वीरगन्जका तीनवटै भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम «

वीरगन्जका तीनवटै भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

वीरगन्ज-नेपाली अर्थतन्त्रमा राजस्व असुलीको महत्वपूर्ण हिस्सा ओगटेको वीरगन्जका तीनवटै भन्सार नाकाको राजस्व असुलीको लक्ष्य पूरा हुन सकेको छैन । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा वीरगन्ज भन्सार कार्यालय र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) तथा सुक्खा बन्दरगाह भन्सार गरी तीन वटै भन्सार कार्यालयहरूले भन्सार विभागले दिएको लक्ष्य अनुसार राजस्व असुली गर्न नसकेका हुन् ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा भन्सार कार्यालयले राजस्व असुलीमा लक्ष्य भेटाउन नसकेको देखिएको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई फागुनसम्ममा १ खर्ब ८ अर्ब ११ करोड १६ लाख ८४ हजार लक्ष्य दिएकोमा १ खर्ब १ अर्ब २ करोड ५८ लाख ४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । यो दिइएको लक्ष्यको ९३.४५ प्रतिशत हो । भन्सार कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा पनि लक्ष्य पूरा गर्न सकेको थिएन । गत आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले फागुनसम्ममा ८० अर्ब ९७ करोड ७१ लख ६१ हजार राजस्व संकलन गरेको थियो । भन्सार विभागले गतवर्ष फागुनसम्मका लागि ८४ करोड ६६ लाख ७२ लाख २८ हजार रूपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
यसमा पनि सबैभन्दा बढी राजस्व संकलनमा इन्धन र सवारी साधनहरूको योगदान रहेको छ । सवारी साधनको आयातमा कमी, भन्सार छुटका मालवस्तुको आयात बढ्नुले पनि राजस्वमा कमी आएको वीरगन्ज भन्सार कार्यालयका प्रवत्ता मनिष महतोले बताए । उनले भने, “वीरगन्ज भन्सारको राजस्व असुलीमा मुख्य भूमिका खेल्ने इन्धन र सवारी साधन हो । कार, जिप, भ्यानको आयात घटेको छ । सवारी साधनमा गतवर्षदेखि १० प्रतिशत भन्सार महशुल वृद्धि गरेको र राष्ट्र बैंकले पनि सवारी साधनहरूमा लगानीमा कडाई गरेकाले कारोबार कम भएको छ ।” पुँजीगत खर्च कम हुँदा पनि व्यापारीले मालवस्तु कम आयात गरेका छन् । तेस्रो मुलुकसँगको व्यापारमा पनि आएको भन्सार प्रवत्ता महतोको भनाइ छ ।
त्यस्तै सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालू आर्थिक वर्षको आठ महिनामा लक्ष्य पूरा गर्न सकेको छैन । भन्सार विभागले फागुनसम्मका लागि सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई २२ अर्ब ७४ करोड ९२ लाख १७ हजार रूपैयाँ लक्ष्य दिएकोमा १ अर्ब ४८ करोड ७० लाख ३७ हजार कम अर्थात २१ अर्ब २६ करोड २१ लाख ८० हजार रूपैयाँ मात्रै संकलन गरेको छ । गत आर्थिक वर्षमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ९६.६१ प्रतिशत मात्रै भन्सार राजस्व संकलन गरेको थियो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४-७५ मा २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । भन्सार विभागले भने २८ अर्ब २९ करोड ४२ लाख ४० हजार लक्ष्य दिएको थियो । भन्सार राजस्व असुलीको आधार र राष्ट्रिय राजस्व असुलीको औसतलाई आधार बनाएर प्रत्येक वर्ष भन्सार विभागले भन्सार कार्यालयहरूलाई लक्ष्य दिइएको हुन्छ । मुख्य मुख्य वस्तुको आयातमा कमी भएकाले नै भन्सार राजस्व असुलीमा पनि कमी आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । “२५ प्रतिशतभन्दा बढी योगदान फलामका आइटमको हुन्छ । गतवर्षको भन्दा आयात घटेको छ । मदिराको आयात पनि कम भएकाले राजस्व असुली कम भएको हो,” उनले भने । बन्दरगाहको भन्सार राजस्व असुलीको मुख्य वस्तु मध्य चिनी पनि हो । चिनीमा सरकारले नै परिमाणात्मक बन्देज लगाएकाले पनि राजस्व असुलीमा प्रभाव परेको छ । सरकारी नीतिले रोकिएको चिनीबाट मात्रै १ देखि डेढ करोडको घाटा गतवर्ष भएको प्रमुख भन्सार अधिकृत श्रेष्ठको भनाइ छ । नेपालको व्यापारमा आएको मन्दीका कारण आयातकर्ताहरूले प्रतितपत्र पनि कम खोलेको उनले बताए । सुक्खा बन्दरगाह भन्सारबाट औद्योगिक कच्चा पदार्थहरूको योगदान बढी रहेको छ । फलाम, सिमेण्ट, तथा कृषि उद्योगहरूका लागि आवश्यक एंगल, आईरन स्पोञ्ज, कुखुराको दाना बनाउनका लागि मकै, भटमासलगायतका सामान आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्