जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक «

जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक

स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रको सार्वजनिक पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, नेताहरू महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रूपमा गरेका थिए । घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमार्फत् लोकतन्त्रलाई सही अर्थमा जनताको घर दैलोमा पु¥याउनु आफ्नो पार्टीको मुख्य ध्येय भएको बताए । स्थानीय तहलाई टोल–टोलसम्म जनताको सहभागितामा सञ्चालन गर्ने उनले उल्लेख गरे । लोकतन्त्रलाई समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन आफ्नो पार्टीको प्रयास रहने उनले बताए । सार्वजनिक शिक्षालाई निजी शिक्षाभन्दा उन्नत बनाउने, सामाजिक सुरक्षा भत्ता घरघरसम्म पुर्याउने, पालिकाहरूले भू–उपयोग योजना बनाएर मात्रै बस्ती बनाउन सक्नेलगायतका योजना पार्टीको घोषणापत्रमा रहेको उनले जानकारी दिए ।
जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले जसपाले जितेको पालिकामा कृषिमा आधारित ग्रामीण स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताए । प्रत्येक पालिकामा ५० शैय्याको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने आफूहरूको योजना रहेको उनले सुनाए । प्रत्येक घरमा विद्युतीकरण गर्नेदेखि ग्रामीण वातावरणलाई सुधारेर स्वच्छ बनाउनेसम्मका योजना पार्टीको घोषणापत्रमा रहेको उनले बताए ।
जसपाले सुशासन र पारदर्शीतालाई स्थानीय तहमा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ । स्थानीय तहको सेवालाई अझ प्रभावकारी बनाउँदै यातायातको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पुर्याउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकास निर्माणको काममा प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने उल्लेख गरिएको छ । करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ । त्यसैगरी जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड निर्माण गर्ने, पालिका र वडा जोड्ने सडक निर्माण गर्ने उल्लेख गरिएको छ । पालिकामा महत्वपूर्ण योजना बनाउँदा सर्वदलीय सहमति गरेर अगाडि बढ्ने बताइएको छ । खानेपानीलाई दुई सय युनिटसम्मको शुल्क मिनाहा गर्ने, आधुनिक शौचालय निर्माण गर्न प्रत्येक परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने, ढलको व्यवस्थापन गर्न गुरुयोजना बनाएर काम गर्नेलगायतको योजना बनाइएको छ ।
त्यसैगरी व्यावसायिक शिक्षालाई जोड दिँदै हरेक पालिकामा एउटा नुमना माध्यमिक शिक्षा सञ्चालन गर्ने, हरेक स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा एउटा वर्थिङ सेन्टर स्थापना गर्ने, पाँच वर्षभित्रमा पालिकाभित्रका सबै जनतालाई स्वास्थ्य बिमा गरिने तथा विपन्न वर्गका लागि स्वास्थ्य बिमाको प्रिमियर पालिकाले तिरिदिने व्यवस्था गरिने जनाइएको छ । हरेक पालिकामा एक–एक विगाहामा खेल मैदान निर्माण गर्ने र नगरपालिकामा तीन वटासम्म रंगशाला बनाउनुका साथै महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने प्रतिबद्धता गरिएको छ । पाँच वर्षभित्रमा पशु बिमा कार्यक्रमलाई लागू गर्ने, महिलाहरूले होमस्टे सञ्चालन गर्न चाहे पाँच प्रतिशत व्याजमा ५० लाख रुपैयाँसम्म ऋण दिने, वैदेशिक रोजगारबाट आर्जित रकमको कोष निर्माण गरेर मुलुकमा हुने लगानीमा सेयरधनीमा रूपान्तरण गर्ने लगायतका कुरा घोषणापत्रमा उल्लेख गरिएको छ । वृद्धहरूको स्याहार–सुसार गर्न नसक्ने परिवारका लागि विशेष आवास गृह सञ्चालन गर्ने र हरेक वडामा ज्येष्ठ नागरिक भेटघाट केन्द्र निर्माण गर्ने बताइएको छ । महिलाको नाममा जग्गा धनी पुर्जा भएको हकमा भूमि करमा २५ प्रतिशत छुट दिने पनि जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्