टावरको विकासमा मुलुकको ब्यथा

देशको पछिल्लो अवस्था एकदमै असहज छ । व्यापारघाटा चुलिएको छ । अर्थतन्त्रमा पहिरो गएको छ । निकायहरू थला परेका छन् ।
जब देशमा चुनाव आउँछ अनि नानाभाँती कुरा सुनिनु र देखिनु अब सामान्य भइसक्यो र जनताले बानी पनि पारिसके । तर नजानिँदो तरिकाले पुनः गल्ती दोहो-याइन्छ अनि पाँच वर्षसम्म टाउकोमा हाता राख्न थाल्छौँ हामी । अर्थात् अझ भनौँ चुनाव सकिएको केही समयदेखि नै पश्चात्ताप गर्न थाल्छौँ र कुराहरू छताछुल्ल पार्छौं । कुनै पनि दल छैनन् होला बेप्रदर्शन गर्ने, आफ्ना पालामा यति गर्यौं र उति गर्नेछौँ भनेर । तर, नेताहरूले कहिल्यै साझा गरेका छैनन् कि उनीहरूले देखाएको विकासको मार्ग गलत भयो भनेर । बाँडेका सपनामा तुसारोपात भयो भनेर, अनि आफैँ गर्व गर्छन् र राजनीतिलाई व्यवसायमा लग्यौँ भनेर ।
यस्तै पछिल्लो बहुचर्चित विषय बनेको छ— भ्यू टावर । जसलाई विकाससँग लगेर जोडिएको छ अनि भोट ब्यांक बनाइएको छ । टावरबाट नेताले के देखे थाहा छैन, किनकि उनीहरू झूट बोल्न माहिर छन् । तर, तल्लो तहबाट जनताले टावरबाट जीवन समृद्धि हुने कुरा पक्कै देखेका छैनन् । केहीको खुसीका लागि जब्बरजस्त उनीहरू आहा.. भन्न बाध्य छन् । जनताको गरिबी, भोकमरी, रोजगारी, कृषिको आधुनिकीकरण, बजारको व्यवस्थापन, कृषि ऋण र जीविकोपार्जन, उद्योग आदि टावरबाट देखिएको छैन । तर पनि जनतालाई खाए खा नखाए घिच् भन्ने शैलीले देशैभर टावर खडा गर्ने कार्य रोकिएको छैन, जुन अनुत्पादक छ ।
विकासको नाममा गर्न सकिने पक्षहरू बाँझा राखिएर टावरे विकास नेपालमा फस्टाउँदै गएको छ जुन दिगो होइन । मुखले देश संघात्मक भएको छ भलै कार्यान्वयन भएकै छैन भन्दा हुन्छ । मुखको गाउँको सिंहदरबार व्यवहारमा लागू भएको छैन । सरकारको स्थिरता छैन र अस्थिरताको खेल पनि सुरु भइसकेको छ । सिद्धान्तमा हरेक कुरा सम्भव भएका छन् तर व्यवहारमा शून्यता छ । भनिँदै छ, देशले अब गति लिन्छ तर सोअनुसारको काम एउटा पनि बनेका छैनन् । विकासको सोचमा परिवर्तन आएको छैन, फलतः विकास र जनताको दूरी बढ्दै गएको छ । देशमा अहिले विकास भनेको मिलेमतोमा टुंगिन्छ । दलविशेषको सहमतिमा तय हुन्छ, जहाँ मिल्दैन बुझे हुन्छ, बाँडफाँडमा कमी भयो भनेर । यावत् कारणहरू नै अहिले विकासका बाधक भएका छन् । झनै टावरे विकासले हामी कुन यात्रा तय गर्दै छौँ, अव्याख्यात्मक छ ।
