अब सशक्त सिटिइभिटी «

अब सशक्त सिटिइभिटी

आम मानिसलाई प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा साधारण शिक्षा पढ्न नसक्नेहरूका लागि अन्तिम विकल्प प्राविधिक शिक्षा हो भन्ने मान्यता बढ्दै गएको पाइन्छ । यसले गर्दा दुर्गम तथा ग्रामीण क्षेत्रका सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने रोजमुखी प्रााविधिक शिक्षा ओझेलमा पर्दै गएको छ ।
हिजो आज साधारण शिक्षामा राम्रो ग्रेड ल्याउन नसक्नेका लागि विकल्पको रूपमा प्राविधिक शिक्षा हो भन्ने मानसिकता विकास भएको छ । तोकिएको ग्रेड नआए प्राविधिक शिक्षा छँदै छ नि भन्ने सरकार, अभिभावक र आममानिसको सोचले प्राविधिक शिक्षाप्रतिको उपेक्षा रहेको बुभ्mन सकिन्छ । एसइईको परीक्षामा कम ग्रेड आए प्राविधिक शिक्षा पढ्न सकिन्छ भनेर तोकेर नै भन्ने गरिन्छ “कम ग्रेड आए प्राविधिक शिक्षा पढ्ने ।”
यसले गर्दा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाले आफ्नो महत्व देखाउने मौका पाएको छैन । प्राविधिक शिक्षाको महत्व आम मानिसले मात्र होइन उच्च तहमा रहेका नेता, मन्त्री र कर्मचारीले बुझ्न सकेका छैनन् । केही वर्ष अघि उच्च तहबाट नै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई खारेज गर्नु पर्छ भन्ने आवाज उठेको थियो । नेपालको साधारण शिक्षामा मात्र होइन प्राविधिक शिक्षा पनि ठोस नीतिगत निर्णयको अभावमा चलिरहेको छ ।

प्राविधिक शिक्षामा रोजगार उच्च
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच र गुणस्तर सुधारमा सरकारले काम गरे पनि नगरे पनि तथ्यांकले भने साधारण शिक्षाको तुलनामा प्राविधिक शिक्षामा रोजगार दर उच्च रहेको देखाएको छ । सिटिइभिटीबाट उत्पादित जनशक्तिको रोजगारीको दरलाई हेर्ने हो भने इन्जिनियरिङ, स्वास्थ्य र कृषि क्षेत्रमा फरक फरक रहे पनि ७३ प्रतिशतभन्दा उच्च रहेको छ । सो संस्थाबाट उत्पादित जनशक्ति मध्ये इन्जिनियरिङ क्षेत्रमा ८२, कृषि क्षेत्रमा ७४ र स्वास्थ्य क्षेत्रमा ७३ प्रतिशत रहेको छ । हालसम्म सिटिइभिटीले डिप्लोमा तहमा ४३ हजार ७९६, प्राविधिक एसइई तहमा १ लाख ६४ हजार ५२३, सीप परीक्षण २ लाख ९२ हजार २४३, प्रशिक्षक प्रशिक्षण २७ हजार र व्यावसायिक तालिमबाट लाभान्वित ३ लाख जनशक्ति उत्पादन गरिसकेको छ ।
शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका अष्ट्रेलिया, जापान र अमेरिकाले पनि साधारण शिक्षालाई जति मान्यता र समकक्षता दिएका छन् । नेपालमा भने लगानी, विकास र विस्तारका हिसाबले प्राविधिक शिक्षालाई त्यति ध्यान दिएको पाइँदैन । यसमा सरकारले गर्ने लगानीलाई उदाहरणको रूपमा लिन सकिन्छ । साधारण शिक्षाका लागि सरकारले शिक्षा क्षेत्रको सम्पूर्ण बजेटको ३७ प्रतिशत लगानी गरे पनि प्राविधिक शिक्षामा भने ५ प्रतिशत मात्र गरेको छ । विद्यार्थीको संख्या साधारण शिक्षामा धेरै भएकाले लगानी धेरै हुनु स्वाभाविक भए पनि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढाउने नीतिसहित लगानी गरेको देखिंदैन । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पनि नेपालको प्राविधिक शिक्षाको पहुँच र गुणस्तर विस्तार गर्न जिम्मेवार भएर लाग्न सकेको छैन । सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी गरेको भए पनि सरोकारवालाले सिटिइभिटीको क्षमतामा प्रश्न गर्ने गरेका छन् । सिटिइभिटीको पाठ्यक्रममा खोट लगाउने ठाउँ नभए पनि व्यवस्थापकीय कमजोरी धेरै रहेको सरोकारवालाको भनाइ छ ।

