विधुत समस्या समाधान गर्न परिसंघको माग
विराटनगर-नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार विराटनगरमा उद्योगी–व्यवसायी र प्राधिकरणका प्रदेश कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँगको छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ ले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरण प्रदेश–१ कार्यालयका प्रमुख राजन ढकाललाई उद्योगीका तर्फबाट ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझाउँदै घिमिरेले अविलम्ब लोडसेडिङको सेड्युल सार्वजनिक गर्न माग गरे । ट्रिपिङ र लोडसेडिङको समस्या तत्काल समाधान गर्न माग गरेको बताए । डिमाण्ड शुल्क अन्यायपूर्ण भएकाले तत्काल खारेज गर्न र लोभोल्टेज र हाइ भोल्टेजका कारण कुनै क्षति भएमा नेपाल विद्युत प्राधिकरणले जिम्मेवारी लिनुपर्ने माग राखिएको घिमिरेले बताए । “लोडसेडिङ त छँदैछ, त्यसमाथि भोल्टेज अपडाउनले धेरै समस्या निम्त्याएको छ,” घिमिरेले भने ।
यता नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका प्रमुख राजन ढकालले १ महिना सम्म विद्युतको समस्या समाधान हुन नसक्ने बताए । उनले विद्युतको माग आपूर्तिमा सन्तुलन मिल्न नसक्दा विद्युतको समस्या बढेको बताए । ढकालले नेपालीमा अरुलाई आरोप लगाउने संस्कार रहेको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले विद्युत प्राधिकरणको मात्रै समस्या नभएर सबैको समस्या हो भन्ने बुझेर कम्तीमा एक महिना सहयोग गरिदिन आग्रह गरे ।
ढकालले नेपालमा गत वर्षको तुलनामा चालू आर्थिक वर्ष ४० प्रतिशतले विद्युतको माग बढेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा विद्युतको माग बढेर ३५ हजार मेगावाट आवर पुगेको छ । भारतबाट ९ हजार मेगावाट आवर विद्युत आयात भइरहेको ढकालले बताए । कार्यक्रममा उद्योगी अशोक मुरारकाले विद्युत प्राधिकरणले कतिवेला लाइन काटिन्छ भनेर जानकारी नदिंदा सुनसरी–मोरङ ओद्योगिक करिडोरका उद्योगहरूले धेरै नोक्सानी बेहोर्नुपरेको गुनासो गरे । उद्योगी राकेश सुरानाले विद्युत प्राधिकरणले जिम्मेवारबोध गर्न नसक्दा समस्या देखिएको आरोप लगाए । “विद्युत प्राधिकरण उद्योगी व्यवसायीको समस्याप्रति गैरजिम्मेवार बनेको छ,” उनले भने, “हामीले पटकपटक समस्याबारे जानकारी गराउँदा पनि गम्भीर हुँदैन प्राधिकरण । के हामीले समस्या समाधानका लागि आन्दोलन नै गर्नुपर्ने हो ?” नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष दीपक पौडेलले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले जिम्मेवारी लिनुपर्ने धारणा राखे ।