शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट केन्द्रीत छलफल «

शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट केन्द्रीत छलफल


अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । सोही क्रममा विभिन्न मन्त्रालयसँग बजेटमा समावेश गर्नुपर्ने विषयमा नियमित छलफल गरेको छ । सोही क्रममा आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छुट्टछुट्टै छलफल गरेको छ ।
दुवै मन्त्रालयलाई आगामी आवका लागि विनियोजित बजेटको सिलिङ र त्यसभित्र राखिएका कार्यक्रमबारे मन्त्री शर्माले छलफल बोलाएका हुन् ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा बजेट बढाउन आगह गरेका छन् ।
आइतबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका हुन् । उनले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका हुन् ।
“यो पटक अर्थमन्त्रालयले मन फुकाइदिनुप-यो” उनले भने, “संविधानमा उल्लेख अनुसार २० प्रतिशत बजेट शिक्षामा हुनुपर्ने व्यवस्था छ यसको कार्यान्वयन गरौं ।”
डाक्टर पढ्न विदेश जाने विद्याथीलाई नेपालमै पढ्ने वातावरण सृजना गर्न सात प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान सञ्चालनको तयारीमा रहेको बताउँदै मन्त्री पौडेलले बजेटको व्यवस्था हुनुपर्ने बताए ।
“मेडिकल विद्यार्थीले लाखौं लगानी गरेर बाहिर पढ्न जाने र फेरि नेपालमा आएर परीक्षा दिएर डाक्टर हुने अवस्था छ” उनले भने, “देशबाहिर जाने पैसालाई स्वेदशमै प्रयोग गरी विद्यार्थीलाई यही पढ्ने वातावरण सिर्जना गरौं यसका आवश्यक कानुन संशोधन गरौं ।”
मन्त्री पौडेलले पाँच हजार विद्यालयको भौतिक पूर्वाधार विकास, सूचना प्रविधि र विज्ञान प्रयोगशालाको स्थापना, सबै प्रदेशमा आवासीय विद्यालय स्थापना, र सञ्चालन, शिक्षक तालिम र विद्यार्थी सिकाइ सहजीकरण, अंग्रेजी गणित र विज्ञान विषयका शिक्षक दरबन्दी थप, कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार, पूर्वप्राथमिक कक्षा र आधाभूत तहका लागि छुट्टै भौतिक संरचना विकास र सञ्चालनलगायतका नयाँ कार्यक्रम प्रस्तावित गरिएको थियो ।
यस्तै, बहुविद्यागत विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन, युनेस्को ग्राम विकास, चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिलगायतका शीर्षकमा थप बजेट मागिएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विद्यालय छाड्ने प्रवृत्ति रोक्ने गरी कार्यक्रम बनाउनुपर्ने बताए । “१ कक्षामा भर्न भएका विद्यार्थीहरु ५ कक्षा पुग्दा धेरैले पढाई छाड्छन् । अझै माथिल्लो स्तरका कक्षामा पुग्दा भर्ना हुने बिद्यार्थी संख्या बिस्तारै कम हुँदै गएको देखिन्छ” उनले भने, “विद्यालयमा भर्ना भएर पढाई छाड्नुको कारण के हो ? यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाई नछाड्ने बातावरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौं ।”
उनले पढाई र सिकाई प्रकृयालाई समयको बदलावसँगै परिवर्तन गर्न डिजिटल प्रविधितर्फ जानुपर्ने बताए । आगामी आबको बजेटबाटै केही विद्यालयमा डिजिट प्रविधिको पढाई सुरु गर्ने गरी कार्यक्रम राख्न उहाँले निर्देशन दिए ।
‘गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी बजेट बनाउनुपर्ने बताए । उनले गरिबीमुक्त गरी रोग लाग्नबाटै जोगाउने गरी स्वास्थ्य मन्त्रालयबाट बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । उनले पालिकाहरुमै बिज्ञ सेवासहितको अस्पताल र सुविधा सम्पन्न प्रयोगशाला निर्माण हुनुपर्ने बताए । उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको सेवा अन्यत्र पनि बिस्तार गर्ने गरी बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे ।
“स्वास्थ्य बिमा अति विपन्न परिवारसम्म पुग्ने, सुत्केरी सेवा सुधार गर्ने, मिर्गौला–कलेजोलगायत नसर्ने तर जटिल प्रकारको रोगको उपचार गर्न बिदेशी जानुनपर्ने स्थिति सृजना गर्ने गरी आगामी बजेटमा सम्बोधन गर्नुपर्नेछ” उनले भने ।
बैठकमा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले ५ देखि १५ सय शैय्यासम्मको निर्मित अस्पतालहरुमा चिकित्सकको दरबन्दी र उपकरण व्यवस्था गर्नुपर्ने बताए ।
योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले मेडिकल टुरिजम बनाउने, नेपालमा असम्भव भए मात्र विदेशमा उपचार गर्न जाने व्यवस्था लागू गर्ने, सातै प्रदेशमा रहेको प्रादेशिक अस्पताललाई रिफरल सेन्टरका रुपमा विकसित गर्नुपर्नेलगायतका सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्