आफ्नै जग्गा फिर्ता गर्न नयाँ जनप्रतिनिधिको पर्खाइ «

आफ्नै जग्गा फिर्ता गर्न नयाँ जनप्रतिनिधिको पर्खाइ


गुल्मी -गुल्मीका स्थानीय आफ्नै जग्गा फिर्ताको लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका छन् ।
जिल्लाको मालिका गाउँपालिका–५ का स्थानीय आफ्नै निजी जग्गा गाउँपालिकाले हडेपछि फिर्ताका लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका हुन् । आफ्नो जग्गा फिर्ताका लागि सयौं पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत जग्गा फिर्ता नभएको जग्गाधनी मदन गिरिले बताए । “जग्गा फिर्ता गर्न पटकपटक निवेदसहित र सयौं पटक मौखिक रूपमा गाउँपालिकालाई अनुरोध गरेका हौं,” जग्गाधनी गिरिले भने, “अब जग्गा फिर्ता गर्नका लागि गाउँपालिकामा आउने नयाँ जनप्रतिनिधिको पर्खाइमा छौं ।” उनले यसअघि भएका जनप्रतिनिधिले राजनीतिक भेदभाव गरेकाले अब नयाँ जनप्रतिनिधि आएमा आफ्नो जग्गा फिर्ता हुने आशा ब्यक्त गरे ।
मालिका गाउँपालिकाले स्थानीय सर्वसाधारणको जग्गा आफ्नो नाममा लिएपछि जग्गाधनीलाई अलपत्र पारेको थियो । स्वास्थ्यचौकी बनाउने सम्झौतापछि स्थानीयले निःशुल्क दिएको जग्गा छाडेर अन्यत्र स्वास्थ्यचौकीको शिलान्यास गरेर जग्गाधनीलाई अलपत्र पारिएको हो । अर्का जग्गाधनी धनु गिरिका अनुसार स्थानीय, प्रदेश र केन्द्र तहका तीनै सरकार मिलेर अस्पताल बनाउने भनेपछि जग्गा अस्पतालको नाममा दिइएको हो । जग्गाधनी मुमा गिरि, धनु गिरि, इश्वर गिरि, मदन गिरि र देविराम अर्यालले कुल १२ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क दिएका थिए । सरकारको ‘एक स्थानीय तह–एक अस्पताल’ कार्यक्रम अनुसार गाउँपालिकामा अस्पताल बनाउनका लागि जग्गा दिएको जग्गाधनी गिरिले बताए । “जग्गा दान गर्दा धर्म हुने र पाप गरेको भए पनि सबै मेटिने आशासहित घरमात्रै राखेर जग्गा सबै अस्पतालको नाममा पास गरिदिएका हौं,” जग्गाधनी मुमा गिरिले भनिन्, “यस ठाउँमा अस्पताल नबन्ने र हाम्रो जग्गा अस्पतालको नाममा भएपछि हामीमाथि अन्याय भएको छ ।” उनले अब गाउँपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएमा आफ्नो जग्गा फिर्ता हुने आशा जागेको बताइन् ।
उक्त जग्गा गाउँपालिकालाई दिएको साढे दुई वर्ष पुगेको छ । २२ मंसिर २०७६ मा मालपोत कार्यालय तम्घासबाट गाउँपालिकालाई जग्गा पास गरिएको जग्गाधनी देविराम अर्यालले बताए । “अस्पताल बनाउनका लागि मालिका गाउँकार्यपालिकाले निर्णय गरेपछि ४/५ दिनसम्म सदरमुकाम तम्घास बसेर जग्गा अस्पतालको नाममा बनाइएको हो ।” मालपोतमा जग्गा पास लिन पुगेका छापहिले स्वास्थ्यचौकीका प्रमुख देवबहादुर महताराले भने, “अस्पतालको जग्गा एकातिर अस्पताल अर्कोतिर शिलान्यास भएपछि हामीसमेत दंग परेका छौं ।” उनले पनि यसअघिका जनप्रतिनिधिबाट जग्गाधनीमाथि अन्याय भएकाले नयाँ जनप्रतिनिधिले जग्गाधनीको मागको आधारमा निर्णय गर्नुपर्ने बताए ।
उक्त जग्गामा मालिका अस्पताल बनाउन ३१ साउन २०७६ मा निर्णय भएको थियो । उक्त जग्गालाई एकदमै उपयुक्त हुन्छ भन्दै अस्पताल बनाउनका लागि सिफारिस गरिएको त्यस वडाका वडाध्यक्ष श्यामलाल गिरिले बताए । तर, गाउँपालिकाले निर्णय उल्टो गरेको उनको गुनासो छ । गाउँपालिका अहिलेसम्म संघीय सरकारले अन्यत्र तोकेका कारण अस्पताल गाउँपालिकाको वडा नम्बर ४ मा शिलान्यास भएको भन्दै उम्किएको छ । मन्त्रिपरिषद्को निर्णयबाट मात्र जग्गा फिर्ता गर्न मिल्ने भन्दै गाउँपालिकाले जग्गा फिर्ताको लागि चासो नदेखाएको हो ।
सत्तारुढ गठबन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षका लागि साझा उमेदवार नेकपा माओवादी केन्द्रका देविराम अर्यालले जग्गाधनीको आवश्यकता अनुसार सहजीकरण गर्ने बताए । “हामी जनचाहना अनुरुप काम गर्नका लागि चुनावी मैदानमा छौं,” गाउँपालिका अध्यक्षका उमेदवार अर्यालले भने, “जग्गाधनीले फिर्ता चाहेमा फिर्ता, अन्य उद्योगहरू स्थापना गर्न चाहेमा उद्योग स्थापना हुनेमा ढुक्क हुन आग्रह गर्दछु ।” आफूसहित गठबन्धनका साझा उमेदवारहरूको जित सुनिश्चित भएको भन्दै अर्यालले अघिल्लो पटकका जनप्रतिनिधिले जस्तो अन्याय कसैमाथि नहुने बताए । नेकपा एमालेको तर्फबाट अहिले निवर्तमान गाउँपालिका अध्यक्ष रितबहादुर थापा नै चुनावी मैदानमा होमिएका छन् ।

फिर्ता चाहेको जग्गासहित जग्गाधनीहरूको घर ।

प्रतिक्रिया दिनुहोस्