काठमाडौंको मेयरमा सिंह र स्थापितबीच मुख्य प्रतिस्पर्धा
काठमाडौं महानगरपालिकाको प्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छन् । सोमबार राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि उनले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी हुन् ।
कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नी समेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उनले आफ्ना सबै योजना काठमाडौंलाई मध्यनजर गरेर काठमाडौंको उत्थानका लागि हुने बताउनु भयो । उम्मेदवार सिंहले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने बताइन् । उनले काठमाडौंमा पनि अझै महिलालाई सम्मान व्यवहार नभएको भन्दै महिलाको हकहीतमा काम गर्ने प्रतिवद्धता जनाइन् । उनले काठमाडौं महानगरभित्रका विपन्न, गरिव महिलालाई छानेर उनीहरुको आर्थिक सुधारमा जोड दिने पनि बताइन् ।
उनले काठमाडौं महानगरपालिकामा विभिन्न काम गरेर बस्ने विदुर पुरुषहरुका लागि पनि भत्ता उपलब्ध गराउने बताइन् । उनले काठमाडौं महानगरपालिकाका हरेक वडामा वृद्धवृद्धाका लागि जेष्ठ नागरिक केन्द्र र स्वास्थ्य संस्था स्थापना गर्ने, सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने र त्यसमा काठमाडौंवासीलाई विशेष छुट दिनुका साथै विपन्नहरुलाई निःशुल्क उपचार गर्ने वातावरण मिलाउने योजना सुनाइन् । त्यस्तै उनले मेयरमा जित निकालेको खण्डमा बालकालिकाका लागि विभिन्न कार्यक्रम ल्याउने, युवाहरुलाई रोजगार दिने र योग्यताअनुसार उन्नतिको कदम चाल्ने बताइन् ।
उम्मेदवार सिंहले काठमाडौं ऐतिहासिक शहर भएकोलले आफूले जितेपछि विश्वमै उदाहरणीय महानगर बनाउने दाबी गरिन् ।
एमालेबाट स्थापित
नेकपा एमालेबाट भने काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
सोमबार राष्ट्रियसभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनित भएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयरका उम्मेदवार स्थापितले गठबन्धन भन्दा डबल भोट ल्याएर चुनाव जित्ने दाबी गरे । उनले आफू प्रमाणित व्यक्ति भएकोले चुनाव जित्नलाई नियमको प्रतिक्षामात्रै गरेको बताए ।
त्यस्तै उपमेयरमा नेकपा एमालेबाट डंगोलले उम्मेदवारी दर्ता गराएकी छन् । उनी सन् २०११ की मिस नेवाः पनि हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको थियो । यसअघि डंगोलले स्वतन्त्र उम्मेदवारका रुपमा आफू मेयरमा उठ्ने घोषणा गर्दै प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । उनले नेकपा एमालेले देशको विकासका लागि युुवा पुस्तालाई अघि सारेकोले आफू नेकपा एमालेसँग जोडिएको बताइन् ।
राप्रपाबाट कलाकार श्रेष्ठको उम्मेदवारी
वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मयेर पदमा उम्मेदवारी दिएका छन् ।
सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तासहित राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीमाझ उनले महानगरबासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । वरिष्ठ कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रुपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरुका लागि सबै वडाहरुमा ज्येष्ठ नागरिक बाटिका, बालबालिकाहरुलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल बाटिका र युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने संकल्प गरे ।