वन व्यवस्थापनमा स्थानीयको क्षमता विकास गर्न आवश्यक

वन व्यवस्थापनमा स्थानीयको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन व्यवस्थापनमा स्थानीय तहको क्षमता कमीका कारण प्रभावकारी नतिजा आउन नसक्ने भन्दै सरोकारवालाले स्थानीयको क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् ।
प्राविधिक दक्षताको अभावमा स्थानीय निकायले वन व्यवस्थापन कार्य प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भन्दै वन व्यवस्थापनमा स्थानीय तहको क्षमता विकासमा जोड गरिएको हो । वन तथा वातावरण मन्त्रालयले वनको दिगो व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्डको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा रहेको बताइरहँदा सरोकारवालाले स्थानीयको क्षमता वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकारलाई घच्घचाएका हुन् ।
नेपाल वन प्राविधिक संघका अध्यक्ष डा. किरण पौडेलले वन व्यवस्थापनका लागि स्थानीय निकायलाई सक्षम बनाउने नीति लिनुपर्ने बताए । वन व्यवस्थापनको काममा भएको ढिलाइले वन विकासमा समेत असर पुगेको भन्दै मापदण्डलाई स्वीकृत गरेर कार्यविधि बनाउन ढिलाइ गर्न नहुने उनले सुझाव दिए ।
फेकोफनकी अध्यक्ष भारती पाठकले मापदण्ड बन्दै गरेको कुरा तल्लो तहलाई पनि जानकारी हुँदै उनीहरूलाई वन व्यवस्थापनका लागि सबल बनाउन आवश्यक रहेको बताएकी छन् । “यदि स्थानीय तहमा मापदण्ड बन्दै गरेको कुरा थाहा भएन भने कसरी उनीहरूको आवाजलाई यो मापदण्डले सम्बोधन गर्न सक्छ र ? यसकारण उनीहरूलाई सूसुचित गराउनु जरुरी छ र सबै सरोकारवालाको आवाजलाई सम्बोधन गरियोस्,” उनले भनिन्, “स्थानीय तहलाई प्राविधिक ज्ञान छैन, यसकारण उनीहरूको क्षमता विकास गर्न आवश्यक छ ।”
मापदण्डले वनबाट मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्य लिइएको बताउँछन् वन तथा वातावरण मन्त्रालयका सहसचिव शिव वाग्ले । उनले स्थानीय तहको क्षमता अभिवृद्धि गरिने र उनीहरूलाई वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने बताए । मापदण्डले वन पैदावार आपूर्तिमा समेत सहज व्यवस्थापन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । “दिगो वन व्यवस्थापनको मापदण्ड ल्याउन ढिलाइ भइरहेको छ भन्ने गुनासा पनि आएका छन्, तर वन नियमावली नआई मापदण्ड ल्याउन सकिँदैन, अब मस्यौदा तयार भइसकेको छ र कानुन मन्त्रालयमा पुगेको छ,” उनले भने, “मापदण्ड आइसकेपछि अन्योलमा रहेको वन व्यवस्थापनको समस्या हट्ने छ ।”
सरोकारवालाले जंगलमा बन्द भएका काठ खुला गर्न मापदण्ड चाँडो आउनुपर्ने माग गरेका छन् ।