सुधारका लागि सुझाव लिंदै सिटिइभिटी

सिटिइभिटीले नयाँ संघीय संरचना अनुसार प्राविधिक शिक्षालाई लैजान योजना बनाइरहेको जनाएको छ । सिटिइभिटीले देश संघीय संरचनामा गएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई समेत ७ वटै प्रदेशमा प्रभावकारी रूपमा लैजाने जनाएको छ । यसका लागि अधिकारसम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमुना प्राविधिक शिक्षालय स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । सिटिइभिटीले हालै आयोजना गरेको संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जिषयक अन्तक्र्रिया कार्यक्रममा सदस्य सचिव पुष्परमण वाग्लेले सिटिइभिटीले प्रत्येक प्रदेशमा एउटा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गरी परिषद्ले प्रदान गर्ने सम्पूर्ण कार्यक्रम त्यहींबाट संचालन गर्ने जनाएका छन् । सिटिइभिटीले संचालन गर्ने कार्यक्रमहरूको गुणस्तर अभिवृद्घि गर्ने बताउँदै अनुगमन तथा मूल्यांकन प्रणालीलाई व्यावहारिक र पारदर्शी बनाउने भएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यापकता दिन सिटिइभिटीले विज्ञको सुझावसहित आयोजना गरेका अन्तक्र्रियामा प्रा.डा.सुरेशराज शर्माले अबको समय युवा सशक्तीकरणको भएको बताउँदै सिटिइभिटीले क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने बताए । अहिले सिटिइभिटीसँग दाता त्यति खुसी नरहेकाले सेवा प्रवाह र परिणाममा ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् । नेपाललाई प्राविधिक जनशक्ति कति खाँचो छ ? पाँच वर्षमा कति चाहिन्छ ? दश वर्षमा कति चाहिन्छ त्यसको तथ्यांक खोज्नु जरुरी रहेको उनको भनाइ छ । सिटिइभिटीलाई उद्योगसित जोड्दै त्यसका लागि सोही अनुसारको पाठ्यक्रम बनाउनुपर्ने विज्ञको सुझाव रहेको छ । शर्माले युवालाई डिग्रीमात्र दिएर सशक्तीकरण नहुने बताउँदै सीप र दक्षता दिएपछि शतप्रतिशत ज्ञान हासिल पश्चात् मात्र प्रमाणपत्र दिइनु पर्ने बताए । सिटिइभिटीले उत्पादन गरेको जनशक्तिलाई रोजगारी दिने निकायसँग समन्वय हुनु अति आवश्यक रहेको विज्ञको भनाइ छ । “यस्ता विषयलाई कसैले पनि महत्व दिएका छैनन्,” उनले भने ।
विज्ञ देवीप्रसाद दाहालले सिटिइभिटीको सीप परीक्षण एसियामै पहिलो भएको बताउँदै गुणस्तरलाई कायम गरेर छाता ऐन बनाई सिटिइभिटीले गरेको काम थप राम्रो बनाउनु पर्ने र सिटिइभिटीले प्राविधिक शिक्षाको नेतृत्व लिनुपर्ने सुझाएका छन् । कार्यक्रममा प्रा.सरोज देवकोटाले पछिल्लो समय सिटिइभिटीलाई कमजोर बनाउने काम भइरहेको बताउँदै युवालाई स्वदेशमै सीप र तालिम दिन तथा रोजगारी सिर्जना गर्न जरुरी रहेको बताए । युवाहरू अहिले प्राविधिक शिक्षाको खोजीमा रहेको बताउँदै मुलुकको सोचाइ र युवाको आवश्यकतामा समन्वय गर्नु पर्ने र उनीहरूलाई तालिम दिएर रोजगारीमा लैजान जरुरी रहेको उनले सुझाव दिएका छन् । सिटिइभिटीले अब आवश्यकता पहिचान र म्यापिङ गरेर जानु पर्नेमा जोड दिंदै जडिबुटीका क्षेत्रमा समेत अध्ययन अध्यापन विस्तार गर्नुपर्ने देखिएको छ । उपाध्यक्ष कुलबहाुदर बस्नेतले अन्तक्र्रियामा सिटिइभिटीको विगत, वर्तमान र भावी दिशाबारे छलफल भएको बताउँदै अब नेपालमा प्राविधिक र व्यावसायिक शिक्षाका निम्ति लाइन मिनिस्ट्री गठन गर्ने, उच्च स्तरीय समिति गठन गर्ने वा प्रविधिक तथा व्यावसायीक शिक्षा भन्ने स्वतन्त्र निकाय राख्ने हो भने यकिन गर्नु आवश्यक रहेको बताए । डा.हरि प्रधानले सिटिइभिटीले प्रविधिका क्षेत्रमा विदेशी मान्छे ल्याउन पर्ने अवस्था निस्तेज पारेको बताउँदै टीआइटीआई चाहिं सिटिइभिटीभन्दा बाहिरिनु राख्नुपर्ने र कृषि, वन, फिसरी, जडिबुटी क्षेत्रमा जोड दिनुपर्ने सुझाव दिए । सिटिइभिटीका उपनिर्देशक प्रमोदभक्त आचार्यले परिषद्ले संचालन गर्दै गरेका कार्यक्रमहरू तथा यसका गतिविधिहरूका बारेमा जानकारी गराउँदै कार्यक्रम संचालन गर्दा देखिएका समस्या, चुनौतीहरूको बारेमा छलफल गर्ने तथा समाधानका उपायहरू खोजी गरी कार्य दिशा निर्धारण गर्ने बताए । आचार्यले पूर्वउपाध्यक्ष, सदस्य सचिव, विभिन्न महाशाखाका निर्देशक, कर्मचारी संघ संगठनका अध्यक्ष तथा उपनिर्देशक लगायतले सिटिइभिटीको आवश्यकता, विकास र विस्तार तथा समस्या, चुनौती र समाधानका उपायबारे सुझाव दिएको जानकारी दिए ।

