वर्षामा बिजुली बेच्ने प्राधिकरणको योजना «

वर्षामा बिजुली बेच्ने प्राधिकरणको योजना


नेपाल विद्युत प्राधिकरणले वर्षातको समयमा बचत हुने बिजुली बेच्ने योजना बनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५ महिनामा २८ अर्ब रुपैयाँबराबरको बिजुली बेच्ने योजना बनाएको बताए । “भारतसँग सम्झौता भएको छ,” उनले भने, “वर्षायाममा हामी बिजुली सरप्लसमा हुन्छौँ अनि सोही कारण बिजुलीको अन्तर्राष्ट्रिय मूल्य समेत बढेकाले २८ अर्बको बिजुली बेच्ने योजना बनाएका छौँ ।”
तर अहिले भने नेपालमा बिजुली कटौती हुने उनले स्पष्ट पारे । भारतले मागे जति बिजुली दिन नसकेपछि उद्योगमा फेरि लोडसेडिङ सुरु भएको छ । नेपालले भारतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याएर माग धानिरहेको थियो । तर, भारतले हाल बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
घिसिङले ऊर्जा संकटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, आन्तरिक माग १५०० देखि १६०० मेगावाट छ ।
अप्रिल महिनामा भारतमा बिजुलीको माग ह्वात्तै बढेर २ लाख मेगावाट पुगेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको थियो । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्