अर्थतन्त्रमा श्रीलंका कहर टरेकै हो त ?

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलंकाको आर्थिक समस्या चर्को महँगी र अत्यावश्यक सामग्रीको अभावमा पुगेर आम पीडाको विषय बनिरहेको छ । केही दिनपहिले श्रीलंकाले इतिहासमै पहिलो पटक विदेशी ऋण भुक्तानी निलम्बन गर्नुप¥यो । यस मुलुकको इतिहासमा यस्तो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । संकटबाट मुलुक चाँडै बाहिर निस्कने भरोसालाग्दो आधार हालसम्म देखिएको पनि छैन । यता विगत केही महिनादेखि हाम्रो मुलुकका आर्थिक परिसूचकहरूसमेत सन्तोषजनक नहुँदा देशको अर्थतन्त्रका बारेमा चर्चा हुँदा श्रीलंकालाई जोडेर व्याख्या गर्ने गरिएको पाइन्छ । तुलनात्मक समृद्ध र केही वर्षयता स्थिर श्रीलङ्कामा अचानक आइपरेको आर्थिक सङ्कटले अचेल धेरै नेपालीलाई झस्काइरहेको छ । सर्वसाधारण मानिसदेखि अर्थविद्सम्म सबैको चासोको विषय यही बनेको छ । हरेकको मनमा आइरहने प्रश्न बनेको छ, के नेपालको अर्थतन्त्र पनि श्रीलंकाकै बाटोतर्फ लागेको हो ? श्रीलंकाको वर्तमान आर्थिक अवस्था नेपालका लागि खतराको घण्टी त होइन ?
यसैबीच केही दिनपहिले विश्व बैंकले आफ्नो अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र हाल संकटमा नरहेको र संकटोन्मुख पनि नभएको बताएको छ । कोभिड–१९ का कारण दुई वर्षसम्म सुस्त बनेको नेपालको अर्थतन्त्र आगामी तीन वर्षमा बिस्तारै पुनरुत्थान हँुदै जाने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा देशव्यापी लकडाउन नहुने, वैदेशिक रोजगारीमा जाने नेपाली र नेपाल भ्रमणमा आउने पर्यटक बढ्ने अनुमानका आधारमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ३.७ प्रतिशत र आगामी आर्थिक वर्षमा ४.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यसपछिको वर्ष सन् २०२४ मा भने आर्थिक वृद्धि ५.८ प्रतिशत पुग्ने पुग्ने अपेक्षा विश्व बैंकले गरेको छ । विश्व बैंकको यो प्रतिवेदनले अत्तालिएका नेपाली मनहरूलाई केही राहतको अनुभूति गराए पनि नेपालका प्रमुख आर्थिक परिसूचकहरू भने अझै लयमा फर्की नसकेको अवस्था छ ।
नेपालभन्दा कम जनसंख्या भएको श्रीलंकाको अर्थतन्त्रको आकार वा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नेपालको भन्दा दोबर छ । अहिले देशको अर्थतन्त्रमा वैदेशिक ऋण र यसले पारेको असरका बारेमा चर्चा भए पनि श्रीलंकाको अर्थतन्त्र दशकौंदेखि ऋणमा आधारित थियो । विदेशी सरकार, दातृनिकाय मात्र होइन, निजी विदेशी कम्पनीहरूसँग समेत व्यावसायिक ऋण लिएर राज्य सञ्चालन गर्दै आएको थियो । दुई दशकअघिसम्म कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत हाराहारी रहेको सार्वजनिक ऋण सन् २०१९ मा ८८ प्रतिशत हुँदै अहिलेसम्म आइपुग्दा १ सय २० प्रतिशतभन्दा बढी पुगिसकेको देखिन्छ । तर, ऋणको प्रवाहकै गतिमा समयानुकूल आदर्शतम विकासका पूर्वाधारहरूमा लगानी हुन नसकेको देखिन्छ । यसको परिणामस्वरूप अपेक्षित प्रतिफल आउन सकेन । अर्कातर्फ नेपालले भने अधिकांश ऋण विदेशी सरकार वा बहुपक्षीय दातृनिकायसँग मात्र लिएको छ र त्यसको मात्रा पनि जीडीपीको तुलनामा ४३ प्रतिशत जति मात्र छ । नेपालले व्यावसायिक विदेशी ऋण नलिएर विवेकपूर्ण काम गरेको विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सको भनाइ छ ।
