहमति भएको सो विश्वविद्यालययले जनाएको थियो। युनिभर्सिटीका अध्यक्ष डा. जिके प्रभु र अन्य प्राध्यापकाहरु सहभागी भएका थिए ।
त्यसैगरी राजस्थान आईएलडी कौशल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरी, जयपुरको पनि अवलोकन भ्रमण गरेका थिए ।नयाँ दिल्ली स्थित राष्ट्रीय शिल्प संग्रहालय एवं हस्तकला एकेडेमीका साथै योजना तथा वास्तुकला विद्यालयसँग पनि आपसी अनुभव आदानप्रदान र परियोजना संचालनका लागि छलफल गरिएको थियो ।
प्राध्यापक शाक्यका अनुसार विश्वविद्यालयले छिट्टै नै हस्तकलाका बारेमा पढाई शुरु गर्ने छ । सो को लागि योजना बनाउन उप–कुलपति प्रा.डा.भोला थापाको निर्देशन अनुसार योजना तथा विकास महाशाखाका सह–निर्देशकएवं सह–प्राध्यापक डा.विराज सिंह थापाको मातहतमा काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्