प्रजातन्त्रलाई प्राप्ति मान्यौँ, त्यसबाट लिनुपर्ने धेरै फाइदाहरूलाई टोकरीभित्र सीमित पा¥यौँ । संसारको अब्बल मानिएको व्यवस्था र देशले चलाउने संयन्त्रमा परेका खियाका कारण सहज मार्गमा डोहो¥याउन सकिएन । फलतः ईष्र्यामुखी गतिविधिले प्रश्रय पायो भने असल नियतहरू छायामा पर्दै गए । कारण एकमात्र बन्यो, त्यो हो— भागबन्डा ! मानवकेन्द्रित विकासमा कहिल्यै जोड दिइएन । कमाइ हुने गतिविधिलाई मात्र स्थान दिँदा गौरवका आयोजनाहरू कागजमा मात्र प्रदर्शित हुन पुगेका छन् । समय फेरियो तर शैली फेरिएन । विकासले निकास दिन सक्नुपर्ने थियो, जसको आधार नै दरिलो बनाउन सकिएन । योजना बनेर काम भए तापनि कम गुणस्तरका लागि कहिल्यै आन्दोलन गरिएन । सम्भावना भएका स्रोतहरूको उपयोग गर्न छाडेर असम्भावित स्रोतको उत्खननमा आँखा जाँदा विकास ‘कुन चरीको नाम होला ?’ भन्ने अवस्थामा पुग्यो । तर पनि नेताहरूमा चेत खुलेको छैन, गरिबको आँसुमा आहाल खेलि नै रहेका छन् ।
विकासप्रतिको चाहना जनतामा बढेको अवश्य छ तर निरन्तरता छैन । देखावटी टावरे विकासले स्थान जमाएको छ । पहुँचवालाहरूको आशामा विकासको गुणस्तरीयता कहिल्यै हेरिएन । फलतः विकास जनतामा न पुग्न सकेको छ, न आसै छ । सरकार नीति तथा कार्यक्रम बनाउन कहिल्यै थाक्दैन । महलको सपना देखाउँछन अनि काम एउटै बन्दैनन् । सरकारको अस्थिरताले बीचमै पुनः अर्कै सरकारको आगमन हुनुले त्यस्ता कार्यक्रमहरू योजनामै रहन पुगेका छन् । एक नेतृत्वले अर्कोलाई असहयोग गरेकै कारण यी सब अधुरा रहन पुगेका छन् । यो क्रमले अहिले पनि निरन्तरता पाएको छ ।
देशको पछिल्लो अवस्था एकदमै असहज छ । व्यापारघाटा चुलिएको छ । अर्थतन्त्रमा पहिरो गएको छ । निकायहरू थला परेका छन् । यो सबैको कारण अचाक्लिएको आयात नै हो । त्यही विकराल अवस्था हेर्न ठडिएका टावरको संख्या बढ्दो छ भने किसान र उत्पादनमूलक गतिविधि ठप्पजस्तै छ । कृषक ऋण नपाएर त्राहि–त्राहि छन् भने टावरको लगानी भने थामिनसक्नु छ । अनि नेताहरू चुनावकै मुखमा टावर बनायौँ भनेर ढ्वाङ फुक्न व्यस्त बनेका छन् । अब भन्नुहोस्, यसरी बढेको अर्धचेतनले देश कुन बाटोमा जाँदै छ, सोचनीय छ ।
विकास कसरी हासिल गर्ने ? भन्ने सवालमा विभिन्न समयमा अनगिन्ति नमुनाहरू उदाउने र अस्ताउने क्रम रोकिएको छैन । कुन नमुना उपयुक्त छ, कुन अनुपयुक्त छ भनी धरातलमा पुगेर छुटाउने काम अहिलेसस्म्म भएको छैन । सामाजिक विकासको वृत्तभित्र पृथक्तावादी, निरंकुश र जडसूत्रवादी नमूनाहरूको व्यावहारिक प्रयोग असम्भव प्रायः छ । विकासका प्रतिफलहरू समाजको तल्लो तहसम्म न्यायमूलक तरिकाले नपु¥याएका कारण समाजको रूपान्तरण नभएको प्रस्टै छ । न्यायमुखी समाजको निर्माण गर्न, विकासको बहसभित्र विभिन्न नमुनाहरूको खाँचो त समयअनुसार पर्छ नै । समाजवादी र पुँजीवादी खेमाका राष्ट्रहरूले प्रतिस्पर्धात्मक शैलीमा आर्थिक वृद्धि