मेडिकल साइन्सको पढाइ स्तरीय बनाउन छलफल «

मेडिकल साइन्सको पढाइ स्तरीय बनाउन छलफल

मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ । मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन् ।
मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । “देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो छ,” मन्त्री पौडेलले भने, “देश बाहिर पढ्न गएकाहरू नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौं ।”
देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड छ । मन्त्री पौडेलले कागजमा दक्षजनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गरे । “ सो अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौं भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन,” मन्त्री पौडेलले भने । “शिक्षालाई नियमन गरौंभन्दा हामी खुम्चिएका छौं,” मन्त्री पौडेलले भने, “केही ऐन र कानुनको जटिलताले गर्दा सीमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्