यस्ता छन् विज्ञको सुझाव

प्रा.डा.टंकनाथ शर्मा
काम गरेर रोजगारी पाउनु पर्ने वर्गलाई सिटिइभिटीको महत्व रहेको छ । यसको विस्तार गर्दा विपन्न वर्गलाई सोच्नुपर्ने र हुनेखाने वर्गलाई मात्र लक्षित गर्न हुँदैन । हौवाको भरमा सिटिइभिटी नचलाई बजार बुझेर विपन्नलाई सीपयुक्त तुल्याउने र गरिबी घटाउनेतर्फ सोच्नुपर्छ । राष्ट्रिय तहमा नेतृत्व सिटिइभिटीले लिनुपर्ने बताउँदै संविधानअनुसार सिटिइभिटी केन्द्रीय तहमा रहने सम्भावना छैन । केन्द्रले स्रोत जुटाउने, गुणस्तर नियन्त्रण, एसेसमेन्ट गर्नुपर्ने बेला आएको छ ।
डा.दिनेशचन्द्र देवकोटा
२०४६–७४ यता उद्योग घटेका र ३५ प्रतिशत रेमिट्यान्स बढेकाले सिटिइभिटी ऐन, २०४५ लाई समीक्षा गर्ने बेला आएको छ । अब भौतिक निर्माणमा अल्झिन नहुने र त्यो खर्चले जनशक्ति उत्पादनका कार्यक्रम चलाउनु पर्ने बेला आएको छ । छरिएर रहेका संस्थाका काममा दोहोरोपन छ । आधारभूत, मध्यम र उच्चस्तरका जनशक्ति उत्पादनमा सिटिइभिटीमात्र होइन राज्य नै कमजोर भएको छ । सीपलाई उत्पादनसँग जोड्न सिटीइभिटी क्षेत्रको रिइन्जिनियरिङ गर्न जरुरी छ ।
डा.उषा भण्डारी
सिटिइभिटीले सुधार योजना तयार गर्न जरुरी रहेको छ । त्यस्तै संघीयता अनुसार जनशक्ति मिलान गर्न जरुरी छ । प्राविधिक शिक्षाप्रति जनचेतना बढाउनै पर्छ र सर्वसाधारण गरिबले मात्र पढ्ने क्षेत्र हो भन्ने बुझाइ हटाउनु जरुरी छ ।