प्राप्त गर्ने बहुतरिकाको उद्देश्यले फरक–फरक नमुनाहरू प्रयोगमा नल्याएका पनि होइनन् । यद्यपि, ती नमूनाहरू गरिबी, बेरोजगारी र असमानताको दीर्घकालीन तथा दिगो समाधानतर्फ केन्द्रित रहे कि रहेन, बहसको विषय बनाउनुपर्ने देखिएको छ । ती नमुनाहरूको प्रयोगभन्दा बेप्रयोग भएको तथ्य हामीमाझ अभिलेख छ । फेरि देश विकासमा नमुना ठूलो कुरा होइन, आवश्यकतानुसारको प्रयोग महत्वपूर्ण हुन्छ । जुन नमुनाबाट पनि देशलाई गति दिन सकिन्छ, जसका लागि अडिग र व्यावहारिक नीति कार्यान्वयनको खाँचो छ । त्यसमा पनि यस्तो टावर खडा गर्ने र विकास भन्ने हो भने हामी कति पछि धकेलिँदै छौँ, प्रस्ट होला ।
विकासले जनतालाई जोड दिनुपर्छ र उसकै लागि केन्द्रित हुनुपर्छ । पर्याप्त स्रोतको अभावमा विकासले गति लिन सक्दैन । विकासले मनोवैज्ञानिक परिवर्तनको प्रक्रियालाई मात्र होइन, भौतिकतालाई पनि समेट्न सक्नुपर्छ । विकासको साध्य भनेको मानवीय जीवनलाई सहज र सुखमय बनाउनु हो । जनताको चाहना भनेको सम्पन्न र सन्तोषजनक जीवनयापन गर्ने अवसरमाथिको पहुँच विस्तार गर्नु हो । यही अर्थतन्त्रले नागरिकको क्षमता, अस्तित्व, अधिकार, स्वतन्त्रता, आत्मविश्वास र असल शासनलाई निर्दिष्ट गर्छ । किनकि असल शासनबिना देश विकास असम्भव प्रायः छ । यही अभावमा आज विकासका विविध गतिविधिहरू दायराभन्दा बाहिर गएका छन् । फलतः विकासको सयौँ वर्षदेखिको चाहना आज पनि पूरा हुन सकेको छैन । प्रतीक्षाको क्रम जारी छ, तर प्राप्तिका संकेतहरू टाढा बनेका छन् । विकासको यात्रा परिवर्तित अवश्य छ । शैली फेरिएको छ तर त्यसका सीमितताले गर्दा विकासको अभाव कायमै छ । हामी भन्न छाडेका छैनौँ, पानी छैन, बाटो छैन । तर केहीलाई भाइरल हुन टावरमा अत्यधिक लगानी गर्दा हजारौँको गाँस काटिएको छ ।
यही अवस्थाले युवाजगत्मा देशभित्र ठूलो शून्यता छाउँदै गएको छ । कुरा र व्यवहारमा विदेशको मोह सबैभन्दा प्यारो भएको छ । विदेश जाने हुँदा स्रोत संकलनमा प्रश्नै नउठ्ने तर स्वदेशमै केही गर्छु भन्नेले स्रोत नपाउने अवस्था हुर्कंदो छ । देशभित्रका बहसहरू अधिकांशले सुन्नै चाहँदैनन् । गाउँबाट सहरको आकर्षण बढेको छ भने सहरबाट दोस्रो वा तेस्रो सहरको अकर्षणमा भारी वृद्धि छाएको छ । गाउँ सुनसान बनेका छन् । उसै पनि बढ्दै गएको वैदेशिक रोजगारी प्रतिशत पछिल्लो समयको विपत्, अभाव र राजनीतिक अस्थिताको कारण झनै बढेर गएको छ । जताततै बढेको भ्रष्टाचार, द्वन्द्व, नैराश्यता, बेरोजगारी, अराजकता आदिले उत्पन्न गराएको गरिबीका कारण वैदेशिक यात्रामा नसोचेको वृद्धि छाएको छ । तर, कहिलेसम्म यो अवस्थाले निरन्तरता पाउँछ र यो रोकिँदा हाम्रो अवस्था के हुन सक्छ ? नजरअन्दाज गर्न बाध्य छौँ ।
