अलैंची र यसको उत्पादनलाई स्वदेशी बजारमा प्रवद्र्धन गर्नु जरुरी «

अलैंची र यसको उत्पादनलाई स्वदेशी बजारमा प्रवद्र्धन गर्नु जरुरी

नेपालमा अलैंचीको व्यापार सहजीकरणमार्फत अलैंची र त्यसका उत्पादनहरूको निर्यात बढाउनु र मूल्य अभिवृद्धिमार्फत आन्तरिक माग बढाउनु जरुरी छ । नेपाल अलैंचीको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता भए पनि देशभित्र यसको खपत निकै न्यून छ, जसले गर्दा व्यापारीहरू नेपालबाहिर बजार खोज्न बाध्य भएका छन् । अर्कातर्फ अलैंचीको विकल्पका रूपमा धेरै गुणा महँगो हुने सानो अलैंची अर्थात् सुकुमेलको आयात नेपालमा उच्च छ । अलैंची र यसको मूल्य अभिवृद्धि गरिएका उत्पादनहरूको बजार मागलाई प्रोत्साहित गर्नका लागि प्रवद्र्धनात्मक क्रियाकलापहरूमार्फत प्रवद्र्धन गर्नु जरुरी छ ।अलैंचीको स्थानीय बजार प्रवद्र्धन गर्न विशेष हस्तक्षेपको रणनीति बनाउनु जरुरी छ । यसको उद्देश्य भनेको अलैंचीलाई घरेलु बजारका सम्भावित ग्राहकहरूले सुन्ने र देख्ने बनाउनु हुनुपर्छ । हस्तक्षेपका विशिष्ट उद्देश्यहरूमा अलैंची र यसको मूल्य अभिवृद्धि भएका उत्पादनहरूको प्रयोगलाई उपभोक्ताहरूको दैनिक खाना बानीमा प्रवद्र्धन गर्ने, घरेलु उत्पादन र प्याकेज गरिएको अलैंचीसँग सुकुमेलको आयात घटाउने, सम्भावित ग्राहकहरूलाई अलैंचीबाट हुने स्वास्थ्य लाभहरूको बारेमा जनचेतना फैलाउने हुनुपर्छ । त्यस्तै अलैंची र यसका उत्पादनहरू खरिद गर्न र प्रयोग गर्न ग्राहकहरूलाई उत्साहित बनाउनका लागि श्रव्य–दृष्य सामग्रीहरू र छापिएका सञ्चार सामग्रीहरू बनाउनु जरुरी हुन्छ । हस्तक्षेपले रोजगारी, व्यापार मूल्य, निजी लगानी बढाउने र दीर्घकालीन हस्तक्षेपको मात्रा र परिमाणका आधारमा किसानहरूलाई पनि फाइदा पुग्छ ।
विद्यमान अवस्थामा नेपालको पूर्वी भेग अर्थात् प्रदेश नं. १ अलैंची सबैभन्दा बढी हुने ठाउँ हो । त्यहाँ किसानस्तरमा काँचो अलैंची उत्पादन र सुकाएर क्षेत्रीय व्यापारी र थोक विक्रेतामार्फत बिर्तामोड बजारमा ढुवानी गरिन्छ । त्यसपछि यो बिर्तामोडबाट कच्चा रूपमा, धेरै कम पोस्ट–हार्भेस्ट सुधार (पुच्छर काटन) पछि बोरा र जुटको झोलामा भारत निर्यात गरिन्छ । काँचो सुकेको अलैंचीको ९० प्रतिशतभन्दा बढी भारतमा निर्यात गरिन्छ, जहाँबाट यसलाई थप प्रशोधन गरी प्याकेज गरेर तेस्रो मुलुकको बजारसम्म पु-याउने गरिन्छ ।
