टहरोमै सीमित ग्रामीण भेगको पढाइ

गुल्मी-गाउँको सिंहदरबारले बेवास्था गर्दा गुल्मीमा एक विद्यालयको अवस्था घरपालुवा जनावर थुन्ने गोठको रूपमा परिणत भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ मा रहेको सिद्धमालिका आधारभूत विद्यालयमा गाउँको सिंहदरबारले बेवास्था गर्दा घरपालुवा जनावर थुन्ने गोठको रूपमा परिणत भएको हो ।
देशभरका विद्यालयको अवस्था भौतिक संरचनामा अब्बल रहे पनि मालिका गाउँपालिकाको उक्त विद्यालयमा खम्बा अडाएर जस्तापाताको ओत लगाइएको छ । संघीयतापछि गाउँगाउँमा आएको सिंहदरबारका जनप्रतिनिधिहरूले समेत ध्यान नदिएकाले विद्यालयको अवस्था गोठका रूपमा परिणत भएको स्थानीय युद्धवीर प्रतेलले बताए । “विद्यालय गाईगोरु बाँध्ने गोठभन्दा केही फरक छैन,” स्थानीय प्रतेलले भने, “पाँच वर्षको कार्यकालमा जनप्रतिनिधिहरूले केही वास्था गरेनन् ।” उनले विद्यालयको अवस्थामा पटकपटक जनप्रतिनिधिलाई जानकारी गराए पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले बेवास्था गरेको बताए ।
वि.सं. २०६५ सालमा २० जना बालबालिकाबाट पठनपाठन सुरु भएको उक्त विद्यालयमा अहिले १ सय ५० जना विद्यार्थी छन् । तर, विद्यार्थीका लागि खानेपानी र शौचालयको सुविधा नहुँदा समस्या भइरहेको विद्यालयले जनाएको छ विद्यालयकी एक शिक्षिकाका अनुसार स–साना विद्यार्थीलाई दिसापिसाब गराउन जंगलमा लैजानुपर्ने अवस्था रहेको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संगीता श्रीपालीका अनुसार शौचालय नहुँदा आफूहरू जंगलमा जानुपर्ने बाध्यता रहेको बताइन् ।
सडकको पहुँच नपुगेकाले अन्य भौतिक निर्माणमा समस्या भएको भन्दै सरोकारवाला टाढिएको स्थानीय घनबहादुर प्रतेलले गुनासो गरे । ६ जनाको दरबन्दी र तीन स्थानीय स्रोतसहित नौजना शिक्षक रहेको उक्त विद्यालयको पढाइ टहरोमा सीमित रहेको शिक्षक भीमबहादुर राकसकोटीले बताए । उक्त विद्यालयमा कक्षा सातसम्म पढाइ हुन्छ । आन्तरिक विवादका कारणले समस्या आएको उक्त विद्यालयमा अध्यापन गराएको तलबसमेत नपाएको शिक्षक हिमाल थापाले गुनासो गरे ।
उक्त वडाका वडाध्यक्ष युद्धवीर घर्तीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मनपरिका कारण विद्यालयको अवस्था नाजुक रहेको बताए । सबै प्रकारका विवाद मिलाएर व्यवस्थापन गर्नपर्ने उनको भनाइ छ । अरुलाई दोष देखाएर वडाध्यक्ष घर्ती आफू उम्किएको त्यहाँका स्थानीयको आरोप छ । पाँच वर्षे कार्यकालमा एक शौचालयका लागि सात लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उक्त बजेट पनि सदुपयोग गर्न सकेन । उपभोक्ता समितिमार्फत काम गर्न लगाइएको र समयमा काम नगरेपछि सात लाख रुपैयाँ बजेट फिर्ता भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । यस विषयमा भने गाउँपालिकाका निवर्तमान प्रवक्तासमेत रहेका शोभाखर गिरिले आन्तरिक विवाद मिलाएर अगाडि बढ्ने दाबी गरे । पाँच वर्षे कार्यकालमा विद्यालयको टहरोलाई ध्यान नदिएका गाउँपालिकाका निवर्तमान अध्यक्ष रितबहादुर थापा अहिले पनि गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेबाट उम्मेदवार बनेका छन् ।