उम्मेदवारको साझा एजेन्डा ‘प्रदूषणमुक्त काठमाडौं
यतिबेला स्थानीय चुनाव नजिकिएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदान आफ्नो पक्षमा पार्न मतदातासामु विभिन्न प्रतिबद्धता लिएर घरदैलोमा व्यस्त देखिन्छन् । काठमाडौं महानगरपालिका जो जेठो र राजधानीमा रहेको महानरपालिकामा जित हासिल गर्न कसरत गरिरहेका छन् उम्मेदवारहरू, उनीहरूलाई मुख्यतया वातावरणीय प्रदूषण हटाउनुपर्ने मुख्य चुनौती छ । उम्मेदवारले सार्वजनिक गरेको घोषणापत्रमा पनि काठमाडौंलाई सफा, सुन्दर र हरियाली बनाएर प्रदूषणमुक्त वातावरण कायम राख्ने प्रतिबद्धता गरेका छन् । उनीहरूले राखेको प्रतिबद्धता पूरा गर्लान् या नगर्लान्, त्यो भने हेर्न बाँकी नै छ । तर, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले गरेको घोषणा, आगामी लक्ष्य र सुझावलगायतका विषय समेटेर कारोबारकर्मी प्रगति ढकालले संकलन गरेको धारणा :
उपत्यकालाई सफा र स्वच्छ राख्न चुनावी मैदानमा होमिएकी छु
सिर्जना सिंह
मेयर उम्मेदवार
नेपाली कांग्रेस
हामीले लिएका विभिन्न एजेन्डाहरूमध्ये वातावरणीय मुद्दाले पनि मुख्य प्राथमिकता पाएको छ । मेरो मुख्य एजेन्डा भनेकै वातावरण, महिला सशक्तीकरण, सुशासन, संस्कृति, सभ्यताको जगेर्ना गर्नु, गुणस्तरीय शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार नै हो । जब हामी प्रदूषित वातावरणमा बाँचिरहन्छौं, यसले मानव स्वास्थ्यमा पार्ने नकरात्मक असरहरू बढ्दै जानेछ । पछिल्लो समय उपत्यकावासी प्रदूषित वातावरणमा बाँचिरहेका छन् । हामीले सास फेर्ने हावा शुद्ध छैन । स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको जुन मौलिक हक छ, यसको प्रत्याभूति उनीहरूले गर्न पाइरहेका छैनन् । यसकारण उनीहरूलाई संवैधानिक व्यवस्थाअनुसारको मौलिक हकको प्रत्याभूति गराउनका लागि पनि सबैभन्दा बढी प्राथमिकताका साथ वातावरणीय स्वच्छताको क्रियाकलापलाई अगाडि बढाउनेछौं । वातावरणीय सुधार गरेर काठमाडौं हराभरा बनाउने मेरो मुख्य एजेन्डा हो ।
स्वच्छ र सफा काठमाडौं बनाउन फोहोर सफा गर्नेछौं । यहाँका धूलोहरू व्यवस्थापन गरेर धूलोरहित काठमाडौं बनाउने सपना छ । उपत्यकाका नदीहरू कति प्रदूषित छन्, जहाँ गएर हामी वरपर पनि बस्न सक्दैनौं, नदी सफा गर्नेछौं । प्रदूषणरहित काठमाडौं बनाउने सपना पूरा गर्न लागिपर्नेछु । फोहोर व्यवस्थापन काठमाडौंको मुख्य समस्या देख्छु । फोहोरको व्यवस्थापन हुन नसक्दा पनि प्रदूषण बढिरहेको छ । झन् आगामी दिनहरूमा कस्तो होला ? यसैले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने योजना लिएर अगाडि बढ्नेछौं । म विज्ञहरूसँग पनि सल्लाह गरेर अगाडि बढ्नेछु । कतिपय फोहोरहरू घरबाट नै व्यवस्थापन गर्नुपर्ने हुन्छ । कुहिने र नकुहिने फोहोरलाई छुट्ट्याउनुपर्छ र कुहिनेलाई मल बनाउन सकिन्छ । कतिपय नकुहिने फोहोरलाई रिसाइकल गरेर व्यवस्थापन गर्न सकिन्छ । यसो हुँदा घरबाट निस्कने फोहोरहरू घरमै व्यवस्थापन हुन सक्छ । धूलो–धूवाँ जसले काठमाडौंलाई प्रदूषित गराएको छ, सडकका खाल्टाहरू जहाँबाट धूलो निस्केर उपत्यका धूलोमुक्त हुन सकिरहेको छैन, ढल व्यवस्थापनको काम राम्रो हुन नसक्दा ढल फुट्ने र फोहोर गराएको छ, यसलाई समाधान गरेर अगाडि बढ्नेछौं । तर, मेरो मात्रै एकल प्रयासले सम्भव भने छैन । सबैको सहकार्य आवश्यक छ । हामी सहकार्यका लागि प्रदेश सरकार, संघसँग पनि अनुरोध गर्नेछौं । सर्वसाधारणहरूमा जनचेतना अभिवृद्धि गराउनेछौं । म धेरै ठूलो र असम्भव कुरा गर्न चाहन्नँ ।