नेपालमा जस्तै श्रीलङ्काको अर्थतन्त्रमा पनि पर्यटन क्षेत्रले महŒवपूर्ण भूमिका खेलेको छ । सन् २००० देखि २०१९ मा आइपुग्दासम्म कुल गार्हस्थ्य उत्पादनमा ६ प्रतिशतदेखि १३ प्रतिशतसम्म योगदान पर्यटन उद्योगको देखिन्छ । तर, सन् २०१९ मा कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी आक्रमणका कारण ओरालो लाग्न सुरु गरेको पर्यटन व्यवसाय सोही वर्षको अन्त्यदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले पर्यटक आगमनमा करिब ७० प्रतिशतले घटाइदियो । यसले गर्दा वैदेशिक मुद्रा आर्जनमा लगातार ह्रास आइरह्यो भने रोजगारीका अवसरहरूमा पनि संकुचन छायो । पर्यटन आवगमन ठप्प भएपछि वैदेशिक ऋणमार्फत निर्माण गरिएका पर्यटन पूर्वाधारहरू अन्ततः सेतो हात्ती बन्न पुगे । नेपालमा पनि कोरोना महामारीले पर्यटक क्षेत्रमा व्यापक ह्रास आएको थियो तर बिस्तारै सुधारोन्मुखतिर गइरहेको सरकारी तथ्यांकहरूले देखाएका छन् । गत मार्च महिनामा ४२ हजार पर्यटक नेपाल भित्रिएको र पछिल्लो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन १३८.६५ प्रतिशतले बढेको पर्यटक बोर्डले जनाएको छ ।
नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषिक्षेत्रलाई मानिएजस्तै श्रीलङ्काली जनताले पनि कृषिलाई मुख्य आय र रोजगारीको श्रोतको रूपमा अंगिकार गरेको पाइन्छ । करिब ७० प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्ने श्रीलङ्काली जनताको जीविकाको मुख्य आधार कृषि नै हो । पछिल्लो समय श्रीलङ्का सरकारले मुलुकको कृषि प्रणालीलाई पूर्ण रूपले अर्गानिक बनाउने निर्णय ग¥यो । रासायनिक मल र कीटनाशक औषधिहरूको प्रयोगलाई बन्द गराइयो । तर यो नीतिले कृषि उत्पादनमा ठोस उपलब्धि हासिल गराउन सकेनन्, बरु उत्पादनमै ठूलो संकुचन निम्त्यायो । सन् २०२१ मा खाद्यान्न उत्पादन ५० प्रतिशतले घट्यो भने लागत खर्च ७० प्रतिशतले बढ्यो । खाद्य पदार्थहरूमा भएको मूल्यवृद्धिले मुद्रास्फीतिको दरलाई उच्च बनायो, जसले गर्दा कम आय भएका वर्गहरूको जीवन कष्टकर हुन थाल्यो । अर्कातिर, अर्गानिक चियाको उत्पादन आधाले घट्यो भने चिया दस गुणा महँगो बन्यो, जसले गर्दा निर्यात सुस्तायो । यसले गर्दा व्यापारघाटा बढ्दै गयो भने मुलुकको भुक्तानी सन्तुलन द्रुत गतिमा ऋणात्मक हुँदै गयो । वैदेशिक व्यापारको मामिलामा नेपालको स्थिति पनि सन्तोषजनक देखिँदैन । सीमित निर्यातका माझ महामारीपश्चात् ह्वात्तै बढेको आयातले गर्दा अहिले नेपालको व्यापारघाटा झन्डै १३ खर्ब रुपैयाँ पुगिसकेको छ । पछिल्लो तथ्याङ्कमा शोधनान्तर घाटा अढाई खर्ब रुपैयाँ नाघिसकेको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापारघाटा बढी हुने देखिएको छ ।
रेमिट्यान्स श्रीलंकाको पनि वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत हो । सन् २०१९ मा त्यहाँ करिब ७ अर्ब डलर बराबर रेमिट्यान्स भित्रिएको तथ्यांक छ, तर कोरोना महामारी र अन्य अन्तरिक कारणले गर्दा अहिले यसमा ठूलो गिरावट आएको छ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्स एउटा प्रमुख विदेशी मुद्राको स्रोत हो तर पछिल्लो केही समयदेखि यसको वृद्धिमा गिरावट आएको देखिन्छ । फागुन मसान्तसम्ममा रेमिट्यान्स आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशतले कम भई ६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