अहिलेको अवस्थामा नेपालमा जति काँचो अलैंची उत्पादन हुन्छ, त्यो भारतमा सहमतिको मूल्यमा जान्छ । निर्यातकर्ताहरूले उनीहरूको निर्यातमा पनि राम्रो मार्जिन कमाउँदै छन् । तर, निर्यातकर्ता-प्रोशोधनकर्ताहरूले अलैंचीको आन्तरिक बजारमा अवसर पाएका छैनन् । सुकुमेल अलैंचीको निकट विकल्प हो र विश्वभरबाट नेपालमा आयात गरिन्छ । अलैंचीको तुलनामा सुकुमेलको मूल्य ५–६ सय प्रतिशत बढी भए पनि नेपालका अधिकांश मानिसले खाना तथा मिठाईमा सुकुमेलको प्रयोग गरिरहेका छन् । अलैंची (क्याप्सुल र प्रशोधित) को अपर्याप्त बजारीकरण र वितरण देशभित्रै खपत हुन सक्छ । साथै, नेपालले उत्पादन गर्ने र निकासी गर्ने अलैंचीको प्रशोधित उत्पादनहरू (जस्तै माउथ फ्रेसनर, अलैंची पाउडर, अलैंची चिया आदि) का रूपमा फेरि नेपाली बजारमै आउँछ र प्रिमियम मूल्य ल्याउँछ । यसले घरेलु बजारमा अलैंची र यसको मूल्य अभिवृद्धि गरी अलैंची उत्पादनको मागको सम्भावना देखाउँछ । यो सबै अलैंची निर्यात गर्ने कम्पनीहरूलाई पूर्ण रूपमा जानकारी नभएको कुरा भने होइन । उनीहरूले नेपालमा पनि सम्भावना देख्न थालेका छन् । नेपालमा धेरै अलैंची व्यापारिक कम्पनीहरू आउँदै छन् र घरेलु बजार अन्वेषण गर्न खोजिरहेका छन् । तर, तिनीहरूसँग ठूलो मात्रामा उद्यम गर्न पर्याप्त बजार ज्ञान, सीप र लगानी छैन । घरेलु बजारमा ठूलो लगानी गर्नुअघि अलैंचीलाई सामूहिक रूपमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।
नेपालमा अलैंचीको सीमित प्रवद्र्धन भइरहेको छ । अलैंची र यसको मूल्य अभिवृद्धि उत्पादनको प्रवद्र्धन गर्न अलैंचीको आन्तरिक खपत बढाउनुपर्छ । अलैंचीको स्वाद सुकुमेलभन्दा राम्रो हुन्छ, मूल्यमा सस्तो र स्वास्थ्य लाभहरू छन् । विभिन्न रेसिपीहरूमा अलैंचीको सम्भावित प्रयोगका बारेमा उपभोक्ताहरूलाई थाहा छैन । नेपालमा अलैंचीका लागि घरेलु बजारमा अवसरहरू (जस्तै मसला, पाउडर, माउथ फ्रेसनर, स्वाद एजेन्टहरू, आवश्यक तेलहरू आदि) मा ज्ञान सीमित मात्रामा छ । तसर्थ अलैंची र प्रशोधित उत्पादनहरूको आन्तरिक मागलाई बढाउन बजार प्रवद्र्धन अभियान अत्यन्त महत्वपूर्ण छ ।
अलैँची प्रवद्र्धन अभियानको उद्देश्य घरेलु उपभोक्ता, होटल तथा मसला उद्योगमा अलैँची र त्यसका उत्पादनको फाइदा, प्रयोग र स्वादबारे जानकारी गराउनु हुनुपर्छ । यसका लागि सञ्चारका विभिन्न माध्यमहरूमार्फत विभिन्न प्रचार सामग्रीहरू बनाउनु जरुरी छ । भिडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले भिडियो उत्पादन कम्पनीलाई संग्लग्न गराउनुपर्छ । यसका लागि अलैंची व्यापारीहरू, अलैंची उद्यमी महासंघ, स्थानीय तहहरू, संघीय तथा प्रदेश कृषि मन्त्रालयले मिलेर काम गर्नुपर्ने हुन्छ, जसले प्राविधिक सहयोग र श्रव्यदृश्य सामग्रीको उत्पादन गरी आफ्नो नेटवर्कमार्फत बजारमा वितरण गर्न मद्दत गर्नेछ । सामाजिक सञ्जालहरू र प्लेटफर्महरूमा प्रचार अभियानले सफलता पाएपछि नेपाली उपभोक्ताहरूले अलैंचीको माग गर्न थाल्नेछन् । यसले सुकुमेलका लागि अन्तर्राष्ट्रिय बजारमा हाम्रो अत्यधिक निर्भरता कम गर्नेछ । यसबाहेक खुद्रा ग्राहकहरूले यसको थप माग गर्न थालेपछि मसला उद्योगले विभिन्न मूल्य अभिवृद्धिका अलैंची उत्पादनहरू उत्पादन गर्न थाल्नेछन्, जसले मागलाई बढाउँछ र अन्ततः भविष्यमा धेरै अलैंची उत्पादन गर्न मद्दत गर्छ ।