अवस्था यति बिग्रँदा पनि सरकारी प्रयासहरू राम्रोसँग सञ्चालनमा ल्याइएका छैनन् । दरिलो स्रोतमाथिको दिगो उपयोगको नीति नबन्दा झन् विकराल परिस्थितिहरूको सामना गरिरहनुपरेको छ । फेरि अर्कातर्फ जो विदेश नजाने र भरसक जान नचाहनेको लागि काम गर्न अत्यन्त्यै गाह्रो बन्दै गएको छ । धम्क्याउनैपर्ने, राम्ररी काम गर्दा पनि नहुने, नगन्ने र सहयोग नपाउने, तर पनि देशको माया लाग्ने, बिर्सन नसकिने आवाजहरू बन्दकोठामा सीमित बनेका छन् । खाना खान नपाएर खोरिया खन्ने परम्परा हराएर गएको छ भने विपरीत कोरिया जानेको संख्यामा दिन–प्रतिदिन बढ्दै गएको छ । सबै क्षेत्रमा देखिएको यो ऋणात्मक अवस्थाले भावी दिनहरू अनुमानभन्दा बाहिर जाने ठोकुवा गर्न सकिन्छ । कोभिडको प्रभावले केही चेत ल्याए पनि सोअनुसारको देशीय योजना, अनुदान र ऋणको अभावमा युवा पुनः त्यसैको यात्रा गर्न बाध्य बनेका छन् ।
देशमा रोजगारीको अवस्था अत्यन्त नाजुक छ । यो संख्या पछिल्लो समयमा अत्यधिक बढेको छ । विपत् र भाइरससँगै बढेको थप परनिर्भर नीति, प्राविधिक पक्षमा कमी, अस्थिर राजनीति, वित्तीय समस्या आदिका कारण उद्योग-संस्थान क्षेत्रहरूमा वृद्धि हुन नसक्दा उत्पादित श्रम शक्तिलाई समयानुकूल प्रयोग नगरिनुले पनि यस क्षेत्रमा विभिन्न प्रकारका बेरोजगारीको आगमन भएको छ । उत्पादनमूलक उद्योगहरू विस्थापन हुँदै गएका छन् भने सेवामुखी उद्योगहरू वृद्धि भएका छन् । विकासलाई मूल मन्त्र जपेर काम गर्नुपर्ने हातहरू अस्थिरताको सिकार बन्दै अन्य क्षेत्रमा बेप्रयोग बढ्नुले रोजगारीका अवसरहरूमा वृद्धि हुन सकेको छैन । यस्तो अवस्थामा हामी टावरे विकासको पछि लाग्नुपरेको छ, जुन हाम्रो आवश्यकता होइन ।
स्वदेशी मौसममा कुनै सुधार आउन सकेको छैन । यही कारण अब्बल जनशक्ति पनि श्रमका लागि वैदेशिक रोजगारीतर्फ आकर्षित बन्न पुगेका छन् । बिदेसिने संख्यामा एक दिन पनि कम भएको छैन । उचित अवसरहरूको आशामा बिदेसिने र सहरमुखी हुने मैसमी प्रवृति पनि निरन्तर बढ्दै गएको छ । आत्मनिर्भरताका लागि कुनै प्रयास चालिएका छैनन् तर भन्न छाडिएको छैन, परनिर्भरतामा कमी गर्ने, स्रोतको उत्खनन गर्ने । आधारशिला खडा गर्न नसकेको यो परिवेशमा सोच्नैपर्ने भएको छ, ‘कतै हामीले विकास बुझ्न सकेनौँ कि ? शैलीकै कारण जनतामाझ पु¥याउन सकिएन कि ?’ यस कारण भूतका सम्पूर्ण गतिविधिलाई मनन गर्दै विकासको पुरातन शैलीमा परिमार्जनसहित नवीन सोचको मन्त्र सिकाउनुपर्नेमा हामी भ्यू टावरमा समृद्धि खोजेर बसेका छौँ, जुन ‘सुसुको क्षणिक न्यानो’मात्र हो ।