Logo

इन्टरनेट विस्तार लक्ष्यभन्दा बढी

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पु-याउने लक्ष्य लिइएको थियो । गत आवसम्ममा ९० प्रतिशत रहेको घनत्व अहिले भने १२२.५१ प्रतिशत पुगिसकेको छ । फागुन मसान्तमै ११६.९१ प्रतिशत रहेको इन्टरनेट ग्राहकको घनत्वमा चैतमा ५.६ प्रतिशतले वृद्धि भएको छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा तथा मोबाइल ब्रोडब्यान्ड सेवा दुवैमा उल्लेख्य सुधार आएको छ ।
फिक्स्ड ब्रोडब्यान्डतर्फ गत आवसम्ममा २५.०९ प्रतिशत रहेकोमा चालू आवमा यसलाई २७.८१ प्रतिशतमा पु-याउने लक्ष्य रहेको थियो । तर, चैत मसान्तसम्ममा कुल जनसंख्याको ३१.६२ प्रतिशतमा यो सेवा पुगिसकेको छ । फागुनसम्ममा भने २९.६६ प्रतिशत रहेको यो सेवा चैतमा थप १.९६ प्रतिशतले बढेर ३१.६२ प्रतिशतमा पुगेको मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले जानकारी दिए । प्रवक्ता सिंहका अनुसार मोबाइल ब्रोडब्यान्डतर्फको प्रगति पनि उत्साहजनक रहेको छ । जसमध्ये गत आवसम्म ६५.४७ प्रतिशत रहेकोमा चालू आवमा यसलाई ७२ प्रतिशत पु¥याउने लक्ष्य राखिएको थियो । चैतसम्म लक्ष्यभन्दा बढी अर्थात् ९०.९ प्रतिशतमा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भइसकेको छ । फागुन महिनामा ८७.२५ प्रतिशत रहेकोमा एकै महिनामा यो संख्या ३.६५ प्रतिशतले बढेर झन्डै ९१ प्रतिशतमा पुगेको छ ।
इन्टरनेट सेवामा बढ्दो आकर्षण तथा इन्टरनेट विगतमा जस्तो सोखका रुपमा नभई आवश्यकताका रुपमा लिन थालिएका कारण यसको बजार विस्तार उत्साहजनक रुपमा भइरहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) अध्यक्ष सुधीर पराजुली बताउँछन् । उनका अनुसार निजी क्षेत्रका सेवाप्रदायकको चुस्त व्यवस्थापन र सेवाग्राहीले माग गरेकै दिन जडान गर्न सक्ने जस्ता सुविधाका कारण नेपालमा छोटो समयमा यस क्षेत्रले उल्लेख्य उपलिब्ध हासिल गर्न सम्भव भएको हो । मन्त्रालयका अनुसार मुलुकका ७५३ स्थानीय तहका केन्द्रमध्ये हालसम्म ७३८ केन्द्रमा ब्रोडब्यान्ड सेवा विस्तार भइसकेको छ भने फोरजी सेवा ४७.२७ प्रतिशतमा पुगेको छ ।
डायलअपबाट सुरु भएको नेपालको इन्टरनेट सेवा लिजलाइन र वायरलेस हुँदै अहिले अप्टिकल फाइबरमा आधारित हुन पुगेको छ । इन्टरनेटमा नयाँ प्रविधि भित्रँदै गर्दा उपभोक्ताले राहत महसुस गरिरहेका छन् । पछिल्लो सयम इन्टरनेटको गति पनि तीव्र हुँदै गइरहेको र उपभोक्ताको गुनासो पनि नेपाल दूरसञ्चार प्राधिकरणमा न्यून रुपमा आउने गरेको छ । बढ्दो प्रतिस्पर्धासँगै विगतका तुलनामा इन्टरनेटको मूल्य केही सस्तो भए पनि अझैसम्म नेपाल विश्वका केही महँगा ब्रोडब्यान्ड इन्टरनेट सेवा भएका देशमा परिरहेको छ । यसको मुख्य कारण भनेको प्रमुख दूरसञ्चार सेवा प्रदायकदेखि इन्टरनेट सेवा प्रदायकहरूले स्वस्थ बजार प्रतिष्पर्धालाई अबलम्बन गर्न नसक्नु नै भएको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्