परिसंघको प्रादेशिक संरचना तयार

नेपाल उद्योग परिसंघको १४ औं वार्षिक साधारणसभाबाट पारित संशोधित विधान नेपाल सरकारबाट स्वीकृत भएको छ । उक्त संशोधित विधान स्वीकृत भएसँगै परिसंघले देशको सातवटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र राष्ट्रिय परिषद्को बैठकले गरेको जनाएको छ । यसबाट नेपालको औद्योगिक विकास र उत्पादन वृद्धि गर्ने, निर्यात प्रवद्र्धन गर्ने, उद्यमशीलताको विकास गर्ने र कुलगार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको अंश बढाउने दिशामा नेपाल उद्योग परिसंघको कार्यक्रमहरू कार्यान्वयन गर्न सहयोग पुग्ने धारणासहित उक्त बैठकले परिसंघको संशोधित विधानको व्यवस्थाअनुसार परिसंघको रिक्त एक उपाध्यक्ष र १० राष्ट्रिय परिषद्को सदस्यहरूमा विभिन्न उद्योगी व्यवसायीलाई मनोनयन गरेको छ । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र राष्ट्रिय परिषद्का बैठकमा भएको निर्णयअनुसार उपाध्यक्ष पदमा सुलभ अग्रवाल मनोनीत भएका छन् ।
यसैगरी राष्ट्रिय परिषद्को सदस्यहरू महिला उद्यमीहरू मध्येबाट छाया शर्मा र रीता भण्डारी मनोनीत भएका छन् भने विभिन्न उद्योगी व्यवसायी मध्येबाट आशिष गर्ग, हेमन्त गोल्छा, मनीष खेम्का, रवीन्द्रभक्त श्रेष्ठ, ऋषि घिमिरे, शरद तिवरेवाला, शिशीर भट्ट र सुधीर मित्तल मनोनीत भएका छन् । साथै उक्त बैठकले ‘प्रदेश परिसंघ’को गठन सातवटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक÷एक जनालाई संयोजक तोकेको छ । प्रदेश संयोजकमा प्रदेश (१) एकका लागि मीनप्रकाश मैनाली (झापा), प्रदेश (२) दुईका लागि नरेश दास (जनकपुर), प्रदेश (३) तीनका लागि ऋषि घिमिरे (हेटौंडा), प्रदेश (४) चारका लागि विनोद न्यौपाने (पोखरा), प्रदेश (५)पाँचका लागि एजाज आलम (बुटवल), प्रदेश (६) का लागि टेकबहादुर भण्डारी (सुर्खेत) र प्रदेश (७) सातका लागि हेम विक्रम थापा (कञ्चनपुर) मनोनयन भएका छन् । सम्बन्धित प्रदेशका जिल्लाहरूमा कानुनबमोजिम दर्ता भएका उद्योग प्रतिष्ठान-उद्योगसँग सम्बन्धित संघ र वस्तुगत संघलाई प्रदेश परिसंघमा आबद्धता गराई सम्बन्धित प्रदेश एवं स्थानीय सरकारसँग निजी क्षेत्रको हकहित एवं राष्ट्रको आर्थिक समृद्धिका लागि राम्रो सम्बन्ध र सहकार्य गर्ने मुख्य उद्देश्य प्रदेश परिसंघको भएकाले यसबाट परिसंघको राष्ट्रिय सञ्जाल विस्तार एवं निजी क्षेत्रको विकासमा थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको पनि जनाएको छ ।