चित्रसेनले ल्याइन् आरक्षमा खुसीयाली

पर्सा राष्ट्रिय निकुञ्ज अमलेखगन्ज हात्तिसारका कर्मचारीहरू शनिबार बिहानैदेखि सुत्केरीको स्याहार सुसार र आहार जुटाउनमा व्यस्त भएका छन् । चित्रकलसेनीले शनिबार बिहान पोथी छावाको जन्म दिएपछि आमा र छावीको स्याहार–सुसारमा व्यस्त भएका हुन् ।
यतिबेला पर्सा राष्ट्रिय निकुन्ज अमलेखगन्ज हात्तिसारमा मेला लागे जस्तै भएको छ । हात्तीसार वरपरका स्थानीयहरू छावा हेर्न दौडधुप गरिरहेका छन् । उत्साह सँगसँगै व्यस्तता पनि थपिएकोले कर्मचारीहरूले कामको बाँडफाँट गरी कोही खिर पकाउँदै छन् त भने कोहीले उखु, केरा र पोषिलो घाँसको खोजिमा जुटेका छन् । खुशियालीसँगै दरोगा जलेन्द्र प्रसाद चौधरीलाई भने आमा छोरीको सरसफाइसँगै बच्चालाई आमाको दूध चुसाउन व्यस्त छन् अहिले । उनीमात्र होइन, उनका समूहका पछुवा र माहुतहरू पनि सँगसँगै लागि परेका छन् ।
गत विक्रम् सम्वत् २०४१ सलमा स्थापना भएको यो हात्तीसारमा यसअघि भवानीकलीले २०५६ सालमा मृत भाले बच्चा जन्माएकी थिइन् । त्यस पछि १२ वर्षिय कान्छी ढोई चित्रसेनकलीले स्वस्थ्य पोथी छावाको जन्मले निकुञ्जमा नयाँ खुसी थपिएको पर्सा वन्यजन्तु निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । चित्रसेनकली गर्भवती भएको २२ महिना पूरा भई २३ महिना लागेपछि सुत्केरी भएको पनि उनले बताए ।
२४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुँन सक्ने भनी यसअघि चिकित्सकले बताएका थिए । बच्चा जन्माउने व्यथा लागेपछि आमाले हात खुट्टा चलाएर छावालाई मार्न पनि सक्ने सम्भावना भएकाले उनीहरू हात्तीको नजिकै टेण्ट टाँगेर निगरानीमा थिए । पर्सा राष्ट्रिय निकुञ्ज हात्तिसारमा कार्यरत चित्रसेनकली निकुञ्जको प्रतापपुर पोष्टमा गस्तीका लागि काजमा खटिएको बेला २÷३ दिन हराएर त्यहाँ आएको एउटा जंगली मत्ता हात्तीसँग गर्भधारण गरेको दरोगा जलेन्द्र प्रसाद चौधरीले जानकारी दिए । त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गते तिर गर्भिणी भएको अनुमान गरिएको थियो ।
हात्तिसारमा रहेका १० हात्तीमध्ये चित्रसेनकली समेत अन्य चार ढोई हात्तीमात्र वयस्क तथा प्रजनन् क्षमता भएका छन् । गर्भिणी भएको यकिन भएपछि उसलाई अन्य हात्तीका तुलनामा आहार, आराम र सेवा टहलमा विषेश हेरविचार पुराएको थियो । सामान्य तया हात्तीले गर्भधारण गरेको २० देखि २२ महिनाभित्र छावालाई जन्म दिने गरेको पाइन्छ ।