Logo

पर्यटन प्रवद्र्धनमा महासंघ र पर्यटन बोर्डको सहकार्य

मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो समझदारीपछि दुवै संस्था पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन् । बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाको बैठक आयोजना गरी उदीयमान पर्यटकीय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तिनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ । त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेसन, पार्कलगायत अन्य पर्यटकीय गतिविधि) मा सहकार्य हुनेछ ।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए । “सीमा पर्यटन प्रवद्र्धनका लागि बोर्डका आफ्ना कार्यक्रम पनि रहेका छन् । पर्यटनसँग सम्बन्धित अन्य कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई पनि सँगै लैजान सकिन्छ,” रेग्मीले भने । कार्यकारी प्रमुख रेग्मीले नेपालको क्रस बोर्डर पर्यटन प्रवद्र्धनका लागि बोर्ड नेपालगन्ज, धरान र धनगढीमा पर्यटन मेला तथा मार्टहरू सञ्चालन गरिसकेको बताउँदै बोर्डले सीमा क्षेत्रका भारतीय पर्यटक ल्याउने गरी बोर्डले काम गरिरहेको बताएका थिए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाको सहभागितामा छिट्टै एउटा बृहत् कार्यक्रम आयोजनाको प्रस्ताव गरेका छन् । कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोहीअनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिए । “पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरूको गुणस्तर सुधार अत्यावश्यक भएको छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ पहल गर्नुपर्ने छ,” गोल्छाले भने ।
अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रूपमा विकास र विस्तार गर्न आवश्यक रहको धारणा राखे । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय सहरहरूमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि सँगै लैजान सकिने बताएका थिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको छ । व्यावसायिक रूपमा जेठ २ गतेबाट बाह्य उडान सुरु हुने भए पनि प्राधिकरणले बिहीबार परीक्षण उडान गरेको हो । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० विमानले परीक्षण उडान गरेको हो । आन्तरिकमा भने गत बिहीबारबाट नै उडान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्