एनसीसी बैंकको शाखा सामाखुसीमा

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरे । सो समारोहमा उद्घाटन मन्तव्य व्यक्त गर्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले एनसीसी बैंकले संस्थागत सुशासन कायम गर्दै जाने र आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउँदै आगामी दिनहरूमा पनि बैंकले यस्तै प्रगति गर्दै जाने विश्वास व्यक्त गरे ।
बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँचवटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिँदै जाने जानकारी दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै बैंकको शाखा स्थापनाबाट सामाखुसी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक समृद्धिमा टेवा दिने विश्वास दिलाए । एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुराउने गत वर्ष ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरूसँग गाभ्ने-गाभिने प्रक्रियापश्चात् एउटै स्थानमा रहेका शाखाहरूलाई अर्को स्थानमा सार्ने तथा बैंकिङ पहुँच नपुगेका नगरपालिका तथा गाउँपालिकामा ‘क’ वर्गको वाणिज्य बैंकको कम्तीमा एउटा शाखा स्थापना गर्ने नेपाल सरकारको नीतिअनुरूप निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरूमा ४३ वटा शाखा स्थापना गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।