Logo

स्थानीय चुनाव, वितृष्णा र स्वार्थको भाष्य

वर्तमान चुनावी शैलीले नै स्वार्थको बीजारोपण गरेको प्रतीत हुन थाल्दा सचेत जनतामा वैकल्पिक शक्तिप्रतिको चाख तीव्र रूपमा बढेकै हो ।


चुनावले विगत र वर्तमानसँग आगतसँग गाँस्न सुझाउँदै छ । चुनावी परिणामलाई लगाइने अनुमानमध्ये काठमाडौँको लडाइँ निकै नै रोचक हुने देखिन्छ । जनतामा बढेको राजनीतिक वितृष्णा र सिद्धान्त बिर्सने दलीय शैलीलाई नियाल्दा भरतपुर पनि चर्चामा चुलिएको छ । यद्यपि यसअघि काठमाडौँ महानगरमा रञ्जु दर्शनालगायतका साझा पार्टीका उम्मेदवारका कारण ठूला दलको नतिजामा निकै ठूलो प्रभाव पा-यो । यसपटक स्वतन्त्र उम्मेदवार बालेनको नाम उस्तै रूपमा आएको छ । फलतः युवाको जमातलाई पक्कै पनि प्रभाव पार्ने देखिन्छ नै ।
गठबन्धनलाई अस्वीकार गर्ने, नयाँपन खोज्ने, विशेषतः कलाकारितामा समर्पित युवा वर्ग, वैज्ञानिक प्रविधिप्रति आकृष्ट वर्ग अनि अझ राजनीतिक वितृष्णाले ‘नो भोट’ को अपेक्षा गर्नेहरूले बालेनलाई रोज्न सक्ने अनुमान सहजै गर्न सकिन्छ । वास्तवमा गठबन्धनका कारण ‘हाम्रोलाई भन्दा राम्रोलाई’ भन्ने सिद्धान्तचाहिँ सिद्धान्तमै अड्किएको देखिन्छ । नीतिभन्दा फरक रहेर पुरुषवादी अनुहार मैदानमा देखिनु पनि यसको अर्को कारण रह्यो । यसरी हेर्दा भोलिका दिनमा ‘तपाईंलाई हामीले जिताएको हो’ भन्दै बाँडी खाने रीतले निरन्तरता दिने भय पनि छ । विचारको बेमेल रहँदा अस्थिरता नहुनेमा पनि ढुक्क हुनै सकिन्न । चुनावमा मत हाल्न बढीमा ५ सेकेन्ड लाग्छ अनि ५ वर्षसम्म पछुताइरहने स्थिति हुन पनि सक्छ । हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनुभन्दा विवेकी बन्नु अहिलेको आवश्यकता हो । यसर्थ वर्तमान चुनावी शैलीले नै स्वार्थको बीजारोपण गरेको प्रतीत हुन थाल्दा सचेत जनतामा वैकल्पिक शक्तिप्रतिको चाख तीव्र रूपमा बढेकै हो ।

