घरमा राजनीतिक झन्डा नराखिने «

घरमा राजनीतिक झन्डा नराखिने

गुल्मीमा सबै राजनीतिक दलहरूको सहमतिमा झण्डा नराखिने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा राजनीतिक दलहरूको सहमतिमा झन्डा नराखिने भएको हो ।

घरघरमा राजनीतिक झन्डा नराख्ने सहमति भएको नेकपा एमालेका कृष्ण घिमिरेले जानकारी दिए । “निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्नको लागि हामीले निर्णय गरेर घरमा कुनै पार्टीका झण्डा नराख्ने भएका हौं ।” एमाले नेता घिमिरे भने, “गाउँघरमा हुने झै–झगडाको अन्त्य हुने संकल्पमा साथ सर्वदलीय सहमति ग-यौं ।” राजनीतिक पार्टीका चुनावी सभामा झण्डा भएपनि ब्यक्तिगत घरमा कुनै पार्टीका भन्डा नहुने उनको प्रतिबद्धता छ । नेपाली कांग्रेसका रबिन्द्र घिमिरे र नेकपा माओवादी केन्द्रका राजन घिमिरेले पनि झण्डा नराख्ने गरेर सहमति भएको बताए । जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा राजनीतिक पार्टीका प्रतिनिधिहरूले आफूहरूबीच भएको सहमति बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले धुर्कोट गाउँपालिकामा भएको सर्वदलीय निर्णयको खुलेर प्रशंसा गरे । “राजनीतिक पार्टीले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्नको लागि एकताबद्ध भएकोमा धन्यवाद दिन चाहन्छु ।” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “गुल्मीका अन्य स्थानीय तहले धुर्कोटबाट राजनीतिक संस्कार सिक्नुपर्छ ।” स्थानीय निर्वाचन अधिकृतको कार्यालय र मतगणना स्थलहरूको अनुगमन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलले सबै तवरबाट सुरक्षाको प्रवन्ध मिलाइएको बताए ।

ढुक्कसँग निर्वाचनमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कम्तीमा मतदान केन्द्रबाट मतगणना स्थलसम्मको सडकलाई मर्मतसमेत गर्न आग्रह गरे । मतगणना स्थललाई पारदर्शी बनाएर विवादरहित निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राजनीतिक दललाई सहयोग गर्न अनुरोध गरेका थिए ।

जिल्लामा १५ मतदान स्थल अति संवेदनशील रहेका छन् । त्यस्तै ४१ वटा मतदान स्थलहरू संवेदनशील र ८६ वटा मतदान स्थलहरू सामान्य रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । कुल १ सय ४२ मतदान स्थल छन् । जिल्लामा मतदान केन्द्र २ सय ७९ रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा कुल २ लाख २४ हजार २ सय ७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला १ लाख १४ हजार २ सय ५१ र पुरुष १ लाख १० हजार ५९ रहेका छन् । जिल्लामा २ जना अन्य मतदाता रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्