समग्रमा नेपाल र श्रीलंकाबीचका प्रमुख आर्थिक सूचकहरूको तुलना गर्दा करिब २ करोड २० लाख श्रीलंकाली जनताले अहिले २१ प्रतिशतभन्दा बढीको महँगीको मारमा जीवनयापन गर्न बाध्य छन् भने करिब २ करोड ९० लाख नेपाली जनताले यसको भार ७ प्रतिशत मात्र रहेको जनाइएको छ । करिब ८० अर्ब डलरबराबर अर्थतन्त्रको आकार रहेको श्रीलंकामा यतिबेला जम्मा २ अर्ब डलरबराबरको विदेशी मुद्रा सञ्चिति देखिन्छ भने यसको तुलनामा सार्वजनिक ऋण जीडीपीको १२० प्रतिशत र यो वर्ष तिर्नुपर्ने विदेशी ऋण करिब ४ अर्ब डलर छ । अर्कातर्फ करिब ३५ अर्ब डलरबराबर अर्थतन्त्रको आकार रहेको हाम्रो देश नेपालमा यतिबेला ९.५८ अर्ब डलरबराबरको विदेशी मुद्रा सञ्चिति छ भने यसको तुलनामा सार्वजनिक ऋण जीडीपीको ४३ प्रतिशत मात्र छ र यो वर्ष तिर्नुपर्ने विदेशी ऋण करिब ०. ३३ अर्ब डलर देखिन्छ ।
अहिलेको वर्तमान अवस्थामा श्रीलंकाको तुलनामा केही प्रमुख आर्थिक परिसूचकहरू निराशाजनक नरहे पनि सरकारले दाबी गरेजस्तो नेपालको आर्थिक सन्तोषजनक छ भन्ने अवस्था नरहेको अर्थविद्हरूको ठम्याइ छ । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको सङ्कट, देशमा भित्रिने र बाहिरिने रकम वा शोधनान्तर चर्को घाटामा रहनु, मुद्राको अवमूल्यन, विश्वव्यापी मूल्यवृद्धि, रेमिट्यान्स र पर्यटनबाट हुने आयमा गिरावटजस्ता समस्याले नेपाल पनि कम जोखिममा छ भन्न मिल्दैन । समयमै सावधानीका उपायहरू अवलम्बन नगरे गम्भीर आर्थिक सङ्कटमा फस्न सक्ने चेतावनी अर्थ–विश्लेषकहरूले दिने गरेका छन् । राष्ट्र बैंकले तत्काललाई आयात कडाइ तथा आयातित वस्तुको उपभोग न्यूनीकरणका लागि केही निर्देशन जारी गरिएको अवस्था छ । यद्यपि अहिले लिइएका निर्णयले आपत्कालीन सहयोग त गर्ला तर दीर्घकालीन समाधान भने यो अवश्य होइन ।
सरकारको पहिलो प्राथमिकका परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर उन्मुख बनाउनुपर्ने देखिन्छ । सन् २००३ देखि २०१२ सम्म लगातर लगभग ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गरी लगभग ५ हजार डलरमाथिको प्रतिव्यक्ति आय भएको श्रीलंका एकाएक आर्थिक रूपमा टाट पल्टिन सक्छ भने सावधानीका साथ प्रतिरक्षा नीति अपनाइएन भने नेपालको अर्थतन्त्र पनि श्रीलंकाको जस्तो नहोला भन्न सकिँदैन । श्रीलंकाको अर्थतन्त्र अहिलेको अवस्थामा आउनुको मुख्य कारण अनुपयुक्त आर्थिक नीति र परनिर्भर अर्थतन्त्र हो भन्दा कुनै फरक नपर्ला । यसबाट हामीले के पाठ सिक्न सकिन्छ भने उपयुक्त आर्थिक नीति तर्जुमा गरी आन्तरिक उत्पादन र श्रोत–साधनको परिचालनबिना देशको अर्थतन्त्र दिगो रूपमा सबल हुन सक्दैन । तसर्थ, मुलुकको आन्तरिक साधन–स्रोतबाटै परिचालन गर्न सकिने विशेषतः कृषि, ऊर्जा, पर्यटन, लघु उद्यम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी देशभित्रै उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गरी दीर्घकालिन समाधानका उपायहरू अवलम्बन गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
-धर्मराज भट्टराई