२० अर्बको सामान आयात हुँदा ८६ करोडको निर्यात

नेपालगन्ज भन्सार नाकाबाट निर्यातको तुलनामा आयात अत्यधिक धेरै हुने गरेको देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म नेपालगन्ज नाकाबाट २० अर्ब रुपैयाँको सामान आयात हुँदा ८६ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।
भन्सार दिवसका अवसरमा गरिएको कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले निर्यातभन्दा आयात अत्यधिक बढ्दै गएको बताए । निर्यात बढाउने विभिन्न प्रयास गरिए पनि सफल नभएको उनको भनाइ छ । ६ महिनाको अवधिमा मात्रै करिब १९ अर्ब रुपैयाँको ब्यापार घाटा भएको भन्दै उनले त्यसबारे गम्भीर भएर सबैले विचार गर्नुपर्ने बेला आएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले राज्यले स्पष्ट भन्सार नीति बनाउन नसक्दा व्यवसायी मर्कामा परेको बताए । उनले राज्यको गति नीतिका कारण आयात–निर्यातमा ठूलो अन्तर देखिएको बताए । कृषि उपकरणमा राज्यले छुट दिने भने पनि व्यवहारमा लागू हुन नसकेकाले किसान र व्यवसायी दुवैले लाभ लिन नसकेको उनको भनाई छ ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले निर्यातबारेका कानुन झन्झटिला र अव्यावहारिक भएकाले निर्यात धेरै कम भएको बताए । उनले जडिबुटीको सबैभन्दा बढी निर्यात हुने यो नाका भए पनि सरकारी हेलचेक्र्याइँका कारण जडिबुटीको निर्यातसमेत घट्दै गएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले राजस्वका दायरा बढाउन भन्सार सेवालाई समय सापेक्षित वैज्ञानिक र पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले राज्य कोषको करिब ४५ प्रतिशत रकम भन्सार महसुलबाटै परिपूर्ति हुने भएकाले पैठारी गरेर भन्सार राजस्व उठाउनुभन्दा पनि निकासीमा जोड दिन सके मुलुकको आर्थिक मेरुदण्ड बलियो हुने बताए ।नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले निकासी बढाउनमा सरकार, व्यवसायी र अन्य आर्थिक जगतको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिए ।
व्यवसायी सम्मानित
नेपालगन्ज भन्सार नाकाबाट सबैभन्दा बढी निकासी गर्ने ३ वटा व्यावसायिक कम्पनी र सबैभन्दा बढी आयात गर्ने ३ वटा व्यावसायिक कम्पनीलाई सम्मान गरिएको छ । भन्सार कार्यालयले निकासीतर्फ सबैभन्दा बढी राजश्व बुझाउने गंगा रोजिन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालि, सिजी बायोटेक प्रालि र बंगलामुखी रोजिन एन्ड टर्पेनटाइनलाई सम्मान गरेको हो ।
यसैगरी वर्षा रिसाइक्लिन इन्डस्ट्रिज प्रालि, नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्ज र सौरभ अटोमोबाइल्स प्रालिलाई अघिक आयात गर्ने व्यावसायिक फर्मको रूपमा सम्मान गरिएको छ ।
व्यवसायीलाई सम्मान गर्ने वातावरण तयार गर्न भन्सार दिवसको सन्दर्भ पारेर सम्मान गरिएको भन्सार प्रमुख आचार्यले बताए । नेपालगन्ज भन्सार कार्यालयका कार्यालय सहयोगी नेत्रबहादुर गुरुङलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गर्ने निर्णय गरिएको पनि प्रमुख आचार्यले बताए ।