निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आइतबार १३३औं मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएको छ । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उहाँले प्रश्न गर्नुभएको हो । कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए ।
नेता पुनले आयोगलाई निष्पक्ष र व्यावसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले निर्वाचन आयोग रेफ्रीको भुमिकामा बस्नुपर्ने पनि बताए । उनले भने, ‘हामी विभिन्न संवैधानिक निकायहरू, व्यक्तिहरू, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्नपनि हामीले अपिल गर्न चाहान्छौँ । अनुरोध गर्न चाहान्छौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सिमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन । कोही समर्थक हुँदैन । एउटा हाइली प्रोफेसनल मान्छे । उच्च व्यवसायिक क्षमता भएको, दक्षता भएको मान्छे नै त्यहाँ पुग्ने हो संविधानले त्यो विश्वास गरेको छ । त्यस अर्थमा निर्वाचन आयोग आज रेफ्रिको भुमिकामा । रेफ्रि आफै मैदानमा ओर्लेर खेल खेल्न लाग्यो ।
गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ? म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, तपाईंहरू पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले देख्ने, मतदाताले देख्ने गरी रेफ्रिको भूमिकामा बसिदिनुस् । रेफ्री जति प्रोफेशनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ । लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यवसायिक, दक्ष हुन्छ । त्यति नै लोकतन्त्र सुदृढ हुन्छ । हिजो उहाँले भन्नुभयो असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ । निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलिहरू प्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन । हरेक व्यक्ति संविधान भित्र छ । कानून भित्र छ । आफ्ना आस्था आफ्ना ठाउँमा हुन्छ । राज्यका कुर्सिहरूमा बसिसकेपछि निष्पक्ष भुमिका, व्यवसायिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । म त्यो पनि अपिल गर्न चाहन्छु राज्यका सबै निकायहरूलाई ।’
उहाँले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताउनुभयो । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाए । उनले भने, ‘आजको एजेण्डामा केपी ओली वामपन्थी होइनन् । दक्षिणपन्थी हुन् । प्रतिगामी हुन् । त्यो एजेण्डा बोकेर हिडेका छन् । तथ्यहरू छ । आज ओलीजीले लगाइराखेको आरोपमा कही हिच्किचाइराख्नुपर्ने, आत्तिनुपर्ने छैन । यसको अर्थ सधै कांग्रेस र माओवादीको एउटै बिचार धारा हो, हामी सधै रहिराख्छौँ होइन । हामी संविधानको रक्षा, लोकतन्त्रको रक्षा, अहिलेका उपलब्धिहरूका रक्षापछि हामी प्रतिस्पर्धा गर्छौ । माओवादी समाजवादको आधार तयार गर्दै समाजवादतिर जाने उसको गन्तव्य छ । कांग्रेसको प्रजातान्त्रिक समाजको गन्तव्य छ । आ–आफ्ना गन्तव्यहरू छन् । हामी प्रतिस्पर्धा गर्छौ त्यो अवस्थामा । यो रुपले हामीले अहिलेको राजनीतिक एजेण्डालाई गठबन्धनलाई बुझ्न जरुरी छ ।’
नेता पुनले एमालेले धार्मिक एजेण्डा बोकेर हिँडेको आरोप लगाए । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उनले बताए । ओलीले बाहिर बाहिर हुंकार गरेको भएपनि भित्रैबाट गलीसकेको र पराजित भइसकेको उनले बताए । ओली पराजित हुनु वामपन्थीहरूको एकताको ग्यारेन्टी भएको उनले बताए । उनले भने, ‘उहाँ आफैं आज धार्मिक एजेण्डा बोकेर हिँड्ने राजावादीहरूसँग तालमेल गर्दै हिड्ने अवस्थामा पुग्नुभएको छ । हिजो उनले हुंकार गर्नुहुन्थ्यो । पाँच दल पाँच किलो म एक्लै एक क्विन्टल एमाले भन्नुहुन्थ्यो । आज कांग्रेसले कारबाही गरेको गोविन्दराजलाई लिएर केही ग्राम थप्दै हुनुहुन्छ । त्यहाँ ढक नपुगेर, वेट नपुगेर ।
त्यसैगरी राप्रपाबाट चोइटिएको सानो कमल थापाको गुटलाई लिएर उहाँले अलिअलि केही ग्रामहरू थपिराख्नुभएको छ । किन त्यस्तो बाध्यता प-यो ? रोल्पामा जाँदा ६ वटा गाउँपालिकाहरूमा केपी ओलीजीले विप्लवजीहरूसँग गठबन्धन गरिराख्नु भएको छ हामीलाई हराउन । अनि उहाँ एक क्विन्टल के हो त नि ? त्यहाँ त हामी एक्लै छौँ । पाँच दल पनि छैनौँ । एक्लाएक्लै मित्रवत प्रतिस्पर्धा गरिराखेका छौँ । पूर्वी रुकुममा जाँदा त्यस्तै छ । केपी ओलीजी बाहिर जति बहादुरी देखाउनुहुन्छ, हुंकार देखाउनुहुन्छ भित्र असाध्यै गल्नु भएको छ भन्ने कुरो भित्र पराजित भइसक्नुभयो भन्ने कुरो तथ्य यही हो नि । हामी त व्यवहार हेर्ने हो । उहाँ भित्रैदेखि गल्नुभएको छ । भित्रैदेखि पराजित हुनुभएको छ । आज केपी ओली प्रवृत्ति पराजित हुनु नेपालको संविधानको रक्षा, लोकतन्त्रको रक्षा र अग्रगमनको सुनिश्चितता हो । र वामपन्थीहरूको बास्तविक एकताको ग्यारेन्टी पनि हो ।’
उनले माओवादी केन्द्रको प्रहार ओलि प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तमाथि नभएको स्पष्ट पार्नुभयो । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरूको वैचारिक रूपमा ध्रवीकरण हुने पनि उनले बताए ।