Logo

हवाई सुरक्षामा नेपालको प्रगति


अन्तर्राष्ट्रिय हवाई सुरक्षा (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ)ले गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले प्रगति गरेको जनाएको हो ।
आईकाओले अप्रिल १३ देखि २५ तारिखसम्म उक्त अध्ययन गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आईकाओले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए । यसअघि गरिएको अडिटमा नेपालले ६६.०२ प्रतिशत नम्बर पाएकोमा सन् २०२२ को अडिटमा ३.४३ प्रतिशतले बढेको उनले जानकारी दिए । महानिर्देशक अधिकारीले हवाई सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको भन्दै आईकाओको अडिटले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश विश्वभर पुग्ने पनि बताए ।
आईकाओको अडिटअनुसार अहिलेसम्म एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकोमा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७०.१ प्रतितश कायम गर्न सफल भएको छ । नेपालले हवाई सुरक्षामा प्रगति गरे पनि विगत लामो समयदेखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालो सूचीबाट हटाएको छैन ।
२०७० मंसिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकाशमा प्रतिबन्ध लगाएको छ । नेपालको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो । तर, आईकाओको अडिटमा नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षामा प्रगति देखिएपछि कालो सूचीबाट हट्ने सम्भावना पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्