हरियाली प्रवद्र्धन गर्न चाहन्छु । सार्वजनिक स्थलहरू हरियाली बनाउनेछौं । वातावरणीय प्रदूषण नियन्त्रण गर्नका लागि विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएर अगाडि बढ्नेछौं । भ्रष्टाचारमुक्त बनाउने, छिटोछरितो सुविधा उपलब्ध गराउने, घरबाटै सरकारी सुविधा उपलब्ध गराउने गरी प्रविधिको विकास गर्नेछौं । पहिला–पहिला पनि काठमाडौंलाई सफा र हरियाली राख्ने चुनावी एजेन्डाहरू सार्वजनिक भए । तर, चुनाव जिते पनि काठमाडौंको प्रदूषण हट्न सकेन । यसकारण मलाई के लाग्यो भने म आफैं चुनावी मैदानमा होमिएँ । यदि चुनाव जितें भने सफा, सुन्दर र हरियाली वातावरणमा स्वच्छ हावामा सास फेरेर बाच्न पाउनुहुनेछ ।
चुनाव जित्यौं भने स्वच्छ, सफा र हरियाली काठमाडौं बनाउँनेछौं
सुनिता डंगोल
उपमेयर उम्मेदवार
नेकपा एमाले
वातावरणका कुराहरू पनि हामीले पहिलो प्राथमिकतामा नै राखेका छौं । दिगो विकास गर्नुपर्छ र यसका लागि मुख्य तथा हरियाली प्रवद्र्धन गर्नुपर्छ । वातावरणमैत्री विकासलाई पहिलो प्राथमिकतामा राखेका छौं । काठमाडौंमा वातावरणीय प्रदूषण पनि छ । यदि मैले जितें भने प्रदूषण न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू, जुन चुनावी एजेन्डामा तय गरेका छौं, यसलाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि अगाडि बढ्नेछौं । जित्नेबित्तिकै गर्नुपर्ने कतिपय कामहरू छन्, कति कामहरू छिटो सुरु गरे पनि सक्ने, लामो समय लाग्ने खालका पनि छन् । वातावरणीय प्रदूषण न्यूनीकरण र फोहोर व्यवस्थापन हाम्रो पहिलो प्राथमिकतामा नै पर्छ । यति समयमा नै काम गर्न सक्छु भन्नुभन्दा पनि यो नियमित प्रक्रिया हुनुपर्छ । परिवर्तन भनेको आजको भोलि नै हुने कुरा होइन । समय लाग्छ, केही समय । समय लाग्दा पनि दिगो परिवर्तन हुनपर्छ भनेर लागिरहेका छौं ।
फोहोरमैला व्यवस्थापन नभएका कुराहरू छन् । हामीले देखिरहेका छौं । भोगिरहेका छौं । फोहोरमैलोको कामलाई जतिसक्दो चाँडो सम्बोधन गर्ने कामहरू गर्नेछौं । थ्री आर जस्तै— रिसाइकल, रियुज र रिड्युस । यो परिकल्पना घरदेखि स्कुलसम्म बालबालिकालाई सिकाउने एउटा पक्ष रहेको छ । फोहोरलाई घरमा नै व्यवस्थापन गर्न सक्यो भने थेरै हदसम्म हल्का हुन्छ । घरघरका फोहोरहरू घरघरमै कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर प्रभावकारी रूपमा कामहरू गर्नेछौं । सड्ने फोहोरलाई घरमा नै मल बनाउन सक्छौं र नकुहिने फोहोरलाई पनि रिसाइकल गर्न सक्छौं । सीपसँग जोडर काम हुने भयो । घरमा व्यवस्थापन नभएका फोहोरहरूबाट हामीले ऊर्जा निकाल्न सक्छौं ।
