शून्य कार्बन उत्सर्जन गराउने यती एयरलाइन्सको योजना

यती एयरलाइन्सले अब शून्य कार्वन उत्सर्जन गराउने योजना सार्वजनिक गरेको छ । कम इन्धन खपत हुने हवाईमार्गसँगै वायुयान थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायुयानमा प्रयोग हुने सामानको भार घटाउँदै एयरलाइन्सले शून्य कार्वन उत्सर्जन गराउन लागेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रारम्भिक तथ्यांकअनुसार सन् २०१७ मा यती एयरलाइन्सले १८ हजार १ सय ३३ टन कार्बन उत्सर्जन गरेको छ । यसको मुख्य स्रोत एयरलाइन्सको वायुयानले प्रयोग गर्ने ईन्धन नै हो । माथि उल्लेख भएको उत्सर्जनको मात्रा करिब ४ लाख ७० हजार रूख बिरुवाले १० वर्षसम्म सिञ्चित गर्ने कार्बन बराबर हुनेछ । अध्ययनले यतीको नयाँ वायुयान थपसँगै गत वर्षभन्दा सन् २०१७ मा प्रतियात्रु ७ प्रतिशत र प्रतिकिमी ११ प्रतिशत कार्बन उत्सर्जन घटेको छ ।
ती एयरलाइन्सले कार्बन तटस्थ एयरलाइन्सका रूपमा आफूलाई रूपान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज र निजी क्षेत्रका संघ–संस्थाको उपस्थितिमा भएको कार्यक्रममा यती एयरलाइन्सले विगत एक वर्षमा हरित गृह ग्यास उत्सर्जन गरेको प्रतिवेदन पेश गर्नुका साथै न्यूनकार्बन उत्सर्जन र कार्बन अफसेटका योजना प्रस्तुत गरेको थियो । नेपालको उड्डयन क्षेत्रमा गरेको यस किसिमको पहिलो अभ्यासले हवाईयात्रा, सवारी साधन र वायुसेवासँग सम्बन्धित सञ्चालनबाट उत्सर्जन हुने हरित गृह ग्यासको अध्ययन गरेको थियो ।
यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले प्राधिकरण र यूएनडीपीको सहयोगमा यती एयरलाइन्स कार्बन तटस्थताको दिशामा अघि बढ्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए । “यस्तो अभ्यास नेपालमा पहिलो भएको हो, न्यून कार्बन पथमा अघि बढेको आफ्नो यात्रामा सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको छु,” उनले भने ।
प्रमुख कार्यकारी अधिकृत राईका अनुसार यतीले भविष्यमा न्यून कार्बन उत्सर्जन गर्नका लागि कम इन्धन खपत हुने हवाइमार्गसँगै वायुयानमा थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायुयानमा प्रयोग हुने सामानको भार घटाउनेमा जोड दिनेछ । साथै कम गर्न नसकिने कार्बन उत्सर्जनलाई संयुक्त राष्ट्रसंघीय मान्यता प्राप्त जलवायु परिवर्तनसम्बन्धी न्यूनीकरण र दिगो विकासका कार्यक्रमबाट कार्बन क्रेडिट खरिद गरेर कार्बन अफसेट गर्ने र २०१८ भित्र कार्बन तटस्थ कम्पनीमा रूपान्तरण हुने लक्ष्य लिएको बताए ।
यूएनडीपीका प्रमुख रेनोड मेयरले यती एयरलाइन्सले आफूलाई जलवायु तटस्थ संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धतालाई स्वागत गर्दै यस्तो कामले अन्य कम्पनीलाई पनि दिगो विकासका लक्ष्य प्राप्त गर्ने दिशामा उन्मूख गराउने बताए । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले यतीको यस कार्यले उड्डयन क्षेत्रलाई वातावरणमैत्री बनाउने तथा हरित गृह ग्यास कम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धतामा ठोस योगदान पुराउने बताए ।