कृषि–व्यवसायहरू, विशेष गरी साना तथा मझौला उद्यमीहरूसँग उत्पादनको गुणस्तर सुधार गर्ने र आफ्नो सञ्जाल विस्तार गर्ने अवसर छ । साना तथा मझौला उद्यमीहरूले आफ्नो सञ्जाल विस्तार र प्रवद्र्धनपछि आफ्नो उत्पादनको गुणस्तरमा उल्लेखनीय सुधार गर्नेछन् । धेरै कृषि व्यवसायहरूले हालको अलैंची बजारका बारेमा स्थानीय रूपमा सचेत हुनेछन् जसले देशभित्र आफ्नो सञ्जाल विस्तार गरी डिलरसिपहरू बढाउनेछन् । नतिजास्वरूप कृषि–व्यवसायहरू, विशेष गरी साना तथा मझौला उद्योगहरूले प्रमुख मूल्य श्रृंखलाहरूमा कृषि उत्पादनको व्यापार मूल्य बढाउँछन् । प्रचार अभियानपछि उपभोक्ताहरूले अलैंचीको माग बढ्नेछ । साना तथा मझौला उद्योगहरूले आफ्नो मुख्य आपूर्ति श्रृंखलालाई बलियो बनाएर कच्चा पदार्थको खरिदमा वृद्धि गर्नेछन्, जसको फाइदा अन्ततः मूल्य श्रृंखलाका प्रत्येक कर्ताहरूलाई प्राप्त हुनेछ । यसबाहेक साना तथा मझौला उद्योगहरूले आफ्नो व्यापारको आकार र व्यापारको मात्रा उल्लेखनीय रूपमा वृद्धि गर्नेछन् ।
अलैंची प्रवद्र्धन र बजारीकरणले व्यवसायभित्र र बाहिर रोजगारी सिर्जना गर्नेछ । व्यापारको मात्रा बढ्दै जाँदा, व्यापारी, डिलर र थोक विक्रेताहरूले आफ्नो व्यवसायभित्र कर्मचारीहरूको संख्या बढाउनेछन् । अलैंची मूल्य शृंखलाका सबै कर्ताहरूलाई समयावधिमा मद्दत गर्न सहयोगी निकायहरूले हस्तक्षेपको रणनीति बनाउनु जरुरी छ । एकपटक अलैंची प्रवद्र्धन अभियान सुरु भएपछि अलैंचीको प्रयोग र स्वादका लागि सम्भावित ग्राहकहरूमा दीर्घकालीन प्रभाव हुनेछ । आवश्यक प्रचार र विज्ञापनपछि अलैंची र यसका उत्पादनको आन्तरिक मागमा उल्लेख्य वृद्धि हुनेछ ।
अलैंची र यसका उत्पादनलाई बजारले स्वीकार गरेमा व्यापारी र साना तथा मझौला उद्यमीहरूले जिल्लास्तरमा सङ्कलक र व्यापारीहरूबाट अलैंची खरिद–बिक्री गर्नेछन्, जसबाट किसानको स्तरमा पनि माग बढ्नेछ । अलैंची र यसका उत्पादनहरू देशभर वितरण गर्ने उदीयमान प्रशोधनकर्ता र व्यापारीहरू हुनेछन् भन्ने आशा गर्न सकिन्छ । यसले मूल्य शृंखलामा लाभहरू सुनिश्चित गर्नेछ र व्यापार मोडल दिगो हुन्छ । त्यसैगरी बजारको मागअनुसार काँचो अलैंचीको गुणस्तर पनि बढ्नेछ । जब बजारले आफ्नो स्थान लिन्छ तब सहयोग गर्ने बाह्य निकायहरूको जरुरत पर्दैन, बजारकर्ताहरूले नै त्यसको व्यवस्थान गर्छन् ।