तर यी भनिरहेका कुराहरूको प्रभावकारी कार्यान्वयनका लागि एक जना व्यक्तिले मात्रै गर्ने होइन । नेकपा एमालेको टिम नै आयो भने कार्यान्वयनका लागि सहज हुनेछ । परिकल्पना तथा योजना कार्यान्वयनका लागि सबै टिम नै लाग्नुपर्छ । सबै टिम मिलेर हामी काठमाडौंवासीको मागलाई सम्बोधन गर्ने छौं । पहिला भएका राम्रा कामहरूलाई पनि निरन्तरता दिनेछौं । गर्न बाँकी रहेका कामहरू पनि गर्नेछौं । हामीले जित्यौं भने स्थानीय तहबाट गर्नुपर्ने कामहरू स्वच्छ, सफा र हरियाली काठमाडौं बनाउनेछौं । सबै काम एउटा महानगरपालिकाले मात्रै गर्छु भनेर पनि हुँदैन । छिमेकी नगरपालिकाहरूसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौं । तीन तहको सरकारबीच पनि सहकार्य हुनुपर्छ । सवारी साधनले बढी वायु प्रदूषण गराएको भन्ने अध्ययनहरूले पनि देखाएको छ । प्रदूषण कम गर्न विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भन्ने प्रतिबद्धता पनि हामीले उल्लेख गरेका छौं । ठूला सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिनुपर्छ । सार्वजनिक सवारी साधन सबैको रोजाइ हुने गरेर काम गर्नेछौं । गाडीको व्यवस्थापनका साथै मोभिलिटी नै कम गर्नु महत्वपूर्ण कुरा हो । जस्तै स्कुलका बच्चाहरू कति टाढा–टाढासम्म गएर पढ्न बाध्य छन् । यसले मोभिलिटी बढाएको हो नि त । कतिलाई काठमाडौंभित्र गुणस्तरीय शिक्षा महसुस नभएर हो नि त । हामी सरकारी स्कुललाई नै राम्रो बनाउने कोसिस गर्नेछौं, ताकि बस चढेर टाडा जान नपरोस् । यसले वातावरणको प्रदूषण न्यूनीकरणमा सहयोग काम गर्छ । अहिले विज्ञानको जमाना हो । घरबाटै कामको कुरालाई प्राथमिकता दिनेछौं । साइकल लेन र साइकल पार्क गर्ने ठाउँ पनि हुनुपर्छ भनेर लागेका छौं ।
सडक वरपर वृक्षारोपण गरेर हरियाली बनाउनेछौं । तर, नागरिक पनि सचेत हुनुपर्छ । घरघर पनि हरियाली प्रवद्र्धन गर्ने योजना छ । खाली भएको जग्गालाई पनि हरियालीमा प्रवद्र्धन गर्नेछौं । फल दिने बिरुवा लगाउन प्रेरित गर्नेछौं ।
हामीले प्रतिबद्धतामा गर्ने नसक्ने काम राखेका छैनौं । हमीले बोलेको भन्दा अझै धेरै काम गर्नेछौं । महत्वकांक्षी योजना त होला तर असम्भव भने होइन । बजेटले भ्याएसम्मका काम गर्नेछौं । प्रदेशसँग मिले संघसँग समन्वय गरेर विभिन्न संघसंस्थासँग मिलेर निजी क्षेत्रसँगको सहकार्य गरेर अगाडि बढ्नेछौं । स्वच्छ काठमाडौं बनाउनेछौं ।
प्रदूषण घटाउन शतप्रतिशत विद्युतीय सवारी साधनमा जोड दिनेछु
बालेन साह
मेयर उम्मेदवार
स्वतन्त्र
वातावरणीय मुद्दाहरूलाई पनि हामीले प्राथमिकता दिएर अगाडि बढेका छौं । हामीले म्यापिङ गरेको ४२ देखि ४५ वटा खाली जग्गाहरू छन् । त्यसको सेफहरू फरक–फरक छ । कुनैलाई जगिङ पार्कका रूपमा प्रयोग गर्न सकिन्छ । कुनैलाई बच्चा खेल्ने पार्कको रूपमा प्रयोग गर्न सकिन्छ । कति ठाउँहरूमा फुटपाथमा सामानहरू बेच्ने गर्छन् । त्यसलाई सिसी क्यामरा राखेर बिहान, साँझ व्यापार गर्न दिने व्यवस्था मिलाउनेछौं । महानगरपालिकाले त्यहाँको सरसफाइ व्यवस्थापन सबै हरिदिन्छ र त्यहाँ पार्कको रूपमा विकास गर्ने योजना छ, निश्चित समयमा मात्रै व्यापार गर्न दिइने गरी । हामीले भर्टिकल गार्डेनहरू राख्ने कुरा छ । त्यो हेरिरहेका छौं । कहाँ गर्न सकिन्छ भन्ने पनि छ । ठूला–ठूला भवनहरूमा भर्टिकल गार्डेनहरू राख्ने, कुरा खाली ठाउँमा