हिजोको दुरवस्था र यथार्थ
विगतको चुनावी प्रतिस्पर्धामा रहेको नेकपा एमालेभित्रको शक्ति आज तीन टुक्रामा विभाजित छ । स्वार्थको साइनो नमिलेर चोइटिएका एकीकृत माओवादी र समाजवादी पार्टीले विचार नमिले पनि नेपाली काङ्ग्रेससँग गठबन्धन गरिरहेको अवस्थामा हिजो र भोलिको दोसाँधमा मतदाता अन्योलावस्थामा छन् । नयाँपन केही नहुने अनि उही सत्ता प्राप्तिको रस्साकस्सीमा भाग मिलाइ खाने पद्धतिबाट निष्पक्ष जनतामा आशाभन्दा बढी वितृष्णा नै छ । हिजो आपसमा भएका तर्क, विवाद र द्वन्द्वसम्म पुग्दा पनि घरभित्रको कुरा घरमा नै मिलाउन नसकेर नै बाम एकता बिथोलियो । तथापि अन्तरविरोध र विभाजनको कुरा नितान्त फरक विषय हुन् । माक्र्सवादी मान्यतामा अन्तरविरोध जति सामान्य भए पनि विभाजनको परिणाम घातक बन्छ । मिलेर बढ्ने अग्रगमन र फुटेर लड्ने पतनको भाष्यभित्र झुन्ड–झुन्डमा विभाजित बुद्धिले नकारात्मक नतिजा दियो । यसर्थ जनतामा शिशु संविधानको दुरुपयोग गर्ने झुन्डवादी बुद्धिबाट तर्सिनु स्वाभाविकै हो ।
विभाजनले हिजोको क्रान्ति, जबजको सिद्धान्त वा आचरणको पार्टीगत विरासतलाई जोगाएको हो भन्न सकिने स्थिति छैन । आजैबाट मीठा भाषण उही अनि उसैगरी जनतामा मपाइँत्ववाद हाबी देखिए पनि जनतामा २०७४ को भन्दा केही बढी चेतना त बढेकै देखिन्छ । यति भएर पनि भुइँमान्छेलाई फसाउने र भोट किन्ने प्राचीन शैलीमा दलहरू होमिएकै देखिन्छन् । भोज सुरु भएको छ । पछि हाम्रो बेवास्ता गर्दै चाकडीबाज बन्नेहरूले अहिले हात जोर्नै कठिन अभ्यास गरिरहेकै छन् । कसैलाई सिध्याएर आफु महान् हुने मात्रै बुद्धिलाई निरुत्साहित पार्ने संयन्त्र आफैं गन्हाएको देखिन्छ । जनताको मत तान्ने विकासवादी रचनात्मक बुद्धिलाई धमिराले खाएको भान भइरहेकै छ । व्यवस्था बदलियो तर सोच र प्रवृत्ति डुङडुङती गन्हाइरहेकै छ ।
शिक्षा र सभ्यता विकासका विचारलाई घोषणापत्रमा विरलै समेटिएका छन् । समेटिए पनि महत्व वाकाङ्क्षाका पोका राखिएका छन् । यसो गर्ने र उसो गर्ने भनिरहँदा स्रोत कसरी खोजेर पूरा गर्ने भन्ने कुरा नै स्पष्ट नभएका हचुवा विचारको बाहुल्यता देखिन्छ । अनुसन्धान नगरेरै झुक्याउने घोषणापत्र सार्वजनिक हुनुले हामी कुन हैसियतमा छौँ भन्ने कुरालाई सङ्केत गरेको छ ।

संविधान र परिवर्तनको जनआकाङ्क्षा
संविधानले स्वतन्त्रताको वकालत ग-यो । जनताको सन्ततिले जनतालाई शासन गर्ने सुव्यवस्था कायम ग-यो तर भ्रष्टाचारी शैलीलाई नवीन शैलीले पुस्तान्तरण गरिरहेकै छ । चाकडी, चाप्लुसी र हजु-याइँका कारण चुनावमा टिकट पाउने कि क्षमताका आधारमा पाउने भन्ने समस्याले गाँज्यो । आखिर शासनसत्तागत पद्धतिले जनतामा स्वतन्त्रता त दियो तर सुव्यवस्था दिएन । सुपात्र र सुशासन दिएन । विडम्बना, मुलुकले पाएको परिवर्तनको अर्थव्यवस्थाको नाम हो, तर व्यवस्थापन पक्षले चाहिँ सधैँ सत्तास्वार्थको गाईजात्रा देखाइरहेकै छ । एउटै मान्छे पटक–पटक सत्तामा पुगिरहेका हुन्छन् । पञ्चायतकालीन व्यवस्थादेखि नै उही व्यक्ति मुलुकका निर्णायक बन्छन् । घुमेर नेतृत्व गरिरहन्छन् । यसर्थ अहिलेको राजनीतिक बहस न वैचारिक धारमा केन्द्रित छ, न त नीतिगत लक्ष्यमुखी नै । यो केवल शक्ति सम्पन्नताका खातिर चलिरहेको खेल मात्रै हो । यस अन्तर्यको अभ्यास हिजो २००७ सालबाटै भइरहेको हो र आज पनि बदलिन सकेन ।
पाठ सिक्ने नै हो भने तत्कालीन माओवादीको विचार र भाषण अनि प्रतिबद्धताले मूर्तता पाउन नसक्नुमा एकताको अभाव हो । एकै थालमा भात खाँदै द्वन्द्वमा होमिएका महानायकहरू नै आज आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित छन् । बुर्जुवा शिक्षा बदल्नेलगायतका वचनबद्धता पनि सधैँ शक्तिकै वरिपरि घुम्ने पद्धतिभित्र पुरानो शरीरको नयाँ कपडाजस्तो मात्रै देखियो । सत्ताकै वरिपरि घुम्ने लालसा देखिरहियो । उही आसे राजनीतिकै होड रहनुले पनि नयाँपनको आशा कहिल्यै भएन ।
भोट माग्दा जनतासँग गरिएका वाचा एकाएक पद र सत्ताको भागबण्डासँग गएर मोडिए । जनतामा झ्याङ्गिएको अन्धसमर्थन र अन्धविरोधको अर्को सङ्कीर्णताले असल नेतृत्व चयनमा समस्या उब्जिरहेकै छ । मुलुक बनाउने र समृद्धिको द्वारलाई खोलेर विश्वव्यापी प्राविधिक विकासतर्फा लम्किने मौकालाई हरेक चुनावी यात्राले समेट्न सकेन । असल मान्छेलाई सफल हुन नदिने घटिया बुद्धिको प्रभुत्व अद्यापि कायमै रहँदा सानालाई ऐन ठूलालाई चैन भइरहेकै छ । सबैभन्दा उत्तम र प्रभावकारी अवसर नै बहुमत र एकतामा हुने थियो । आखिर जुनसुकै सरकारले उठाएको भए पनि रेलमार्ग, सुरुङमार्ग, जल यातायातका ठूला खाले विकासका कुराले मुलुकमा एउटा राम्रै प्रभाव छोड्न सक्ने नै थियो । ‘उसले भनेका कुरा हामीले किन गर्ने’ भन्ने बुद्धि बोकेका नेतृत्वमा केवल ईष्र्याको कल्मष छ । यद्यपि, व्यवहार र वास्तविकताको कसीमा रहेर हेर्दा आन्तरिक टकरावले विकासतिर लाग्ने ध्यान विनासतिर बढी केन्द्रित भयो । यसको परिणाम त अहिले हामी सबैले भोगिरहेका छौँ । सरकार पनि फेरिए तर उसलाई सत्ताको मेलोको खेलोले देशले विकासका आयामलाई अपनाउन सकेन । कमाउने, रमाउने र पचाउने नातावाद, कृपावाद र हजुरियावादी नवसामन्तवादले देशको समुन्नतिको ढोका बन्द गरिदिएकै हो । अहिले शासन व्यवस्था बदल्ने लडाइँ गर्नुपरेको छैन तर सोचको लडाइँमा चाहिँ नवसामन्तवाद र विकासवादबीचको तीव्र द्वन्द्व देखिन्छ ।