डा.जय बहादुर टण्डन
सिटिइभिटीको नाममा मागी खाने काम भएको छ । यो शिक्षाको मूलधारमा आउन सकेकोे छैन । नेपालमा यसको माग रहेकाले बिस्तारै यसलाई शिक्षाको मूलधारमा ल्याइनु पर्छ । हामीले जनशक्ति उत्पादनमा लगानी गर्न सकेका छैनौं । सिटिइभिटीले मानव स्रोत उत्पादनमा जोड दिनु पर्छ । शतप्रतिशत पास गराउने सीप दक्षता दिलाउनु जरुरी छ । उत्तीर्ण दर बढाउन जरुरी छ । बदलिंदो परिवेशमा नगरपालिकाका मेयर र गाउँपालिका अध्यक्षहरूसहित कार्यशाला र नीतिगत तहमा समेत अन्तक्र्रिया हुनुपछ, नत्र सुचारु हुन समस्या हुन सक्छ ।
भक्सपप
डा. गीताभक्त जोशी
सदस्य
राष्ट्रिय योजना आयोग

प्राविधिक तथा व्यावसायिक शिक्षामा आमूल परिवर्तनको आवाज उठिरहेका बेलामा सिटिइभिटीलाई कसरी समायोजन गर्ने भन्ने चुनौती रहेको छ । वार्षिक ५ लाख युवा श्रम बजारमा आउने गरे पनि अहिले १ लाख १४ हजारलाई मात्र तालिम दिन सकिएको छ । विशेष गरी आधारभूत र मध्यम जनशक्ति हाम्रो आवश्यकता हो । अब ७ प्रदेशमा सात वटा मोडेल पोलिटेक्निक बनाउने नीति र बजेटमा व्यवस्था रहेको छ । सातै प्रदेशमा नयाँ संस्था बनाउने भन्दा पनि भएकालाई छनौट गरी सुधार गर्नुपर्छ । सीप दिनका लागि राम्रो योजना निर्माण हुनुपर्छ । यसका लागि शिक्षा मन्त्रालय, योजना आयोग र अर्थ लगायत अरू मन्त्रालयसँग सिटिइभिटीको नेतृत्वले लबिङ गर्नु पर्ने बेला आएको छ । सिटिइभिटीले जनमानसमा छवि सुधार्नु पर्ने बेला आएको छ । सिटिइभिटीमा विकृति छन् । सिटिइभिटी पछाडि फर्किनुमा कारण छ । सिटिइभिटीको इमेज बिग्रिनुमा सम्बन्धनको विकृति हो । यसको जनमानसमा इमेज राम्रो छैन । कसले, कसरी गर्ने हो सुधार्ने दायित्व हाम्रो नै हो । अहिलेको सिटिइभिटी व्यवस्थापनले यो काम गर्नै पर्छ नत्र सिटिइभिटी अगाडि बढ्न सक्दैन । कसैलाई आरोप लगाएको होइन, यो सबैको सम्पत्ति हो ।

 

 

प्रतिक्रिया दिनुहोस्