वृक्षारोपण गर्ने योजना अगाडि बढाउनेछौं । हरेक घरमा रूख रोप्नुपर्ने नियम छ । तर, त्यो पालना किन भएको छैन भने मानिसहरूले रूख राखेर के गर्ने भन्ने छ । तर, रूखहरू फल दिने खालको भयो भने त मानिसहरूले रोप्छन् नि त । जोजोले कर तिर्नुभएको छ, हाम्रै बजेटबाट महानगरले रूख प्रदान ग-यो र जुन बिरुवाले फल दिन्छ भने मानिसहरूले स्याहारसुसार पनि गर्नेछन् । रूखहरू धेरै काटिए । यसले गर्दा चराहरू पनि हराउँदै गए । मैले भँगेरा नदेखेको कति भइसक्यो । चराहरूको पनि बासस्थान हुनुपर्छ । बाँदरहरू पनि लोप हुँदै गइरहेको अवस्था छ । त्यसको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । मानिसहरूको मात्रै मेयर नभए जनावर पशुपन्छीको पनि विचार गर्नुपर्छ जस्तो लाग्छ । कतिपय कुराहरू घोषणपत्रमा लेख्न पनि छुटे होलान् ।
प्रदूषण न्यूनीकरणका लागि पूर्वाधार एम्बुलेन्स भनेर राखेका छौं । त्यो भनेको खाल्टाबाट धूलो आउने भयो । निर्माण गर्दाको अवस्थामा धूलो आउने भयो । विभिन्न ढलहरू फुटेर प्रदूषण हुन्छ । पूर्वाधार एम्बुलेन्स कल सेन्टरबाट चलाइन्छ । कल सेन्टरमा फोन गर्नेबित्तिकै तुरुन्तै त्यसको मर्मत गर्न सकिन्छ । जस्तै कसैले घर बनाउँदै छ त्यहाँबाट सिमेन्ट, माटो उठेर आयो भने माटोमा नै निर्माणका सामग्रीहरू राखिदिएको हुन्छ । यसका लागि महानगरपालिकाले कन्ट्रोल गर्नुपर्ने हुन्छ । नगर प्रहरीलाई जिम्मा दिनेछौं । जथाभावी रूपमा निर्माण गर्न पाइँदैन । काठमाडौं भित्रिने गाडीबाट नै २ सय मेट्रिक टन धूलो पनि पनि भित्रिन्छ । यसका लागि नाका भित्रिने ट्रकहरूको धूलो सफा गरेर भित्र छिराउन सकेमा धूलो कम हुनेछ ।
वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यातायातको सवारी साधन शतप्रतिशत विद्युतीय हुनुपर्छ । सबै सरकारकै हुनुपर्छ भन्ने छैन । निजी लगानी पनि गर्नुपर्छ । सरकारी लगानी पनि हुनेछ । पब्लिक, प्राइभेट र सरकारको पार्टनरसिप गरेर एउटै छाता संगठनमा राखेपछि त्यो विद्युतीय सवारी साधनका लागि एउटै कार्ड भए पुग्छ । त्यो एउटै कार्ड महिनाभरि रिचार्ज गरेर हरेक रुटमा जान पाइन्छ । यसले गर्दा प्रतिस्पर्धा रोकिनेछ । माइलको जीपीएस सिस्टमबाट तपाईंको बस कुन ठाउँमा छ भनेर ट्र्याक पनि गर्न सकिन्छ ।
वातावरणमैत्री विकासलाई प्राथमिकता दिनेछौं । काठमाडौं महानगरपालिकामा छ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ, जसलाई पुनःप्रयोग गर्न मिल्छ । हामी ७० प्रतिशत फोहोर मलमा प्रयोग गर्न सकिन्छ । १० देखि १५ प्रतिशत फोहोर छन् जसलाई कालोपत्रेसँग मिक्स गरेर प्रयोग गर्न सकिन्छ । बाँकी सिसाजन्य तथा प्लाटिकजन्यलाई रिसाइकल गर्न सकिन्छ । हामीसँग बजेट पूरै प्रयोग बनाउन सकिन्छ । सफा र सुन्दर बनाउन त सजिलो छ ।
प्रदूषणमुक्त बनाउन घोषणा कार्यान्वयनमा जोड दिइयोस्
सनोत अधिकारी
वातावरणविद्
