गुल्मीमा २६ वर्षीय कुँवरद्वारा उपाध्यक्षमा मनोनयन दर्ता «

गुल्मीमा २६ वर्षीय कुँवरद्वारा उपाध्यक्षमा मनोनयन दर्ता


गुल्मी– गुल्मीमा २६ वर्षीय युवतीले उपाध्यक्षमा मनोनयन दर्ता गराएकी छिन् । जिल्लाको इस्मा गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट २६ वर्षीय पार्वती कुँवरले मनोनयन दर्ता गराएकी हुन् ।

गाउँपालिकाको उपाध्यक्षका लागि मनोनयन दर्तापछि कुरा गर्दै कुँवरले महिलालाई अवसरको अभाव भएकोे बताइन् । “महिलाले अवसर पाए भने पुरुष जत्तिकै धेरै कार्यसम्पादन गर्न सक्ने क्षमता छ ।” कुँवरले भनिन्, “महिला सशक्तीकरणका हरेक अभियानमा आफूलाई जोड्ने, युवा, महिला तथा बालबालिकाको हकहित र अधिकारको लडाइमा सधै अग्रपंतिमा रहने प्रतिबद्धता व्यक्त गर्छु ।” ब्यक्तिगत जीवन र स्वार्थलाई त्यागेर समाज विकास परिवर्तनसंगै सामाजिक रुपान्तरणको अभियानमा कटिबद्ध भएर उभिने भन्दै उनले अबका महिलालाई आसन, भाषण र शासन सुनिश्चितता गर्नका लागि पनि आफ्नो उमेदवारी भएको बताइन् ।

नेपाली कांग्रेस गुल्मीकी महासमिति सदस्य एवं नेपाली कांग्रेस इस्मा गाउँपालिका कार्यसमितिकी उपसभापति समेत ररहेकी २६ वर्षीय अधिवक्ता कुँवर नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उमेदवार भएकी हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय कुँवर वि.सं.२०५२ मा इस्मा गाउपालिका–२, पालुखा (साविकको हस्तिचौर गाविस–८) मा जन्मिएकी थिइन् । उनले व्यवस्थापन संकाय र राजनितिशास्त्रमा स्नातकोत्तर गरी कानुन संकायमा स्नातक समेत गरेकी छिन् । इस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट जिल्ला कार्यसमितिका सचिव समेत रहेका युवा नेता भगतसिंह खड्काले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्