पूर्वाधार विकासमा अब्बल तिला «

पूर्वाधार विकासमा अब्बल तिला

प्रदेशः कर्णाली
जिल्ला : जुम्ला
उपाध्यक्ष : विष्णुमाया बूढा
प्रमुख प्रशासकीय अधिकृत : मीनबहादुर रावल
वडा संख्या : ९
क्षेत्रफल : १७५.४९ वर्गकिलोमिटर
जनसंख्या : १६ हजार ७५
घरधुरी : २ हजार ६ सय २३

नेपालको संविधान, २०७२ को धारा २९५ दफा (३) बमोजिम संघीयतापछि बनेका ७ सय ५३ वटा स्थानीय तहमध्ये जुम्लाको तिला गाउँपालिका एक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार तिला गाउँपालिकाले आफ्ना दैनिक कार्य सम्पादन गरिरहेको छ भने आफ्ना अनुकूलनका थुप्रै ऐनकानुन कार्यविधि निर्माण गरेर पनि तिलाले आफ्ना नियमित कार्यसम्पादनलाई अघि बढाएको छ ।
यस गाउँपालिकाको पूर्वमा तातोपानी गाउँपालिका, पश्चिममा कालीकोट नाग्म बजार, तिला गुफा नगरपालिका, उत्तरमा हिमा गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला पर्छ । गाउँपालिकाको केन्द्र तिला–२, डुन्डेली तोकिएको छ ।
तिला गाउँपालिका कृषि, पर्यटन तथा जडीबुटीको प्रचुर सम्भावना भएको जिल्लाकै अब्बल पालिका हो । तिलामा १७ वटा धार्मिक पर्यटकीय स्थल रहेका छन् भने लौठ सल्लो, पाखनबेद, हातेजडी, सतुवा, पाँचऔंले, अत्तिस, टिमुर र बाज, गुराँस, सल्लो, उत्तीस, देवदारलगायतका जडीबुटी पाइन्छ । त्यस्तै सिमी, चिनो, कागुनो, फापर उत्पादनका हिसाबले पनि तिला गाउँपालिका प्रख्यात छ ।
९ वडा र ३४ बस्तीमा छरिएर रहेको तिला गाउँपालिका विकट बस्तीलाई निकटसँग जोड्न, गाउँको उत्पादनलाई बजारमा पु¥याउन, पर्यटन प्रवद्र्धन गर्न, स्वास्थ्य शिक्षा सहज सुलभ गर्न, प्रशासनिक सेवा प्रभावकारी बनाउन गाउँगाउँमा सडक पु¥याउन तिलाले पहिलो वर्षदेखि नै पूर्वाधार विकासमा प्राथमिकता दिँदै आएको छ ।
तिला गाउँपालिकाले बितेको पाँच वर्षमा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखीय फड्को मारेको देखिन्छ । १० शय्या अस्पताल निर्माण सुरुदेखि, पालिकाको प्रशासनिक भवन निर्माण, दर्जनौं विद्यालय भवन निर्माण, नौवटै वडामा सडक निर्माण, वडा भवन निर्माणलगायत थुप्रै पूर्वाधार विकासको काम उल्लेखनीय रूपमा गरेको छ ।
कृषि, पर्यटन र जडीबुटी क्षेत्रमा भएका अथाह सम्भावनालाई अवसरमा बदल्न तिलाले सुरुवातदेखि नै पूर्वाधार विकासमा जोड दिँदै आएको छ । गाउँगाउँमा सिंहदरबार झल्काउने, नागरिकलाई संघीयताको महसुस हुने गरी विकास निर्माणदेखि हरेक महिना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच तथा पालिकाको सेवा प्रवाहलाई चुस्त बनाइएको छ ।
पूर्वाधार विकासबिना सम्भावनाहरू अवसरमा रूपान्तरण नहुने र पूर्वाधारबिना कृषि, पर्यटनबाट आर्थिक समृद्धि पनि असम्भव भएकाले सुरुदेखि नै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको पूर्वाधार विकासमै जोड दिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