जनअभिमतको सम्मानमा आशङ्का
ठूलो दल विभाजनले शक्तिको लडाइँमा तानातान बढी हुन्छ । फलतः कालान्तरमा राजनीतिक र शासकीय अस्थिरताको भाष्य गाँसिएको रहिरहन्छ । देश र जनतालाई केन्द्रमा राख्ने हो भने नेतृत्वपंक्तिले संविधानको बालापनलाई मूर्तता दिने अभीष्टमा फुट्नेभन्दा जुट्ने नीति लिने हिम्मत गर्नुपर्छ । यद्यपि लामो अन्तरविवादको परिणतिले दलको वैचारिक र नीतिगत साध्यकै खिल्ली उडाएको प्रतीत हुन्छ । आज हामी ७० वर्षअघिदेखिको यही अभ्यासमा उही प्रयोगशालाभित्र मुकदर्शक छौँ । यो झिनाझपटी र स्वार्थलिप्साको जाँतोभित्र हामी पिसिइरहेका मात्रै हौँ । गाली र तालीबाहेक सिर्जनात्मक, रचनात्मक शैलीमा विश्लेषण गर्ने मथिङ्गल नभएका अधिकांश जनतामा देशको भन्दा दलभित्रको गुटकै चिन्ता छ । केही ठूलै नेतामा त अझ बढी संवेदनामा खेलेर परिवारवाद मच्चाउने कुसंस्कारले जरो गाढिरहेकै छ । अतः नेल्सन मन्डेलाको जस्तो आदर्शता हाम्रो देशको नेतृत्वमा रहेन । पाएसम्म आफुले नत्र भने पनि आफ्नाले हैकम जमाउने नीतिमा हामी जनता दशकौँदेखि कठपुतली मात्रै भयौँ ।
जनताले दिएको अभिमतलाई नेतृत्वले कदर गर्न सकेको छ ? मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फसेको छ । हिजो राजाको शासन हत्याउँदा मात्रै पनि ठूलै उपलब्धि भयो भन्ने हामीले आज नेतृत्वलाई सोही शैलीको व्यवहार अपनाइरहेका छौँ । चाकडीबाज, चाप्लुसी, अतिसम्मानको सोचभित्र हामी चुर्लुम्मै डुबिरहेसम्म जनताद्वारा चुनिएकै व्यक्ति पनि सत्तामा स्वार्थको चक्रव्युहभित्र फसिरहने देखिन्छ । एउटै व्यक्तिको चङ्गुलमा घुम्ने पार्टीभित्रको पद्धतिले शक्तिलाई अँठ्याएर राखिरहन्छ अनि हामी त्यसभित्रै पूजारी बनिरहनुचाहिँ गलत पद्धति हो ।

प्रतिक्रिया दिनुहोस्