स्थानीय तहद्वारा सहुलियत पसल सञ्चालन «
Logo

स्थानीय तहद्वारा सहुलियत पसल सञ्चालन

जुम्ला-सिंजा गाउँपालिका–२ रनुखाना गाउँका स्थानीय धनबहादुर दमाई पहिला घरको खाद्यन्न ल्याउनका लागि घन्टौं पैदल हिँडेर नराकोट हुँदै नाग्म बजार जान्थे । कहिलेत सामान किन्नेभन्दा आउने जाने भाडामै बढी पैसा जान्थ्यो । उनले भने, “गाडी नपाएपछि हिँड्नु पर्ने, टाढाको सामान धेरै ल्याउँदा बोक्न पनि गाह्रो, नराकोट बजारमा नभेटिएर नाग्म जानु परेमा बास बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।”
धनबहादुर दमाई एक प्रतिनिनिधि पात्र मात्र हुन्, रनुखाना गाउँमा खाद्यन्न पाइने पसल नहुँदा यहाँका सयौं उपभोक्ताले सास्ती पाएका थिए । तर, स्थानीय सरकार आएपछि उनीहरूलाई चामल, आटो तेल, चिनी किन्नका लागि बास बस्नु पर्ने बाध्यता हटेको छ ।
जुम्लाको सिंजा गाउँपालिका–२ रनुखाना गाउँमा स्थानीय सरकारले सहुलियत किनारा पसल सञ्चालन गरिदिएको छ । गाउँपालिकाको ८ लाख रुपैयाँ लगानीमा पसल सञ्चालन भएको अध्यक्ष देवलसिंह रावलले बताए । स्थानीयवासीलाई दैनिक उपभोग्य खाद्य सामग्री खरिद गर्न सहज गर्न वडापालिकाको समन्वयमा सहुलियत पसल सञ्चालन गरिएको हो ।
सहुलियत पसलमा दैनिक उपभोग्य सामान चामल, तेल, चिनी दाल बिक्री गर्ने गरिएको पसल सञ्चालक गोविन्द्रप्रसाद तिवारीले बताए । उनले भने, “खरिद मूल्य र ढुवानी भाडा जोडेर सहुलियत रूपमा बेच्ने गरेका छौं । बजारको भन्दा सस्तो सबै खाद्यन्न दैनिक उपभोग्य सामान पाइन्छ ।”
वडापालिकाले सहुलियत पसल सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज र राहत मिलेको छ । चिनी बजारमा १ सय प्रतिकिलो छ भने, सहुलियत पसलमा ८३ रुपैया पर्छ, सुमो चालम प्रति बोरा एक हजार ६ सय ९५ रुपैया, विकुल तेल प्रतिपेटी १ हजार ४ सय ४५ रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।
यता, वडाध्यक्ष नविन शर्माकाअनुसार फाइदाभन्दा उपभोक्ताको सेवा र सहजताका लागि सहुलियत पसल सञ्चालनमा ल्याएका हौं । पसल सञ्चालनपछि स्थानीयलाई राहात महसुस भएको छ । यहाँको बजारको मूल्यभन्दा सस्तो मूल्यमा सामान बेच्ने गरेका छौं उनले भने उपभोक्तको आवश्यकता र मागअनुसार पसल सञ्चालन गरिएको हो । टाढा गएर सामान खरिद गर्ने खर्च पनि बच्ने भयो । गाउँका नागरिकले निकै राहात भएको छ ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारले गाउँ–गाउँमा सुपथ मूल्यका सहकारी पसल खोल्ने अवधारण ल्याएको भए पनि प्रभावकारी हुन सकेको थिएन । कार्यान्वयनमुखी योजना नहुँदा नेपालमा विकासले गति लिन नसकेको हो ।
तर वडापालिकाले सञ्चालनमा ल्याएको सहुलियत पसलमा भने उपभोक्ताको आकषर्ण बढ्दो छ । स्थानीय धनबहादुर दमाईका अनुसार यहाँको बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य सामान पाउने भएपछि सबै यतै आउने गरेका छन् ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डको रनुखाना गाउँस्थित खोलिएको सहुलियतमा ६ वटा गाउँका स्थानीयले सेवा लिँदै आएका छन् । आगामी दिनमा सहुलियत पसललाई स्थानीय अन्न संकलन केन्द्रका रूपमा स्थापित सिंजा गाउँपालिकाको लक्ष्य छ । दैनिक उपभोग्य वस्तु आयातसँगै स्थानीय उत्पादनलाई निर्यात गर्ने योजना रहेको वडाध्यक्ष नविन शर्माको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्