“महिला स्वयम्सेविकालाई मासिक ५ हजार भत्ता दिने, ४ वटा स्वास्थ्यचौकी, ९ वटा सामुदायिक स्वास्थ्य एकाइ बनाएका छौं,” उनले भने, “पाँच वर्षमा झन्डै ७९ किलोमिटर ग्रामीण सडक निर्माण गरेका छौं । ९ सय ९८ किलोवाटको विद्युत् बन्दै छ । जिल्लाकै ठूलो ६० कोठे ३ तले प्रशासकीय भवन अन्तिम चरणमा पुगेको छ । १९ वटा सटर भाडामा दिई आन्तरिक आय पनि हुनेछ । ९ वटा वडाका ३४ बस्तीलाई हिलोमुक्त बनाउने अभियान चलेको छ । यस्तै थुप्रै काम भएका छन् ।”
जिल्लाकै पहिलाको छुईप्रथा मुक्त गाउँपालिका घोषणाको तयारीमा पनि तिला गाउँपालिका जुटेको छ । पाँच वर्षमा विद्यालय भवन मात्रै २० भन्दा बढी निर्माण भएका छन् । स्थानीय सरकार आउनुपहिले पूर्वाधार विकासमा शून्य रहेको तिलामा अहिले गाउँगाउँमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्यचौकी भवन, पर्यटकीय पदमार्ग, घोडेटो बाटो निर्माणलगायतका पूर्वाधार निर्माण भएका छन् ।
सडकले तिलाका सबै बस्ती छोए पनि तिला नदीमा पुल नहुँदा समस्या थियो । संघीय सरकारसँग पहल गरेर १५ करोड लगानीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ भने आधुनिक वडा कार्यालय निर्माण, चुलाकोटमा एक घर एक धारा, लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको अध्यक्ष योगीले जानकारी दिए ।
सूचना सञ्चारलाई प्रभावकारी बनाउन टावर विस्तार भएको छ । सरकार सञ्चालनका साढे तीन वर्षमा थुप्रै नमुना काम गरेको छ, जसमा सबै बस्तीमा ग्रामीण सडक पु¥याएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा सामुदायिक निर्माणदेखि छुईप्रथा अन्त्य अभियान चलाइएको छ ।
जिल्लाकै पहिलो तथा ठूलो बहुउपयोगी प्रशासनिक भवन निर्माणसमेत भएको छ । उपाध्यक्ष विष्णुमाया बूढाले भनिन्, “जुम्लाका आठै स्थानीय तहमध्ये विकास निर्माणमा फड्को मार्नु बजेट खर्च सन्तोषजनक गर्नुको मुख्य कारण तिलामा गाउँपालिकामा दरबन्दीअनुसारका कर्मचारी हुनु, जनप्रतिनिधि कर्मचारको सम्बन्ध समधुर हुनु हो ।” तिलालाई जिल्लाकै नमुना पालिका बनाउने सबै जनप्रतिनिधिको साँझा प्रतिबद्धताअनुसार पूर्वाधार विकासलाई जोड दिएको उपाध्यक्ष बूढाले बताइन् ।
उनका अनुसार महिलाको पोषण अवस्थामा सुधार ल्याउनका लागि घरदैलो अभियान, पोसिला आहार वितरण कार्यक्रम भएका छन् भने प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलका अनुसार पाँच वर्षमा तिलामा ४८ वटा ऐन–कानुन कार्यविधि निर्माण भएका छन् ।
१ सय ९७ जना युवालाई सातदिने उद्यमशीलता तालिम तथा सहुलियत कर्जाको समेत व्यवस्था गरिएको छ भने ३ वटा झोलुङ्गे पुलसमेत निर्माण भएका छन् । भौगोलिक हिसाबले जिल्लाकै विकट पालिकाका भएकाले पनि हरेक विषयगत क्षेत्रको पूर्वाधार विकास तिलाको पहिलो प्राथमिकतामा हो ।

प्रतिक्रिया दिनुहोस्