स्थानीय तहको चुनाव पनि नजिकिइसकेको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि लिएर स्वतन्त्र उम्मेदवार जोजो चुनावी मैदानमा उत्रिनुभएको छ । सबैले आ–आफ्ना किसिमका एजेन्डाहरू लिएर चुनावमा उठ्नुभएको छ । काठमाडौं महानगरपालिका मेयरका उम्मेदवारहरूले पनि सार्वजनिक गर्नुभएको चुनावी एजेन्डाहरूमा वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने भन्ने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी एजेन्डामा वातावरणीय पक्ष पनि प्राथमिकता दिएर उठाउनु एकदमै राम्रो कुरा हो । चुनावी एजेन्डामा वातावरणीय पक्षले प्राथमिकता पाएर मात्रै भएन मुख्य समस्या कार्यान्वयनको कमी हो । चुनावी एजेन्डा मात्रै बन्ने तर जितेपछि कार्यान्वयन नभएका उदारणहरू पनि विगतमा देख्यौं ।
तथ्यहरूले देखाइरहेको छ कि नेपालमा वातावरणीय प्रदूषण बढिरहेको छ । त्यसमाथि काठमाडौंको वायु प्रदूषण अझै बढी छ । वायु प्रदूषण न्यूनीकरण गर्ने एउटै निकाय भन्ने छैन । दायित्व विभिन्न निकायको छ । वातावरण विभाग छ । उसले अनुगमन गर्ने काम मात्रै गरिरहेको छ । धेरै निकायहरूबीच समन्वयको अभाव पनि देखिन्छ ।
प्रदूषण न्यूनीकरण काठमाडौं महानगरपालिकाले मात्रै भन्दा पनि विभन्न संघसंस्थासँग मिलेर काम गर्नुपर्ने देखिन्छ । वायु प्रदूषण नियन्त्रण गर्ने सन्दर्भमा कुरा गर्दा केही हदसम्म महानगरपालिकाको दायित्वभित्र रहन्छ । विभिन्न संघसंस्थाहरूको दायित्व तोकिएको छ, तर उनीहरूले मेरो दायित्व यो हो भनेर आत्माबोध गर्नुभएको छैन । मुख्य समस्या यही हो ।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ छ । यसले पनि २० भन्दा बढी निकायहरूको दायित्व हो, काठमाडौंको वायु प्रदूषण न्यूनीकरण गर्ने भनेर तोकेको छ । तर, कसैले पनि काठमाडौंको वायु प्रदूषणको समस्या समाधान गर्नका लागि आफ्नो पनि दायित्व हो भनेर बोध गरेका छैनन् ।
काठमाडौं, भक्तपुर, ललितुरमा पर्ने महानरपालिका, नगरपालिकाले संयुक्त रूपमा वायु प्रदूषण न्यूनीकरणका काम गर्न सक्यो भने प्रभावकारी हुन सक्छ । असम्भव छैन । कुहिने फाहोरलाई मल बनाउने र नकुहिने फोहोर उठाउने गर्नुपर्छ । यसो गर्दा पनि फोहोर व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुन सक्छ । फोहोरबाट नै ऊर्जा उत्पादन गर्न सकिन्छ । कुनै पनि सहरको फोहोरलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिरहेको छैन ।
राजनीतिक प्रतिबद्धता हेर्दा मुख्य मुद्दामा वातावरणीय पक्ष समावेश गराएका छन् । राम्रो हो तर कार्यान्वयनको हिसाबले भने चुनौती नै छ । यसका लागि सबैको सहकार्य जरुरी छ । महानरपालिकामा प्राविधिक क्षमता भएका जनशक्तिको अभाव छ । चुनावी घोषणामा प्राथमितामा वातावरणीय मुद्दा आउने तर कार्यान्वयनमा भने समस्या देखिएको छ नि त । कार्यान्वयनको पक्षलाई पनि प्राथमिकता दिनुपर्छ ।
खोलानालाहरूमा समस्या छ । प्रदूषण छ । काठमाडौंमा पार्कहरू छैन । खुला ठाउँ नै छैन । खाली जग्गालाई गार्डेनहरू बनाएर अगाडि बढ्नुपर्छ । फोहोर व्यवस्थापन पक्षलाई ख्याल गर्नुपर्छ । फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइटको दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ । बन्चरे डाँडा बन्दै छ भनेर बस्ने हो भने आगामी २० वर्षको फोहोर व्यवस्थापन कहाँ गर्ने त ? यसकारण काठमाडौं महानरपालिकाका लागि जो निवार्चित भएर आउनुहुन्छ, योजना कार्यान्वयनमा जोड दिनुहुनेछ भन्ने विश्वास छ ।