पालिका हाँक्न खोटाङमा पाँच महिलाको उम्मेदवारी «

पालिका हाँक्न खोटाङमा पाँच महिलाको उम्मेदवारी



खोटाङ-यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व घट्ने विश्लेषण भइरहेका बेला खोटाङमा भने पाँच जना महिला पालिका प्रमुखको उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले नै दलहरूलाई महिलाको सम्मानजनक उपस्थितिका लागि आग्रह गरिएको भए पनि गत निर्वाचनमा भन्दा यस निर्वाचनमा महिलाको प्रतिनिधित्व घट्ने जनाइसकेको छ ।
यही बेला खोटाङका चार पालिकाको प्रमुख हाँक्न पाँच जना महिलाको उम्मेदवारी परेको हो । खोटाङले एक, नेकपा एमालेले दुई र नेकपा माओवादी केन्द्रले दुई जना महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो । पाँचमध्ये तीन जना नगरपालिका प्रमुख र दुई जना गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका हुन् ।
नेपाली कांग्रेसले हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा विमला राईलाई प्रमुखको उम्मेदवार बनाउँदा सोही नगरपालिकाको प्रमुखका लागि नेकपा माओवादी केन्द्रले रुसिका राई र दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको प्रमुखका लागि दुर्गाजयन्ती राईलाई अघि सारेको छ । यस्तै नेकपा एमालेबाट खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगर उम्मेदवार बनेकी छन् ।
जिल्लाका अन्य ६ पालिकामा भने गठबन्धनमा सहभागीसहित सबै दलले प्रमुखका लागि पुरुषलाई उम्मेदवार बनाएका छन् । गठबन्धनमा आबद्ध दलले त धेरै पालिकाको उपप्रमुखमा पनि पुरुषलाई नै अघि सारेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा नगरपालिकाको प्रमुखमा १३, उपप्रमुखमा ९, गाउँपालिका अध्यक्षमा ३२, उपाध्यक्षमा २७, ७९ वडाको वडाध्यक्षमा २ सय ९५ र वडा सदस्यमा ९ सय ५२ गरी जम्मा १३ सय २८ जना चुनावी प्रतिस्पर्धामा उत्रिँदैछन् ।

पवन खड्का

प्रतिक्रिया दिनुहोस्