आर्थिक वृद्धिदर उत्साहजनक हुने अनुमान

अर्थतन्त्र फागुनपछि चलायमान भएको तथा खुद उपभोगमा वृद्धि भएका कारण केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८-०७९ मा अर्थतन्त्र उकालो लाग्ने अनुमान गरेको छ । बिहीबार विभागले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार चालू आवमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ भने उपभोक्ता मूल्यका आधारमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने विभागको अनुमान छ । विभागले ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा तथ्यांक अनुमान गरेको हो ।
यसअनुसार आधारभूत मूल्यमा नेपालको जीडीपी ४१ खर्ब ५ अर्ब रुपैयाँ कायम रहने विभागले जनाएको छ । विभागले कृषि लगायतका प्राथमिक क्षेत्रमा ३.९ प्रतिशत र गैरकृषि क्षेत्रमा ६.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विभागले यसअघि सार्वजनिक गरेका तथ्यांकहरूलाई समेत परिमार्जन गर्दै आर्थिक वर्ष २०७६-०७७ मा २.४२ प्रतिशतले आर्थिक वृद्धिदर नकारात्मक रहेको जनाएको छ । यसअघि विभागले २.१२ प्रतिशतले नकारात्मक रहने अनुमान गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७७-०७८ मा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको परिवर्तित अनुमान गरेको छ ।
विश्व बैंकले भने केही समयअघि चालू आर्थिक वर्षमा ३.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो भने एसियाली विकास बैंकले ३.९ प्रतिशको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । यस्तै, अन्तर्राष्टिय मुद्रा कोषले ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, सरकारले चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।
यससँगै उपभोक्ता मूल्यमा नेपालको जीडीपी ४८ खर्ब ५१ अर्ब रुपैयाँ कायम रहने विभागको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालू आवमा कुल जीडीपीमा सेवा क्षेत्रको योगदान अत्यधिक हुने देखिएको छ । चालू आवको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले ६१.८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यस्तै प्राथमिक क्षेत्र अर्थात् कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको योगदान २४.५ प्रतिशत रहने प्रारम्भिक अनुमान विभागले गरेको छ भने द्वितीय क्षेत्र अर्थात् उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्रले १३.७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।
यी क्षेत्र अन्तर्गत पनि सबैभन्दा धेरै विद्युत, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाले ३६.६७ प्रतिशत योगदान गरेको जनाइएको छ । गत वर्ष यस क्षेत्रको योगदान २.५७ प्रतिशत मात्र रहेको थियो । विभागका निर्देशक गणेश प्रसाद आचार्यका अनुसार विद्युत उत्पादनलगायत ग्यास, वाष्पहरूमा भएको वृद्धिले जीडीपीमा योगदान बढाएको हो । “यस वर्ष हालसम्मकै ठूलो विद्युत आयोजना माथिल्लो तामाकोशीको उत्पादन सुरु भयो । त्यसले पनि विद्युतको योगदानलाई बढायो,” उनले भने ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रको योगदान भने घटेको छ । आव २०७८-०७९ को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.५ प्रतिशतमात्र हुने प्रक्षेपण विभागले गरेको छ । अघिल्लो आवको तुलनामा चालू आवमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) दरमा ०.५१ प्रतिशतले ह्रास आउने विभागको तथ्यांकले देखाएको हो ।
चालू आवको सात, आठ महिनाको प्रतिवेदनको आधारमा तथ्यांक तयार गरिएको भए पनि हाल अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशतको आसपासमा आर्थिक वृद्धि हुन सक्ने अर्थविद् डा. डिल्लीराज खनालले बताए । “अहिले बैंकिङ क्षेत्रमा तरलताको समस्याले गर्दा लगानी प्रभावित भएको छ,” उनले भने, “विदेशी विनिमय सञ्चितिमा परेको चाप कम गर्न सरकारले आयात नियन्त्रण गरेको छ । त्यसले पनि उत्पादनमा असर गर्छ । जसका कारणले पनि त्यो तहको आर्थिक वृद्धि नहुन सक्छ ।”
त्यस्तै कतिपय क्षेत्रमा अत्यधिक मात्रामा आर्थिक वृद्धि हुने आकलन गरिएको बताउँदै उनले अहिले अर्थतन्त्रमा परेको संकट, निजी क्षेत्रले सामना गर्नुपरेको समस्या आकलन गर्दा त्यसले आर्थिक वृद्धिमा असर गर्ने बताए ।
प्रतिव्यक्ति आय बढ्यो
नेपालको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्ष २०७७-०७८ मा प्रतिव्यक्ति आय १ हजार २३९ अमेरिकी डलर रहेको थियो । यसैगरी आर्थिक वर्ष २०७६-०७७ मा भने प्रतिव्यक्ति आय १ हजार १५६ अमेरिकी डलर रहेको थियो ।