Logo

जेब्रा क्रसिङ नै असुरक्षित

कुनै समय थियो, सडकको चौडाइ ठूलो तर सवारी साधनको सीमितता । उपत्यकाका सडक खुला थियो, जोखिम कम थियो । सडकको आकार त्यही हो तर अहिले सडकका क्षमताभन्दा दोब्बर सवारी चाप बढेको छ । जसका कारण जामको सामना गर्नुपर्ने बाध्यात्मक अवस्था छ । उपत्यकाका कतिपय सडकको चौडाइ बढाइएको समेत छ तर अवस्था भने ज्यूँका त्यूँ छ । सडकमा जति सवारीको चाप बढ्छ उति नै पैदलयात्री त्रासदीय रूपमा सडकको प्रयोग गर्न बाध्य हुनुपरेको छ । कतिपय सवारी चालकले पैदलयात्रीले प्रयोग गर्ने फुटपाथको समेत प्रयोग गर्दा दुर्घटना बेहोर्नुपरेको छ । सडक वारपार गर्न पैदलयात्रीका लागि छुट्ट्याइएको जेब्रा क्रसिङसमेत यतिबेला असुरक्षित बनेका छन् । सवारी चालकको बेवास्ता, जबर्जस्तीपन तथा यात्रीको हेलचेक्र्याइँले दैनिक सवारी दुर्घटनाको सामना गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ सडकका विभिन्न स्थानमा आवश्यकताअनुसार जेब्रा क्रसिङहरू बनाइएको छ । जेब्रा क्रसिङमा पैदलयात्रु सडक वारपार गरिरहेका हुन्छन् । तर, हुइँक्याएर आएका सवारी साधनदेखि डर हुन्छ । डराउँदै भए पनि यात्रुहरूले बाटो काटिरहेका हुन्छन्, आफ्नो ज्यानको सबैलाई माया अनि प्रिय नै लाग्छ । कतिपय चालकले जेब्रा क्रसिङमा जबर्जस्ती रूपमा सवारी साधन चलाउँदा यात्रुमा डर पैदा हुने गर्छ । चालकहरूले पनि पैदलयात्री जेब्रा क्रसिङको प्रयोग गरी सडक वारपार गरिरहेका हुन्छन् भन्ने पटक्कै ठान्दैनन् । त्यस्तो बेलामा चालकले ध्यान नपुर्यौनाले दुर्घटना हुने गर्छ । उनीहरूलाई हुइँक्याउन पाए मात्र भयो तर त्यसको परिणाम कस्तो हुन्छ भन्ने ख्याल नगर्नाले जेब्रा क्रसिङमा बाटो काट्ने पनि असुरक्षित महसुस गर्नुपरेको छ ।
सडकमा बालबालिका, वृद्धवृद्धा, शारीरिक अशक्ततालगायतका विभिन्न व्यक्तिले जेब्रा क्रसिङ प्रयोग गरिरहेका हुन्छन् । ती व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने अवस्थामा पनि सवारी चालकले आफ्ना सवारी हुइँक्याएको देख्दा उदेक लागेर आउँछ । मानिसहरूमा मानवता भन्ने कुरा अनि संवेदनशीलता कता हराउँदै गएको छ । विभिन्न व्यक्तिहरू कति गा¥हो अनि कष्टले बाटो काटिरहेका हुन्छन् । चालकको ज्ञानमा कमी आएको हो या उनलाई मात्र हतार भएको हो, यो उनै जानून् । जबर्जस्ती रूपमा सवारी चलाई पैदलयात्रुलाई त्रासदीय बनाउनु एक प्रकारको अपराध नै मानिन्छ । यस्ता विषयमा आम सवारी चालक सचेत बन्नुपर्ने अवस्था आएको छ, जसमा पैदलयात्रुले समेत सावधानी अपनाउनुपर्ने अवस्था छ । जथाभाबी रूपमा सडक वारपार नगरी निश्चित तोकिएका स्थानबाट सडक वारपार गर्ने हो भने केही सुरक्षित हुने गर्छ । आममानिसमा धैर्यता पलाउने हो भने यस्ता समस्या बारम्बार आइरहने नै छैन ।
यस्ता विषयमा सम्बन्धित निकाय, सवारी चालक, त्यस्तै पैदलयात्रीले ध्यान नदिने हो भने आगामी दिनमा थप जटिलताको सामना गर्नुपर्ने देखिन्छ । त्यतातर्फ ध्यान नदिने हो भने दुर्घटना बढ्दै जान्छ । परिणाममा निर्दोष नागरिकले ज्यान गुमाउँदै जानुपर्ने देखिन्छ । यस्तै प्रवृत्तिका कारण कतिपय मानिसले शारीरिक रूपमा अपाङ्गता भएर कष्टकर जीवन बिताइरहनुपरेको छ । त्यसैले हतार गरे भन्न सकिन्न, बिस्तारै गरे अवश्य गन्तव्यमा पुगिन्छ । यो भनाइलाई आम सडक प्रयोगकर्ताले ख्याल गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्