अलैंची खेतीअन्तर्गत औसत क्षेत्रफल प्रतिघर ०.४ हेक्टर वा ७.९ रोपनी (दायरा ०.०२५ देखि ३ हेक्टर) छ । यसको मतलब अधिकांश किसानहरू साना किसान (०.५ हेक्टरभन्दा कम) छन् । अलैंची खेतीका लागि प्रयोग गरिने जमिन सामान्यतया प्रयोगविहीन र कम बजार मूल्य भएको पहाडी भेगमा सीमान्तकृत भूमि हो । बहुसंख्यक सीमान्तकृत जात-जाति समूहको सीमान्त ढल्किएको जमिन छ, जहाँ अलैंची खेती राम्रो आम्दानीका लागि उत्तम उपाय हो । यो एक उच्च मूल्य वस्तु हो । त्यसैले किसानहरू, विशेष गरी सीमान्तीकृतहरूको आय वृद्धि गर्न सक्ने क्षमता छ । प्रवद्र्धन अभियानको साथ, एकपटक माग उठेपछि, यसले अन्ततः गरिब किसान परिवारबाट उत्पादनलाई उत्प्रेरित गर्नेछ । अन्ततः उनीहरूको आम्दानीमा वृद्धि हुनेछ । उत्पादनमा वृद्धिसँगै प्रशोधन र निर्यातक तहमा गरिब परिवारका लागि रोजगारीका अवसरहरू बढ्नेछन् ।
ग्रामीण क्षेत्रबाट पुरुषको बढ्दो पलायनका कारण खेतबारी र परिवार व्यवस्थापनको जिम्मेवारी महिलाको काँधमा परेको छ । अलैंची क्षेत्रमा परम्परागत पुरुष भूमिका र निर्णय लिने क्षेत्र महिलातर्फ सर्दै गएको छ । महिलाहरू प्रायः सबै गतिविधिमा समान रूपमा संलग्न छन्, जस्तै— जग्गा तयार गर्ने, बिरुवाको व्यवस्थापन, नयाँ रोपण, रोग-कीरा पहिचान, परिपक्व फल (क्याप्सुल), पुच्छर काट्ने, सुकाउने, वर्गीकरण-ग्रेडिङ, भण्डारण, हालको मूल्य जाँच गर्ने र अलैंची बेच्ने आदि । अलैंची मुख्यतया सीमान्तकृत जात-जाति समूह बसोबास गर्ने क्षेत्रहरूमा व्यापक रूपमा उत्पादन गरिन्छ । सामान्यतया सीमान्तकृत जनजाति समुदायको बस्ती उच्च भएको ठाउँमा अलैंची खेतीमा उनीहरूको संलग्नता बढी छ । यसबाहेक प्रशोधक-व्यापारी स्तरमा अलैंचीको पुच्छर काट्ने काममा ७ सयभन्दा बढी महिला पहिले नै संलग्न छन्, जुन कटनीपछिको कामको एक हिस्सा हो । उत्पादन बढेपछि फसल काट्ने काममा महिला रोजगारीको संख्यामा केही समयपछि उल्लेख्य वृद्धि हुनेछ ।
अलैंची र यसको उत्पादनलाई स्वदेशी बजारमा प्रवद्र्धन भएपछि महिला र सीमान्तकृत जात-जाति समूहका लागि आयको अवसर प्रदान गर्ने सम्भावना पनि बढ्छ ।
अलैंचीको गुणस्तर सुधार गर्न, उत्पादकहरूले आफ्नो विद्यमान सुकाउने प्रणालीलाई सुधार गर्न आवश्यक छ, जुन अत्यधिक धूवाँयुक्त छ, जसले धेरै कार्बन उत्सर्जन पनि गर्छ । उत्पादकहरूले गुणस्तरीय काँचो अलैंची उत्पादनका लागि सुधारिएको ड्रायर (विद्युत्, सौर्य वा अन्य) प्रयोग गर्ने भयो भने व्यवसायको दिगो विकासमा समेत योगदान गर्नेछ ।
(कृषि बजार प्रणालीका जानकार लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालयको एड्जङ्ट प्रोफेसरको रूपमा समेत आबद्ध छन् ।)

प्रतिक्रिया दिनुहोस्