पुम्दीकोटको महायज्ञमा साढे ३ करोड संकलन

पोखरा-पोखरा २२ को पुुम्दीकोटमा सञ्चालन भएको महायज्ञबाट साढे ३ करोड रुपैयाँ संकलन भएको छ । पुम्दीकोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सवअन्र्तगत मंगलबारसम्म १० दीन सञ्चालन भएको उक्त महायज्ञबाट ३ करोड ५२ लाख रुपैयाँ संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको १०औं दिन मंगलबार मात्र करिब १५ लाख १९ हजार रुपैयाँ संकलन भएको बरालले बताए ।महायज्ञको तेस्रो दिनमा सबैभन्दा कम ७ लाख र महायज्ञको अघिल्लो दिन सोमबार सबैभन्दा धेरै १ करोड २३ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ ।
वैशाख ४ देखि १२ गतेसम्म सञ्चालन हुने भनिएको महायज्ञ दाताहरूको मागअनुसार एक दिन थप गरी १० दिनसम्म सञ्चालन गरिएको समितिले जनाएको छ । महायज्ञको औपचारिक रूपमा समापन गर्दै समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दाता, स्थानिय, समितिका पदाधिकारी, शुभेच्छुक तथा मित्रजन तथा विभिन्न आमा समूह, क्लब सहितका विभिन्न संघ–संस्थाहरूमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । सौहार्दपूर्ण रूपमा महायज्ञ सम्पन्न भएसँगै अब विशाल महादेवको मूर्ति निर्माण अभियान पुनः तीव्र गतिमा अघि बढाउने आफूहरूको योजना रहेको अध्यक्ष बरालले बताए । विशाल महादेवका अपुरा कार्य पूरा गर्न महायज्ञले थप बल पुगेको उनले जनाए ।
यसअघि आयोजना भएको महायज्ञबाट ६ करोड रुपैयाँसहित २० रोपनी जग्गाप्राप्त भएको थियो । समितिले विभिन्न भौतिक संरचना निर्माणलाई तीव्रता दिने क्रममा हाल करिब २ करोड ७५ लाख बराबरको ऋणमा काम गरेकाले महायज्ञबाट उक्त ऋण चुक्ताहुने र बाँकी काम गर्न सहज हुने अध्यक्ष बरालले जनाए ।
महायज्ञमा मुख्य वाचकका रूपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका थिए । दोस्रो पटक आयोजना गरिएको महायज्ञमा पनि दाता र शिवका भक्तहरूको उत्साहजनक रुपमा सहभागिता रहेको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । दोस्रो महायज्ञबाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले आवश्यक पर्ने भौतिकपूर्वाधार निर्माणमा आफूहरूले जोड दिने उपाध्यक्षहिमलाल बरालले बताए । पुम्दीकोट विशाल महादेवको मूर्ति पोखरा क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा चर्चा पाएको छ । हिजोआज दैनिकजसो करिब ५ सय जना पुम्दीकोट पुग्ने गरेको स्थानीयले बताए ।