सेनाद्वारा चिनो स्वरुप विद्यालयमा शौचालय निर्माण

जुम्ला-जुल्लाको गुठिचौर गाँउपालिका—४ स्थित सत्यवादी माध्यमिक विद्यालय दशौंदीलाई नेपाली सेनाले उपहार स्वरुप शौचालय दिएको छ । अपांग र बालमैत्री दृष्टिकोणले यो शौचालय गाउँपालिकाकै नमुना शौचालय हो । भगवती दल गण जुम्लाको आन्तरिक सहयोगमा विद्यालय प्रांगणमा निर्माण सम्पन्न उक्त दुई कोठे शौचालयको मंगलबार चाबी हस्तान्तरण गरीा उद्घाटनसमेत गरिएको छ । भगवती दल गण जुम्लाका नेपाली सेनाले विद्यालयमा चिनो स्वरुप शौचालय बनाएका हुन् ।
आफूलाई शौचालय उपहार दिएकोमा खुसी ब्यक्त गर्दै विद्यालयले भगवती दल गणलाई सम्मान गरेको छ । नवनिर्मित छात्र-छात्रा शौचालयमा हिलट्यांकीसहित खानेपानी धाराको ब्यवस्था छ भने सेनाकै सहयोगमा दुई कोठे पुरानो शौचालयसमेत मर्मत गरी जस्तापाता फेरिएको छ । शौचालय बनाउँदा काठ, ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, टायललगायत सामग्री तथा ज्यामी गण आफैले ब्यवस्थापन गरेको हो ।
नेपाली सेनाको लगभग ८ लाख बराबराबरको लागतमा शौचालय निर्माण भएको विव्यस अध्यक्ष राजबहादुर अधिकारीले बताए । उनका अनुसार विद्यालयले अपेक्षा नै नगरेको नमुना मैत्रीपूर्ण शौचालय बन्यो, विद्यालय परिवार भगवती दल गणप्रति सधै ऋणि रहने उनले बताए ।
भगवतीदल गणका गणपति तथा प्रमुख सेनानी मदनजंग कार्कीले शौचालयको चाबी हस्तान्तरण गर्दै सेनाले दिएको उपहारलाई दिगो संरक्षण गर्न विद्यालयलाई अनुरोध गरे । उनका अनुसार सेनाले जनहित कार्यअन्तर्गत विद्यालयलाई शौचालय बनाइदिएको हो । गत मंसिरदेखि सुरु भएको काम पुस, माघको वर्षा र हिमपातले समेत प्रभावित बनेको थियो ।
गुठिचौर गाँउपालिका अध्यक्ष हरिबहादुर भण्डारीले शौचालय उद्घाटन गर्दै सेनाले गाउँपालिकाले गर्न नसकेको काम गरेको बताए । “पालिकाले यही काम गर्न परे ८-१० लाख खर्च हुन्थ्यो, तर सेनाले गरेपछि हाम्रै विकासमा सहयोग पुगेको छ,” उनले भने, “शौचालय, खानेपानी तथा भौतिक संरचना अभाव भएका थुप्रै विद्यालय छन्, जहाँ गाउँपालिकाले विस्तारै समस्या समाधान गर्दै जानेछ ।” यसअघि नेपाली सेनाकै पहलमा तातोपानी गाउँपालिका–४ मा नमुना विद्यालयसमेत निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो ।