Logo

एमसीसीको सहयोगमा सडक विभागमा नयाँ प्रयोगशाला

सडक विभाग, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का प्रतिनिधिहरूले मंगलबार एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसिए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार भएको जनाएको छ । एमसीए–नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणहरूको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न एक महत्वपूर्ण कोशेढुंगा भएको पनि एमसीए–नेपालले जनाएको छ ।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा स कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको ६.३८ अरब अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एमसीए–नेपालको भनाइ छ ।
उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुशी व्यक्त गरे । यसैगरी युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले भने, “नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको छ । यी अत्याधुनिक प्रयोगशालाहरूको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ ।”
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले पनि सडक मर्मतका लागि पहिलो पटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गरे ।
सो प्रयोगशालाको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण कार्य नेपाल सरकार तथा एमसीसीबीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताअन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो ।
एमसीए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करिब ४४.५३ करोड बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मतसम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ ।
करिब १६.५९ करोड मूल्यकोे सुपरपेभ आस्फाल्ट मिक्स डिजाइनसम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टोमिटरलगायतका उपकरणहरू जडान गरिएको उक्त प्रयोगशाला भवन करिब ७३.२० लाखको लागतमा निर्माण गरिएको हो । प्रयोगशालामा जडान गरिएका उपकरणहरू सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमित रूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिने एमसीए–नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्